१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक बढे

रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रने क्रम बढ्दै गएको छ । पर्यटनको मुख्य सिजन सुरु भएसँगै जिल्ला भित्रने स्वदेशी पर्यटकको संख्यामा वृद्धि भएको हो ।  

जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी लगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण गत पुसदेखि पर्यटकको आगमन शुन्यमा झरेको थियो ।  

जिल्लामा तीन हप्ता अघिदेखि पर्यटकको आगमन सुरु भएको हो । अहिले दैनिक २ सयको हाराहारी स्वदेशी पर्यटक आइरहेका रसुवा होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ । जिल्लामा आएका पर्यटकमध्ये सबैभन्दा बढी गोसाइँकुण्ड गइरहेका छन् भने लाङटाङ जाने पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ ।  

पर्यटकको आगमन सुरु भएसँगै होटल तथा पर्यटन व्यवसायीमा उत्साह छाएको छ । पर्यटक आउन थालेपछि गोसाइँकुण्ड पदमार्ग, लाङटाङ पदमार्ग र तामाङ सम्पदा मार्गमा सञ्चालनमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन थालेका छन् ।  

कोभिड–१९ का कारण ठप्प भएको व्यवसाय पुनः सञ्चालनमा आउँदा व्यवसायीमा थप उत्साह छाएको संघका अध्यक्ष निशान गजुरेलले बताए । पछिल्लो समय विदेशीको तुलनामा नेपालीले खर्च गर्ने दर पनि बढ्दै गएको छ ।  

जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ लाङटाङ, दोस्रोमा गोसाइँकुण्ड र तेस्रोमा तामाङ सम्पदा मार्ग रहेका छन् ।  केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रने गरेका थिए । अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण हिउँ पर्ने समय बाहेक अन्य समयमा आउने गरेका छन् ।  

सामुहिक रूपमा घुम्न मन पराउने युवाहरु न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन् । स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको छ ।  

यो समयमा धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ ऐतिहासिकस्थल रसुवागढी, कालोगाउँको रूपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी पुग्ने गर्छन् ।  

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल रहेका छन् । विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् । जिल्लामा साना–ठूला गरी डेड सयको हाराहारी होटल सञ्चालनमा रहेका छन् ।

प्रकाशित: १२ कार्तिक २०७७ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App