२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पहिलो चौमासिक सकिँदा वार्षिक लक्ष्यको ९ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय तस्बिरः हिमनाथ/नागरिक

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ९ प्रतिशत राजस्व संकलन गरेको छ।  

यो वर्ष कार्यालयले ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। रसुवागढी नाकाबाट आयात निर्यात सहज बन्न नसक्दा पहिलो चौमासिकमा पनि कार्यालयले लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ।  

साउनदेखि कार्तिक मसान्तसम्म २ अर्ब ९३ करोड ४ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ५ करोड ५८ लाख ६० हजार मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ। यो लक्ष्यको ३६.०३ प्रतिशत हो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँग हुने आयात तथा निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पूर्ण प्रभावित बन्न पुगेको बताए।  

‘अहिले रसुवागढी नाकाबाट न्यून सामग्री मात्र आयात भइरहेको छ’, उनले भने, ‘निर्यात लामो समयदेखि ठप्प छ।’  कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो।  

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा ६८ करोड १० लाख ६५ हजार, भदौमा ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ, असोजमा १ अर्ब १३ करोड ३६ लाख ५४ हजार र कार्तिकमा ५२ करोड १८ लाख ६५ हजार रुपयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।  

जसमा साउनमा २३ करोड ५६ लाख ९८ हजार, भदौ महिनामा १५ करोड ३७ लाख, असोजमा २४ करोड ४३ लाख ९८ हजार र कार्तिकमा ४१ करोड १७ लाख रुपयाँ राजस्व संकलन गरेको छ।  

कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर अहिले कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: ३ मंसिर २०७७ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App