१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बहुमूल्य जडीबुटीको अवैध चोरी-निकासी वृद्धि

हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ। सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो। राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजस्व घाटा लागेको छ।

सो वडाको नेप्का गाउँको टाँके, माडिभिटा, फुने र निलीलगायत क्षेत्रबाट बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको स्थानीयवासीले बताएका छन्। त्यस क्षेत्रमा पाइने कुरिलो, काउलो, जटामसी, चिराइतो, गुच्छी च्याउ, कटुको र पदमचाललगायत बहुमूल्य जडीबुटीको अवैध चोरी–पैठारी बढेको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए।

चोरी–पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडीबुटी लोप हुने अवस्थामा पुगेका छन्। मुगु र जुम्लाका ठेकेदारले मजदूर लगाएर बहुमूल्य जडीबुटीको तस्करी गर्ने गरेपनि रोक्नेतर्फ सम्बन्धित निकायले चासो नदिएपछि गाउँलेले पालो गर्दै रक्षक बस्न थालेको उनको भनाइ छ।

नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वन रक्षक बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष तामाङले जानकारी दिए। यस्तै सिमकोट गाउँपालिका–१ का चुवाखोला वनमा ठूलो सङ्ख्यामा बाहिर जिल्लाका नागरिक जडिबुटी सङ्कलन गर्न आएको स्थानीयवासीको भनाइ छ।  

खुला सीमा नाका कारण तस्करले लाखौं मूल्यको जडीबुटी अवैध रूपमा निकासी गर्दै आएका छन्। जथाभावी चोरी–निकासी बढ्न थालेपछि स्थानीयवासी रोकथामका लागि पहल गरिदिन माग गरेका छन्। तस्करले लाखौंको राजस्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन। दिन प्रतिदिन चोरी–निकासी बढ्दै गएको छ।  

कतिपय जडीबुटी सङ्कलन नै नभएर जङ्गलमा खेर जाने गरेका छन् भने सङकलन भएको मध्ये पनि धेरै जसो चोरी–निकासी हुने गरेको छ। सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत गरेका जडीबुटीसमेत निकासी भइरहेको स्थानीयवासीको भनाइ छ। खुला सीमा नाका कारण अवैध चोरी–निकासी रोक्न समस्या भएको हो, अब चोरी–निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २६ कार्तिक २०७७ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App