३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट चार महिनामा ३ अर्ब ७३ करोड बराबरको सामग्री आयात

रसुवागढी नाका । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात घटेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको सामग्री आयात भएको छ।  

रसुवा भन्सार कार्यालयको अनुसार गत आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार मूल्य बराबरको सामग्री आयात भएको थियो। तथ्यांक हेर्दा गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात निकै कम भएको देखिन्छ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाकामा आयात सहज बन्न नसक्दा न्यून सामग्री आयात भएको हो। नाकाबाट साउनमा ९८ करोड ९२ लाख २१ हजार, भदौमा ४३ करोड ३८ लाख ४० हजार, असोजमा ७८ करोड ७१ लाख ८१ हजार र कार्तिकमा १ अर्ब ५० करोड २ लाख ४४ हजार रुपयाँ मूल्य बराबरको सामग्री आयात भएको कार्यालयले जनाएको छ।  

गएको असार २२ गतेबाट नाका सञ्चालनमा आएको भएपनि सीमित सामग्री मात्रै नेपाल ल्याइएको छ। कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याइरहेका छन्।    

नाकामा आयात तथा निर्यात सहज हुन नसक्दा कार्यालयको राजस्व संकलन पनि प्रभावित भएको छ। साउनदेखि कार्तिक मसान्तसम्ममा कार्यालयले १ अर्ब ४ करोड ५८ लाख ७१ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको ३५.६९ प्रतिशत मात्र हो। कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो।  

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा ६८ करोड १० लाख ६५ हजार, भदौमा ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ, असोजमा १ अर्ब १३ करोड ३६ लाख ५४ हजार र कार्तिकमा ५२ करोड १८ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।  

जसमा साउनमा २३ करोड ५६ लाख ९८ हजार, भदौ महिनामा १५ करोड ३७ लाख, असोजमा २४ करोड ४३ लाख ९८ हजार र कार्तिकमा ४१ करोड १८ लाख ४३ हजार राजस्व संकलन गरेको छ।  

भन्सार विभागले रसुवा भन्सारलाई चालु आर्थिक वर्ष २०७७/७८ का लागि ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको छ। गत आर्थिक वर्षमा पनि लामो समय नाका बन्द भएका कारण वार्षिक लक्ष्य पूरा हुन सकेको थिएन। यो वर्ष पनि लक्ष्य पूरा गर्न कार्यालयलाई कठिनाइ छ।  

कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: ९ मंसिर २०७७ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App