१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होटल आइसोलेसन: संक्रमितलाई सहज, व्यवसायीलाई राहत

पोखराको लेकसाइड क्षेत्र। यहाँका अधिकांश भवनमा होटल सञ्चालनमा छन्। तस्बिर: नागरिक

लेकसाइडका एकजना पर्यटन व्यवसायी कोरोना संक्रमण पुष्टि भएपछि होटल आइसोलेसनमा छन्। पोखरामै घर हुँदाहुँदै पनि बसाइमा सहज होस् भनेर संक्रमण पुष्टि भएपछि उनी घर छाडेर होटलमा बस्न पुगेका थिए। होटल आइसोलेसनमै बसेर उनले स्वास्थ्य लाभ गरिरहेका छन्।

होटल आइसोलेसनमा बसेपछि मात्र ती व्यवसायीले अनुभव गरे, ‘घरमा सुरक्षित बस्ने ठाउँ नहुनेलाई होटल आइसोलेसन उपयुक्त रहेछ।’ साँघुरो घर हुने र डेरा गरी बस्नेका लागि त होटलको आइसोलेसन झनै गतिलो बसाइ हुने उनले बताए। ‘डेरामा परिवारसँगै बस्दा संक्रमण फैलिने त्रास एकातिर छ। त्यसमा पनि सबै सुविधा नभएको अवस्थामा त झनै सकस हुन्छ,’ उनले भने, ‘घरमुलिको किचलो र छिमेकीको दुव्र्यवहार सहनुपर्ने अवस्थामा डेरा बसाइ निकै पीडादायी हुन्छ। केही रकम खर्चेर भए पनि बरु सुरक्षित बस्छु भन्नेका लागि होटल आइसोलेसनको विकल्प छैन।’ घरमा भन्दा होटलमा बस्दा सहज हुने ठानेरै आफू होटल आएको उनले बताए।

ती व्यवसायीका अनुसार होटल आइसोलेसनमा बस्दा परिवारका अरु सदस्यलाई पनि संक्रमणबाट जोगाउन सकिन्छ। त्यसबाहेक संक्रमित आफंैले पनि केही स्वतन्त्र अनुभव गर्छ। कम्तीमा दुईसातासम्म होटलमा बस्नुपर्दा धेरथोर खर्चिलो हुन गएपनि बसाई सहजताले संक्रमितको आत्मबल बलियो बनाउने उनले बताए। ‘लक्षणविहीन अवस्थामा होटलमा बस्दा परिवारका सदस्यलाई पनि सहज हुन्छ। घर वा डेराको साँघुरो बसोबासमा स्वास्थ्यका सबै प्रोटोकल पूरा गर्न सकिन्न,’ उनले भने, ‘त्यसैले होटलमा बस्दा सबैलाई सहज हुन्छ। आवश्यक सबैखाले सुविधा होटलमा पाइने भएकोले पनि संक्रमितले तनाव लिनुपर्दैन।’

पोखरामा करिब सातसय होटल छन्। कोरोना संक्रमितलाई उपचारार्थ राख्नका लागि अहिले सरकारी आइसोलेसन अभाव छ। अस्पतालमा शड्ढया अभाव छ भने पोखरा महानगरपालिकाले सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्न सकेको छैन। लक्षण नभएका र स्वास्थ्यमा कुनै समस्या नभएका तर संक्रमण पुष्टि भएकालाई महानगरले सकेसम्म होम आइसोलेसनमै बसिदिए हुन्थ्यो भन्ने गरेको छ। तर सबैका लागि होम आइसोलेसन उपयुक्त नहुने भएकाले उनीहरुलाई होटलमा बस्न पठाउने हो भने सहज हुने व्यवसायी बताउँछन्।

‘आइसोलेसन बनाउँदा एकातिर होटललाई आम्दानी पनि हुने र अर्कोतिर संक्रमितलाई पनि सहज हुन्छ,’ ती व्यवसायीले भने। ती व्यवसायीका अनुसार आइसोलेसनमा बसेका बिरामीका लागि चाहिने पोषणयुक्त खानाको भिन्दै मेनु बनाउनुपर्छ। ‘होटलमा अधिक सुविधा पहिल्यै हुन्छन्। बिरामीले खासै अभाव झेल्नुपर्दैन,’ उनले भने, ‘अब होटलले आइसोलेसनमा बिरामी राख्न हिच्किचाउने होइन, बरु सुरक्षित तरिकाले सेवा दिएर व्यवसाय चलायमान बनाउनुपर्छ।’

पोखरामा सञ्चालित कतिपय ठूला होटलले आइसोलेसन बनाउन चाहना पनि राखेका छन्। तर एक–दुईवटा कोठामा मात्र ती कोरोनाका संंक्रमित राख्दा अरु पाहुना आउन डराउने र कर्मचारी पनि त्रसित हुने गरेको व्यवसायीको भनाइ छ। ‘३५–४० वटा कोठा प्रयोगमा आउने अवस्थामा होटललाई आइसोलेसन बनाउन कुनै समस्या हँुदैन, तर, एकाध कोठामा मात्र राख्दा व्यवस्थापनमा झन्झट हुन्छ,’ होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेले भने, ‘धेरै कोठामा ती पाहुना राख्ने हो भने स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरेर सेवा दिन सकिन्छ। तर, एकाध कोठामा मात्र त्यस्ता पाहुना आउँदा व्यवस्थापन गर्न गाह्रो हुन्छ।’

होटलको क्षमता अनुसार ५० प्रतिशतसम्म अकुपेन्सी हुनेगरी आइसोलेसन कक्ष बनाउन सकिने अवस्थामा सेवा प्रवाहमा समस्या नहुने उनले बताए। ‘निकै नै कम संख्यामा होटल आइसोलेसनको खोजी भइरहेको छ। एकाध कोठालाई आइसोलेसन कक्ष बनाउँदा व्यवस्थापन चुस्त हुन सक्दैन,’ उनले भने, ‘एकैपटक धेरै संख्यामा पनि खोजी भएको छैन।’ पाण्डेका अनुसार होटल आइसोलेसन खोज्नेमा केही खर्च गर्न सक्ने क्षमताका व्यक्ति छन्, जसको घर भए पनि घरमा आइसोलेसन कक्ष बनाउन सहज छैन। ‘घर हुनेले सकेसम्म घरमै व्यवस्थापन गरेका छन्। डेरा हुनेले पनि सकेसम्म होटल जान चाहँदैनन्, किनकी होटलको बसाइ खर्चिलो हुन्छ,’ पाण्डेले भने, ‘तर, घर हुँदैमा पनि सबैलाई सहज छैन। सकेसम्मको व्यवस्थापन गर्ने हो। अहिलेसम्म महानगरले पनि केही आकारमा संक्रमितलाई व्यवस्थापन गरिरहेको छ। त्यसबाहेक कतिपय अस्पतालमै बसिरहेका छन्। तर, होटल आइसोलेसन बस्दा सबैका लागि सहज छ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पछिल्लो समय होटल आइसोलेसनबारे सोधपुछ पनि हुन थालेको छ। तर, होटल व्यवसायी खुलमखुला रुपमा होटललाई आइसोलेसन बनाउन सकिनेबारे खुल्न सकेका छैनन। व्यक्तिगत सम्पर्कमा आएका केही संक्रमितलाई होटलले आइसोलेसन बनाएर राखिरहेको उनले बताए। ‘सञ्चालकले खुलमखुला रुपमा होटललाई आइसोलेसन बनाएको भनेर भनेका छैनन। तर व्यक्तिगत सम्पर्कमा आएका संक्रमित पाहुनालाई राखेका छन्,’ तुलाचनले भने, ‘अब खुलमखुला रुपमा आह्वान नै गरेर कोरोना संक्रमितलाई राख्नुपर्छ। यसलाई पनि व्यवसायसँग जोड्नुपर्छ।’

होटललाई सुरक्षित रुपमा स्वास्थ्यका मापदण्ड पुरा गराएर आइसोलेसन बनाउने र पाहुना राख्ने हो भने अप्ठेरोमा परेका संक्रमित बस्न पनि आउनेछन्। त्यसले गर्दा होटल चलायमान पनि हुने उनले बताए। ‘अहिले त होटल सफा पनि गर्नुपरेको छैन। तर, जब पाहुना बस्न आउँछन, त्यो बेला सरसफाइले निरन्तरता पाउँछ,’ तुलाचनले भने, ‘बरु स्वास्थ्यको प्रोटोकल पुरा गर्नमा ध्यान दिनुपर्छ। तर, अब आइसोलेसनमा पाहुना राख्नुपर्छ। खुलेरै होटललाई आइसोलेसन बनाउने हो भने व्यवसायिकता पनि झल्किन्छ।’

राज्यलाई अप्ठेरो परेको बेला होटललाई आइसोलेसन बनाएर सामाजिक उत्तरदायित्व पनि निभाउनुपर्ने उनले बताए। ‘यो बेला सरकारी निकायलाई पनि सघाउनुपर्छ। होटललाई आइसोलेसन बनाउने हो भने डेरामा बस्नेलाई केही राहत मिल्छ,’ उनले भने, ‘अहिले डेरामा बसेका व्यक्ति संक्रमित हुँदा निकै नै सकस भोगेका छन्। तर, अब होटललाई खुलमखुला आइसोलेसन बनाउन तयार हुनुपर्छ।’ सामाजिक डरका कारण पनि अहिले खुलमखुला होटलले आइसोलेसन बनाएर संक्रमित राख्न नसकेको उनले बताए।

पोखरा महानगरले केहि महिनाअघि नै होटललाई आइसोलेसन बनाउनका लागि आव्हान पनि गरेको थियो। तर त्यो बेला दुईवटा होटलले मात्र इच्छा जनाएका थिए। धेरै होटल इच्छुक नभएपछि महानगरको होटल आइसोलेसन बनाउने योजना बीचमै रोकियो। तर, अब भने आफैंले शुल्क तिर्नेगरी होटलमा आइसोलेसन बस्न सकिने गरि महानगरले छुट दिएको छ। महानगरस्तरीय कोरोना रोकथाम नियन्त्रण मूल समितिका सदस्य सचिव किरण कोइरालाले अहिले होटल आइसोलेसनलाई ‘सेल्फ पेइड’ को रुपमा प्रयोग गरिएको बताए।

‘महानगरले आव्हान गर्दा दुईवटा होटल मात्र आइसोलेसन बनाउन तयार भए। तर, अब भने होटलले आफू अनुकूल पाहुना राख्न सक्छन्,’ कोइरालाले भने, ‘बसेको व्यक्ति आफैले शुल्क तिर्नेगरी आइसोलेसनको व्यवस्था गर्न होटललाई छुट छ।’ अहिले महानगरले बनाएको आइसोलेसनमा करिब एक सयजना संक्रमित बसिरहेका छन्। ‘होटलमा बस्नेको माग बढिरहेको छ। सस्तो र महँगो शुल्क अनुसार कतिपयले पर्याप्त माग नपाएका पनि हुन सक्छन्। तर शुल्क तिर्न तयार हुने व्यक्तिका लागि होटलको बसाइ सहज हुन्छ,’ कोइरालाले भने, ‘पैसा तिर्न नसक्नेलाई महानगरले व्यवस्थापन गर्ने हो, पैसा तिर्न सक्ने व्यक्ति होटलमा बस्न सक्छन्।’

प्रकाशित: २७ कार्तिक २०७७ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App