५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गाउँलेको आफ्नै लगानीमा आरसीसी सडक

जुम्लाको गुठिचौर गाउँपालिका ३ गज्र्यांकोटका स्थानीयले गाउँपालिकालाई चुनौति दिने गरि सडक निर्माण गरेका छन्। उनीहरुले आफ्नै लगानीमा निर्माण गरिएको सडकलाई अबिरल मार्गका रुपमा नामाकरण गरेका छन्।  

गाउँमा कच्ची सडक भएपनि  बर्खामा हिलाम्य हुने र हिउँदमा धुलोले हैरान बनाउने भएपछि एक आपसमा रुपैयाँ संकलन गरेर सडकलाई आरसीसी ढलान गरेका हुन्। गाउँलेले ११ लाख ७५ हजार ५९५ रुपैयाँ बजेट संकलन गरेका थिए। जसले १ सय ३१ मिटर लम्बाइ र दुई मिटर चौडाइको सडक आरसीसी भएको हो।  

गाउँका जान्ने सुन्ने सबैले रकम दिए। जम्मा एक लाख दुई हजार रुपैयाँ नगद उठ्यो,’ निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले भने, ‘१० लाख ७८ हजार ५९५ रुपैयाँ बराबरको श्रमदान गरेपछि सडक आरसीसी ढलान गरेका हौँ। अब बर्षामा हिलोको सामाना गर्नु पर्नेछैन।  

अबिरल मार्ग आरसीसी गर्नका लागि स्थानीय युवा नरबहादुर शाहीले २९ हजार रुपैयाँ, धर्मराज रावलले १० हजार ५ सय , दीपेन्द्र भण्डारीले नौ हजार ५ सय , मुनबहादुर बुढा, धनबहादुर बुढा, गोवीचन्द्र रावल, पूर्णबहादुर बुढा र देवीलाल बुढाले क्रमशः छरछ हजार, गजेन्द्र भण्डारीले पाँच हजार ५ सय रुपैयाँ, खड्कबहादुर भण्डारी र नन्दबहादुर बुढाले पाँच पाँच हजार, परेबहादुर रावलले पाँच हजार तथा चित्र बुढाले दुई हजार रुपैयाँ उपलब्ध गराएका हुन्।  

सडक निर्माणको लागि गाउँपालिकाको मात्र भर पर्नु पर्ने रहेनछ, निर्माण समितिका अध्यक्ष बुढाले थपे,‘गाउँमा सहयोगी मन र इच्छा शक्ति मात्र भएपनि धेरै विकास हुने रहेछ भन्ने प्रमाण बन्यो यो अबिरल मार्ग। ’

 सडक निर्माण कार्य गत साउन १० गतेबाट सुरु गरिएको थियो। भदौ दोस्रो साता सम्म सडक आरसीसी युक्त बनिसक्यो।  अहिले निर्बाध रुपमा सञ्चालनमा आइराखेको छ। अबिरल मार्गबाट गज्र्यांकोटका ८० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।  

अबिरल मार्गको उद्घाटन गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले गरे। उनले गाउँलेको इच्छा शक्ति र सहयोगी मनले निकै राम्रो काम गरेको बताए। इच्छाशक्ति मात्र भएपनि धेरै काम हुनेरहेछ, भन्ने उदाहरण यो सडक बनेको छ। उनले भने,‘आगामी दिनमा पनि गाउँलेको साथ र सहयोग रहिरहने विश्वास गरेका छौँ। ’

सडक उद्घाटन कार्यक्रममा गाउँका १६ जना जेष्ठ नागरिक, सहयोगीदातालाई समेत सम्मान गरिएको थियो।

प्रकाशित: १८ कार्तिक २०७७ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App