२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योगीलाई माथि उठाउने प्रक्रियामा सघाउँछु: प्रधान

नेउवामहासंघको निर्वाचन

किशोर प्रधान, वरिष्ठ उपाध्यक्षका प्रत्यासी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने महासंघको विधानमा व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानसँग महासंघलाई अघि बढाउने एजेन्डा, कोभिडले थलापरेको अर्थतन्त्रलाई माथि उठाउन तथा उद्योगी, व्यवसायीको हितमा काम गर्न के योजना छन्, नेतृत्वमा पुगेपछि निजी क्षेत्रको हितभन्दा व्यक्तिगत स्वार्थमा किन लाग्छन् ? लगायत विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीका सम्पादित अंशः

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको नेतृत्व लिन दोस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको छ ? महासंघलाई अगाडि बढाउने तपाईंका एजेन्डा के हुन् ?
उद्योग वाणिज्य महासंघ राजनीतिक हस्तक्षेप नहोस् भन्ने उद्देश्यले स्थापना भएको हो । आजका दिनमा केही कमी–कमजोरी देखिएकाले आर्थिक मुद्दालाई प्राथमिकता दिएर राजनीतिक मुद्दाबाट दूर हुने प्रयास रहेको छ । हामीले उद्योगी, व्यवसायीको हकहित र सम्मानका लागि काम गर्छौं । लगानीकर्ताको मनोबल बढाउने योजना रहेको छ । संगठन, सचिवलायको सुदृढीकरण गर्ने, जिल्ला नगर उद्योगको संस्थागत क्षमता अभिवृद्धि गर्ने, महासंघको शीर उच्च पार्ने, महासंघको आर्थिक उन्नति गर्ने, निर्यात प्रवद्र्धन गर्ने, कृषिको व्यावसायिकीकरण गर्दै निजी क्षेत्रको संलग्नता बढाउने, साना उद्यमको प्रवद्र्धनका लागि विशेष कार्यक्रम तय गर्ने र रोजगारमूलक उद्योगको विकास, विस्तारमा प्राथमिकता छ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सामाजिक उत्तरदायित्व बहन गर्दै देशको अहिलेको गिर्दो आर्थिक अवस्थालाई सुधार ल्याउने प्रयास हुनेछ । आर्थिक वृद्धिदरलाई डबल डिजिटमा पु¥याउने लक्ष्य छ । महासंघमा अध्यक्ष हुन गइरहेका शेखर गोल्छाले १० वर्षे योजना तयार गर्दै हुनुहुन्छ । यो योजनाबाट महासंघमात्र नभएर नेपालका सबै उद्योगी, व्यवसायीको दृष्टिकोण अघि आउँछ । त्यसमा सरकारसँग सहकार्य गरेर अघि बढ्छौं ।  

निर्वाचनबाट नेतृत्व चयन गर्ने सबैभन्दा उत्तम विधि हो । महासंघको निर्वाचन राजनीतिक दलको जस्तो उम्मेदवारहरूको प्यानल खडा भएको छ । एजेन्डामा प्रतिस्पर्धा हुनपर्नेमा त्यस्तो देखिएको छैन । खासमा महासंघ नेतृत्वमा आउने होडबाजी र आकर्षण किन ?
हामीले राजनीतिकरण गर्न खोजेका छैनौं । प्रजातान्त्रिक परिपाटीमा प्यानल बनाउन नै नहुने भन्ने छैन । भइसकेको अध्यक्ष(शेखर गोल्छा)ले किन प्यानल बनायो भन्ने होला । राष्ट्रपति जो बन्छ उसकै पार्टीको उपराष्ट्रपति भए जस्तै महासंघको नेतृत्वमा अध्यक्ष अनुकूल नेतृत्वमा नआए काम गर्न कठिन हुन्छ । बहुमत भएन भने कसरी काम गर्छ ? राजनीतीकरण हाम्रो टिमले गरेको छैन । मलाई राजनीतिको र पनि आउँदैन । यहाँ केही पूर्वअध्यक्षले गलत परिपाटीको अभ्यास गर्नुभएको छ । हामीले प्रजातान्त्रिक अभ्यास अनुसार सबैको आवाजलाई सुनेर अघि बढ्ने योजना रहेको छ । अल्पमतको आवाजलाई सम्मान गर्ने बाटोमा महासंघ जानुपर्छ भन्ने मान्यता छ । केही वर्षदेखि महासंघ एकल परिपाटीमा सञ्चालन भएको छ । बहुमतको सम्मान नहुने अवस्था देखियो । त्यो सम्मानका लागि देशभरका उद्योगी, व्यवसायी अघि बढेको छ । किन नेतृत्वमा जाने मरिहत्ते भन्ने प्रश्न छ । निहित स्वार्थ भएका व्यक्तिको आफ्नो केही होला । मेरो कुनै स्वार्थ छैन । पत्रपत्रिकामा वास्तविक उद्योगी हुनुपर्छ भन्ने देखें । वास्तविक उद्योगी कसलाई भन्छ ? त्यसको मलाई जवाफ दिनुप-यो । साना उद्योगी उद्योगी होइनन ? मर्सिडिज गाडी चढ्ने मात्र उद्योगी हुन् ? त्यसो भए सरकारले भन्दिनु प-यो– मर्सिडिज गाडी चढ्ने मात्र उद्योगी हुन् । म वास्तविक उद्योगी भन्नुको अर्थ के हो ? जान्न चाहन्छु । हामी मझौला उद्योगी हुँ । वास्तविक उद्योगी र उद्योगीको सबाल उहाँले निकाल्नु हुन्छ । चित्त दुख्छ । त्यसको विरोध गरेनौं भने हाम्रो अस्तित्व खत्तम हुन्छ । जो वास्तविक उद्योगी भन्नुहुन्छ, उहाँले हामीलाई समाप्त पार्न खोज्नुभएको भन्ने बुझ्नु प-यो नि !

पदमा नपुग्दासम्म समग्र निजी क्षेत्रका हकहितका लागि आवाज उठाउछौं भन्नुहुन्छ । जब नेतृत्वमा पुगेपछि सरकार र उच्च राजनीतिक नेतृत्वसँग साँठगाँठ गरेर आफ्नो व्यक्तिगत स्वार्थ र व्यापार व्यवसायको हितमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?  
गएका केही वर्षमा यस्ता कुराहरू बजारमा थुप्रै आए । सञ्चार माध्यमले पनि यस्ता विषयलाई उठाए । हो । कमी कमजोरी भएको एउटै कारण हो– एकजना व्यक्तिले हैकमवादी शैलीमा नेपाल उद्योग वाणिज्य महासंघ चलाउने प्रक्रिया विगत १०–१२ वर्षअघि सुरु भयो । विगतमा हाम्रो नेताहरूले त्यसलाई रोक्न सक्नुभएन । अहिले अब हुनेवाला अध्यक्षले त्यो बुझेर जितेको मान्छेले मात्र महासंघको नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । अरूको नेतृत्व चल्नुहुँदैन । जो निर्वाचित हुन्छ, त्यसले काम गर्छ अन्य दबाब म खेप्न तयार छैन भनिसक्नुभएको छ । उद्योगी, व्यवसायीको पक्षमा रहन्छु भन्नुभएको छ । आज हामी त्यो आवाजलाई लिएर अघि बढेका छौं ।

मसँग अनुभव छ । वर्तमान, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षको सहयोग मलाई किन छ भने योसँग क्षमता छ भनेरै हो । म निष्कलंक छु र ममा स्वार्थ छैन । नेपालका सम्पूर्ण उद्योगी, व्यवसायीको मागमा टेबुल ठोकेर कुरा गर्न सक्छु । समग्र रूपमा निष्ठावान नेता हो ।

महासंघ निजी क्षेत्रको छाता संस्था भए पनि अलिक कडा स्वभावका मन्त्री तथा सचिव आए भने महासंघका पदाधिकारी बोल्नसमेत नसक्ने अवस्थामा देखिन्छन् । महांसघ किन यति कमजोर ? यसमा कसलाई दोष दिनुहुन्छ ?
हिजो किन आँट भएन भन्न त मैले सक्दिन । तर यो आँट मसँग र हाम्रो टिमसँग छ । हामीसँग कुनै स्वार्थ छैन, त्यसैले अब त्यो आँट हामीले गर्छौं । अहिलेको टिम निःस्वार्थ रहेको छ । निःस्वार्थ भावले गरेको कामको परिणाम पाउनुहुन्छ । चाहिएको आवश्यक चिजमा माग पूरा गराएर छाड्छौं । अनावश्यक काममा दबाब दिँदैनौं । नेपाल सरकारको कुनै पनि निकायले गलत गर्न खोज्यो भने त्यसको खुलेर विरोध गर्छौं । सही चिजको खुलेर समर्थन गर्छौं । विगतमा जस्तो एकल निर्णय गर्ने परिपाटी हटाएर सामूहिक रूपमा निर्णय गर्छौं । त्यसपछि कस्तो कडा अर्थमन्त्री, अर्थसचिव आउँछन्, त्यसको सामना गर्न तयार छौं ।

विदेशमा महासंघ जस्ता निजी क्षेत्रका संघ–संगठनले सरकारको आर्थिक नीतिमा विज्ञको हैसियतमा सल्लाह, सुझाव दिने गरेका छन् । छिमेकी भारतमै हेर्ने हो भने पनि निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आफ्ना कार्यक्रममा समेटेर लैजाने गरेको छ । नेपालमा महासंघले थिंकट्यांकका रूपमा भूमिका खेल्न किन सकिरहेको छैन ?
थिंकट्यांकको भूमिका खेलेको छैन भन्नेमा म सहमत छैन । खेलेको छ । महासंघबाट जानुभएको डा. युवराज खतिवडा अर्थमन्त्री हुनुभयो । महासंघबाट परिमार्जित भएको व्यक्ति चिरन्जिवी नेपाल गर्भनर हुनुभयो । विश्वम्भर प्याकुरेल राजदूत हुनुभयो । महासंघबाट गएका धेरै व्यक्ति ठूलो ओहोदामा पुग्न सक्नुभएको छ । केही समययता यस्तो भएको छ । अब उद्योग वाणिज्य महासंघ साँच्चिकै निजी क्षेत्रको छाता संस्था मात्र होइन थिंकट्यांक भएर अघि बढ्छ भन्ने विश्वास दिलाउन चाहान्छौं । नेपाल सरकारका अर्थनीति निर्माणमा सघाउन, परिमार्जन गर्छौं । अर्थतन्त्रलाई अघि बढाउने काममा लागि पर्छौं । १० वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर कायम हुन्छ ।

निजी क्षेत्र समग्र उद्योगी व्यवसायीको पक्षमा काम गर्नभन्दा सीमित वर्गलाई सुुविधा र छुट मात्र माग्न केन्द्रित भएको आरोप लाग्ने गरेको छ । त्यसैले महासंघका मुद्दालाई सरकारले गम्भीर रूपमा लिएको देखिँदैन । तपाईं नेतृत्वमा आए सरकारको यो दृष्टिकोणलाई कसरी परिवर्तन गर्न सक्नुहुन्छ ?
अवश्य, त्यसका लागि नै हो हामी अघि बढेको छ । सरकारका विशिष्ट व्यक्तिको नीति निर्माणमा योगदान गर्छौं । बिनास्वार्थ सहयोग गर्छौं । तपाईंले भनेको कुरा ठिक हो । मैले धेरै मन्त्रीबाट सुनेको छु । डेलिगेसन जाँदा एउटा कुरा गर्ने डेलिगेसन सकिएपछि मन्त्रीलाई भेटेर व्यक्तिगत स्वार्थका लागि खुसखुस गर्ने बानी छ । यो टिमबाट त्यो हुन सक्दैन । मसँग स्वार्थ छैन । देशका उद्योगी, व्यवसायीको हितमा काम गर्ने स्वार्थ छ । अरू देशको अर्थतन्त्र जस्तै बनाउनु पर्नेछ । नीतिगत भ्रष्टाचारमा सरकारी अधिकारीसहित हाम्रा उद्योगी, व्यवसायीको दोष छ । नीतिगत भ्रष्टाचार हुन दिँदैनौं । सरकारलाई सतर्क बनाउँछौं । सुझाव पनि दिन्छौं । वाचडगको भूमिका निर्वाह गर्छौं ।  

मुलुकमा हुने आर्थिक अनियमितताका सबालमा निजी क्षेत्र सधैंजसो जोडिने गरेको छ । राजस्व छलीमा मात्र होइन, भ्रष्टाचार बढाउने काममा निजी क्षेत्रले सहयोग गर्दै आएको आरोप लाग्दै आएको छ । अनियमितता र भ्रष्टाचार रोक्न सहयोग गर्नुपर्ने दायित्व निजी क्षेत्रको होइन र ?
निजी क्षेत्रको पूर्ण जिम्मेवारी छ । अवश्य पनि हो । प्रशासनमा हाम्रो काम किन हुँदैन ? के कारण हुँदैन भनेर प्रस्ट पार्नुपर्छ ? अन्डरटेबल हुने प्रक्रिया रोक्छौं । सरकारले भ्रष्टाचार रोक्ने भनेको छ । त्यस्तो कार्यलाई निरुत्साहित गरेर दूर गर्दै जान्छौं । बन्द नै हुन्छ भनेर भन्न सक्दिन, धेरै कम हुन्छ ।

कोभिडको कारण उद्योग, व्यवसाय थला परेको छ । अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कामहरू के हुन् ? उद्योगी, व्यवसयाीलाई समस्याबाट निकाल्ने महासंघ नेतृत्वको जिम्मेवारी हो । यसमा तपाईंका रणनीति के हुन् ?
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर गर्नुपर्ने धेरै काम थियो । सरकारले फुर्ति देखाएर गर्छु भन्यो । त्यसको परिणाम सबैले देख्यौं । सरकारसँग सहकार्य गरेर निजी क्षेत्रले धेरै सहयोगात्मक भूमिका निर्वाह गरेको छ । अर्थतन्त्र गिरेको छ । त्यसलाई सम्हाल्ने भनेको निजी क्षेत्र हो । सरकारको सहयोगी भूमिका हुनुपर्छ । बैंक र वित्तीय संस्थामार्फत पुनर्जीवन दिनुपर्ने अवस्था छ । बैंकले नाफाबाहेक केही सोचेको छैन । नाफा मात्र सोच्ने होइन, अहिले सेवा गर्ने बेला हो । बैंकले शोषण गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । नेपाल राष्ट्र बैंकले पनि त्यसलाई कडा नियम ल्याएर साना तथा मझौला उद्योगीलाई माथि उठाउने प्रक्रियामा सघाउनु पर्छ । व्यावसायिक खेती, वनको कुरा गरेका छौं । वन र कृषिलाई जोडेर काम गर्नुपर्छ । पर्यटन क्षेत्रलाई सुधार गर्दै लैजानु पर्छ ।  

सर्वसम्मतिका लागि पूर्वअध्यक्षहरूले प्रयास गरिरहनुभएको भन्ने सुनिन्छ । सहमतिको सम्भावना के देख्नुहुन्छ । आवश्यक परे यहाँ त्याग गर्न तयार हुनुहुन्छ ?
सर्वसम्मतिका लागि पूर्वअध्यक्षले गर्नुभएको प्रयास राम्रो हो । सर्वसम्मत गर्नका लागि एउटा हातले रोटी पाक्दैन । मैले पहिला नै हात अघि बढाएको छु । प्रतिपक्षी (अर्को समूह)को हात जोड्न आयो भने त्यसमा हामीले कुनै पनि चिजको नेगोसिएसन गर्न सक्ने सम्भावना बढ्छ । प्रतिपक्षीले मेरो गोरुको बाह्रै टक्का भन्ने, अनि मैले यसो गर्छु भन्ने ? त्यो भन्नुपर्ने पक्षमा छैन । म अब एउटै अवस्थामा छु । सुनिश्चित तरिकाबाट मापदण्डबाट पूर्वअध्यक्षहरूले बनाएको मोडालिटीको सम्मान गर्न म जतिबेला पनि तयार छु ।

निर्वाचनको परिणाम नआउँदासम्म सबै उम्मेदवारले जित्छु भन्ने दाबी गर्छन् । त्यो स्वाभाविक पनि हो । निर्वाचनमा यहाँलाई उद्योगी, व्यवसायीले मत किन दिने र यहाँको जित्ने आधार के हो ?
जित्ने आधार थुप्रै छ । मैले २८ वर्षसम्म महासंघमा सेवा गरेकाले मतदाताले मलाई मत दिनुहुन्छ । सबैलाई पालो दिएर खारिएर त्यहाँ पुग्ने प्रयास गरेको छु । मसँग अनुभव छ । वर्तमान, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षको सहयोग मलाई किन छ भने योसँग क्षमता छ भनेरै हो । म निष्कलंक छु र ममा स्वार्थ छैन । नेपालका सम्पूर्ण उद्योगी, व्यवसायीको मागमा टेबुल ठोकेर कुरा गर्न सक्छु । समग्र रूपमा निष्ठावान नेता हो । महासंघ परिवर्तन गर्ने जिम्मा साथीहरूले मेरो काँधमा दिनुहुनेछ ।

प्रकाशित: ८ मंसिर २०७७ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App