१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'निजी क्षेत्रको साख स्थापित गर्ने संकल्प छ'

नेउवामहासंघको निर्वाचन

उमेशलाल श्रेष्ठ, वस्तुगत उपाध्यक्षका प्रत्यासी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्नका लागि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको प्यानलमा रहेर अन्य उपाध्यक्षहरु पनि चुनावी मैदानमा छन् । वस्तुगत उपाध्यक्षतर्फ ढकाल प्यानलका प्रत्यासी उमेशलाल श्रेष्ठसँग महासंघलाई अघि बढाउने अजेन्डा, कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउने, उद्योगी, व्यवसायीको हितमा काम गर्ने के कस्ता योजना छन्, महासंघको गुटगत राजनीति लगायत विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंश:

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिनु भएको छ ? तपाईंका अजेन्डा के हुन् ?
मुलुकको आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रको तर्फबाट योगदान गर्ने हो । हाम्रा अजेन्डा भनेको निजी क्षेत्रको साख स्थापित गर्ने हो । बेला मौकामा प्रशासनिक समस्या आउँदा सहजीकरण गर्ने हो । थुप्रै साथीहरूको महासंघबाट रेस्पोन्स आउँदैन भन्ने गुनासो छ । महासंघको सचिवालयलाई चुस्त, दुरुस्त बनाउन सकेका छैनौं । सचिवालयले उद्योगी, व्यवसायीलाई तुुरुन्त रेस्पोन्स गर्ने व्यवस्था गर्नुपर्नेछ । सँगै महासंघमा हाम्रो प्यानलले अजेन्डा पनि सार्वजनिक गरेको छ । हाम्रो टिमबाट वरिष्ठ उपाध्यक्षमा लड्नुभएका चन्द्र ढकालसहित हामीले एफएनसिसिआई भिजन–२०२५’ सार्वजनिक गरेका छौं । त्यसमा हाम्रा अजेन्डालाई प्रस्ट पारेका छौं ।

महासंघको निर्वाचनमा राजनीतिक दलको जस्तो उम्मेदवारहरूको प्यानल खडा भएको छ । अजेन्डामा प्रतिस्पर्धा हुनपर्नेमा चरम गुटबन्दी र धु्रवीकरण देखिएको छ । यसले भोलिका दिनमा महासंघ चलाउन कठिन हुँदैन ?  

मेरो पाँचौं चुनाव हो । विगतदेखि यस्तै भएको छ । १९औं अध्यक्ष छानेका छौं । यो साधारण विषय हो । महासंघमा आएर ठूलो प्राप्ति गर्ने केही होइन । निजी क्षेत्रका लागि योगदान गर्ने हो । यो वर्ष निर्वाचन धेरैपटक सरेकाले लामो भयो । चुनाव सकिएपछि अहिलेका सबै समूह भंग हुन्छन् । आपसी मनमुटाव छन् भने निर्वाचनपछि सकिन्छ । त्यसपछि एक ढिक्का भएर काम गर्छौं ।  

महासंघ आएर प्राप्ति भन्दा योगदान नै गर्नुपर्छ भन्नुहुन्छ । नेतृत्वमा आउने होडबाजी र आकर्षण किन ?
कुनै पनि व्यक्तिलाई कुनै ठाउँमा बसेर काम गर्दा नेतृत्व लिने चाहना हुनु स्वाभाविक हो । त्यसलाई अन्यथा लिनु हुँदैन । कोही सदस्य भएर रिटायर्ड हुन्छन् । कोही उपाध्यक्ष भएर रिटायर्ड हुन्छन् । म दोस्रोपटक उपाध्यक्षमा चुनाव लड्दै छु । काम गर्दा अब्बल हुने कोसिस गर्ने हो । महासंघमा पनि त्यही कोसिस गरेको हो । यहाँ लाभ लिने आकर्षण केही छैन । तर पहुँच बढ्छ । त्यो साँचो हो । मेरो व्यक्तिगत रूपमा भन्नुहुन्छ भने निजी क्षेत्र, उद्योगी, व्यवसायीका लागि केही काम गर्न सकिन्छ कि भनेर नेतृत्व लिन खोजेको हुँ ।

नेतृत्वमा नपुग्दासम्म उद्योगी, व्यवसायीको पक्षमा काम गर्छौं भन्ने । नेतृत्वमा पुगेपछि सरकार र उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध राखेर व्यक्तिगत स्वार्थ र व्यापार, व्यवसायको हितमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?  
कसैले गरे होला । मैले त्यसो गर्नुपर्ने अवस्था छैन । म राजनीतिक पहुँच नभएको व्यक्ति पनि होइन । आजसम्म पहुँचलाई महासंघको लागि वा व्यक्तिगत जीवनका लागि दुरूपयोग गरेको छैन । नेतृत्व जब लोभी, स्वार्थी हुन्छ त्यसले कुनै पनि संघ–संस्थाको जनआस्था घटाउँछ । लोभीहरूले केही खान पाउँछु कि भनेर यहाँ आउनु हुँदैन । त्यही भएर चुनाव आवश्यक भएको हो । हाम्रा विवेकशील भोटरले निर्णय गर्छन् ।

समग्र उद्योगी, व्यवसायीप्रति आम सर्वसाधारण र सरकारी अधिकारीले हेर्ने दृष्टिकोण त्यत्ति धेरै सकारात्मक छैन । नाफामा मात्र केन्द्रित हुन्छन् भन्ने आरोप छ । उद्योगी, व्यवसायीको इमेज कसरी सुधार गर्ने ?
सबैभन्दा पहिले सरकारी अधिकारी र कर्मचारी मित्रहरूले के सोच्नुप-यो भने राजनीतिक नेतृत्व वा कर्मचारीको इमेज पनि राम्रो छैन । एउटा खराब मान्छे आयो भनेर समुदायलाई खराब भन्न मिल्दैन । सबैले बुझ्नुपर्ने आधारभूत कुरा के हो भने सरकारको झण्डै ७० प्रतिशत कहाँबाट आउँछ ? त्यो निजी क्षेत्रबाट आउँछ । भन्सार, कर, आयकर, भ्याटबाट आउँछ । निजी क्षेत्र बलियो र सक्षम भएन भने सरकारले खर्च कसरी चलाउँछ । निजी क्षेत्र सरकारले पालेको दूधालु गाई हो । गाईलाई राम्रो दाना दिएन भने उसले दूध दिँदैन । सरकारले त्यसैले नजिर बदल्नु पर्छ । गत वर्ष करिब ३५ खर्ब रूपैयाँको जिडिपीमा करिब २३ खर्ब रूपैयाँ निजी क्षेत्रको योगदान छ । यस्तो निजी क्षेत्रलाई बारम्बार आरोपित गर्नु हुँदैन । ९९ प्रतिशत असल व्यापारी छन् ।  

कोभिडको कारण उद्योग, व्यवसाय धराशयी छ । अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कामहरू के हुन् ?  
अहिले हामी संकटमा छौं । भारत, श्रीलंका, बंगलादेश जस्ता मुलुकमा पनि मध्यम तथा साना व्यवसायमा नगद प्रोत्साहन दिएर माथि उठाएको छ । अघि भनेजस्तै सरकारको ७० प्रतिशत आम्दानी दिने क्षेत्र समस्या परेको बेला सहयोग नगर्ने हो भने र निजी क्षेत्र टाट पल्टियो भने सरकारले खर्च कसरी चलाउने ? त्यो राज्यले सोच्नु पर्दैन ? नेपाल सरकार जहिले पनि नियमकारी निकायको भूमिकामा मात्र छ । सहजीकरण गर्ने भूमिका हुनुप-यो । कालोबजारी, नाफाखोरको आरोप लगाउने ? नाफा खाएकै आधारमा त सरकारलाई कर तिर्ने हो । अनि राज्य सञ्चालनमा सजिलो भएको छ । अहिले विभिन्न मन्त्रालयमा आएका सचिवको सोचमा धेरै परिवर्तन भएको छ । सुधारको अपेक्षा गरौं ।

यहाँ अहिले पनि वस्तुगततर्फ उपाध्यक्ष हुनुहुन्छ । फेरि पनि उपाध्यक्ष पदका लागि चुनावी मैदानमा हुनुहुन्छ । यहाँलाई उद्योगी, व्यवसायीले मत किन दिने र यहाँको जित्ने आधार के हो ?
मैले विगत १२/१३ वर्षदेखि महासंघमा बसेर गरेको योगदानका आधारमा साथीहरूले मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु । निजी क्षेत्रका लागि सधैं बोलेको छु । त्यसले गर्दा अघिल्लोपटक पनि उपाध्यक्ष जिताउनुभयो । यसपटक पनि साथीहरूको विशेष अनुरोधले उपाध्यक्षमा उम्मेदवारी दिएको छु । म मात्र नभएर हाम्रो समूहका चन्द्रजी लगायत सबैले जित्छौं । तपाईंले हाम्रो समूह हेर्नु भयो भने सबै तल्लो तहबाट संघर्ष गर्दै यो अवस्थामा आएका उद्योगी व्यवसायी छन् । चन्द्रजी र म चार/पाँच सय रूपैयाँको तलब खाएर जिन्दगी सुरु गरेका मान्छे यो अवस्थामा आएका छौं ।  

हामीले सानादेखि ठूला समस्या बुझ्छौं । हाम्रो टिम बाद र जातलगायत सबै हिसाबले समावेशी पनि छ ।

प्रकाशित: १० मंसिर २०७७ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App