२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

फोक्सिनटारमा बेलिब्रीज पुन: जडान सुरु

फोक्सिनटारस्थित सुनकोसीमा बेलिब्रीज लगाउँदै। तस्विरः महेश्वर

खोटाङसँग उदयपुरको सोझो यातायात सम्बन्ध जोड्ने सगरमाथा लोकमार्गको फोक्सिनटारस्थित सुनकोसीमा बेलिब्रीज पुन: जडान कार्य सुरु भएको छ। उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिकाको सीमाना फोक्सिनटारस्थित सुनकोसीमा सातादिनयता सुरु भएको बेलिब्रीज  पुन: जडान कार्य धमाधम भईरहेको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ।

सदरमुकाम गाईघाटदेखि दिक्तेल हुँदै खोटाङका बिभिन्न भागलाई सोझो यातायातले जोड्ने मुख्य नाकाफोक्सिनटार हो। त्यहाँ सञ्चालित बेलिब्रीज ६ महिनाअघि खोलिएपछि दुई जिल्लाको सोझो यातायात अवरुद्ध हुन पुगेको छ। मंसिर तेस्रो साताभित्र गाडी सुचारु गर्नेगरी बेलिब्रीज पुन: जडान कार्य धमाधम भईरहेको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए। उनका अनुसार बेलिब्रीज पुन: जडानका लागि दसैतिहारअघि नै ठेक्का प्रक्रिया टुंग्याइएकाले तिहारलगत्तै काम थालिएको हो।  

बेलिब्रीज पुन: जडान सकिएलगत्तै गाडी सुचारु गर्न यातायात व्यवसायीहरुलाई अग्रिम सूचना र आग्रह गरिसकिएको डिई खकुरेलले बताए। उनका अनुसार गतवर्ष मंसिर तेस्रो सातादेखि पुनर्जडान सकिएको बेलिब्रीज गएको वैशाखमा खोलिएको थियो। बेलिब्रीज खोलेसँगै गाईघाटबाट जाने गाडीहरु कोसी वारी र दिक्तेलदेखि आउने गाडी कोसी पारी नै रोकिने गरेका छन्। त्यहाँसम्म पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुंगे पुल तर्नुपर्ने या डुंगाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता छ।

गतवर्ष मंसिर तेस्रो साताबाट बेलिब्रीज पुन: जडान गरी यातायात सुचारु गरिएको थियो। यसपाली सकेसम्म त्यसअघि नै सुचारु गर्ने प्रयास गरिने र ढिलोमा मंसिर अन्तिम सातादेखि गाडी चल्नेगरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको खकुरेलले बताए। बेलिब्रीज जडान र खोल्नका लागि चालुवर्ष कार्यालयले ८४ लाख लागत मूल्यमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का सुम्पेको उनले बताए।

दुई जिल्लालाई सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको मुख्य नाका (कोसी) मा झण्डै दसकयता बेलिब्रीजको प्रयोग गरिदै आएको छ। फोक्सिनटारस्थित कोसीमा पक्की पुल निर्माण कार्य थालिए पनि दुईपटक म्याद गुग्रदासम्म पूर्णता पाएको छैन। पुल बनाउन ढिलाई हुँदा विकल्पको रुपमा बेलिब्रीज प्रयोग गरिदै आउनु परेको सडक कार्यालयको भनाई छ।  

त्यहाँ निर्माणाधीन पक्की पुलको काम छिटो सक्न धेरैपटक सडक कार्यालय, उयदपुर र खोटाङका जनप्रतिनिधि र स्थानीयले जोड गर्दा पनि निर्माण कम्पनीले अटेर गर्दै आएको गुनासो सुनिदै आएको छ। पुल ढिलो बन्दा बेलिब्रीज जडान, खोल्दा र पुनर्जडान गर्नु पर्दा वर्षेनी करोड हाराहारी रकम राज्यकोषबाट अतिक्ति खर्च हुँदै आएको छ।  

फोक्सिनटाको पक्की पुल निर्माण कार्य झण्डै ५ वर्षअघि सुरु गरिएकोमा हालसम्म ३५ प्रतिशत हाराहारी मात्र काम भएको स्थानीयले को भनाई छ। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले पुल बनाउन ढिलाई हुँदा बेलिब्रीजजस्तो अस्थायी पुलको भर पर्नाले वर्षेनी राज्यकोषको रकम दोहन हुनुका साथै वर्षमा ६ महिनाभन्दा बढी कोसी वारपार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ। बिभिन्न कामले कोसी वारीपारी गरिरहनुपर्दा स्थानीयबासी डुंगाको सहारामा कोसी तर्नुपर्ने बाध्यतामा छन्। कतिपय अवस्थामा डुंगा खाली नहुँदा चेफा (धेरैवटा बाँसलाई जोडेर बनाइएको डुंगाजस्तो मान्छे तर्ने भाँडो) र केराका खम्बा जोडेर बनाइएको अस्थायी डुंगामा वर्खे भेल तर्नुपर्ने जोखिम स्थानीयलाई रहेको वडाध्यक्ष राईले बताए।  

उदयपुरका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)ले फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल तत्काल सुचारु गरेर छिटोभन्दा छिटो सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिवसमेत रहेका सांसद राईले अलपत्र फोक्सिनटारको पुल तत्काल निर्माण सुचारु गर्न सडक विभाग र निर्माण कम्पनीलाई निर्देशन दिने बताए। राईले फोक्सिनटार निर्माण अवरुद्ध भएका र अन्य पक्की पुलहरुको काम पनि तत्काल सुचारु गर्न प्रतिनिधिमण्डल लिएर छिट्टै भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह गर्ने पनि बताएका छन्। 

प्रकाशित: १० मंसिर २०७७ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App