११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटक तान्ने प्रयास : साहसिक पर्यटनमा छुटैछुट

कोरोना भाइरस संक्रमणको गति उच्च छ। संक्रमण त्रासले पर्यटकीय क्षेत्र पोखरामा भित्रिने पाहुना छैनन्। विदेशीको आगमन त परैको कुुरा, पोखरा बाहिरका स्वदेशी पाहुना पनि खुलेर घुम्न निस्कन सकेका छैनन्। यस्तो अवस्थामा पोखराका पर्यटन व्यवसायीले भने पर्यटक आकर्षणका लागि छुटको व्यवस्था गरेका छन्। व्यवसायीले प्याराग्लाइडिङ, बञ्जीजम्प र जिप फ्लायरमा ५० प्रतिशतसम्म छुट दिएका हुन्। छुटको फाइदा उठाउँदै यतिबेला यहाँका साहसिक पर्यटकीय गतिविधिमा रमाउन स्थानीय पाहुनाले रौनक थपेका छन्।

यो छुटले पाहुनालाई तानिरहेको व्यवसायी बताउँछन्। हाइग्राउन्ड एडभेन्चर्स नेपालले यहाँ बञ्जीजम्प र जिपफ्लायर सञ्चालन गरेको छ। सराङकोट र हेम्जालाई दुई स्टेसनमार्फत जोड्दै जिपफ्लायर सञ्चालन गरिएको छ भने हेम्जाको स्टेसनमा बञ्जीजम्प पनि सञ्चालित छ। हाइग्राउन्डका ती प्रोडक्टमा यो बेला स्थानीय युवायुवती रमाउन पुगेको हाइग्राउन्ड एडभेन्चर्सका पोखरा प्रमुख दीनेश महर्जनले बताए।  

‘हामीले यो बेला बञ्जी र जिपफ्लायरमा छुट दिएका छौं। यसले बाहिरका पाहुना आउन नसके पनि स्थानीय पाहुनाको आकर्षण बढेको छ,’ महर्जनले भने, ‘सस्तो मुल्यमा साहसिक गतिविधिमा रम्ने पाहुना थपिएका छन्।’ उनका अनुसार अरुबेला आन्तरिक पाहुनाले जिपफ्लायर गर्दा ४५ सय रुपैयाँ तिर्दथे। त्यस्तै बञ्जीको मात्र ४ हजार रुपैयाँ पर्दथ्यो। दुवै गतिविधि गर्नेले ७२ सय रुपैयाँ तिर्दथे। तर, अहिले सबैमा १५ प्रतिशत छुट दिएको उनले बताए।  

‘दुवै प्रडक्टमा रमाउनेलाई यो पटक निकै नै सस्तो पर्छ। सस्तोमा साहसिक गतिविधि गर्न पाइने बेला भएको छ,’ उनले भने, ‘७५ सय रुपैयाँको टेन्डम बञ्जीमा पनि १५ प्रतिशत छुट छ। मंगलबार, बुधबार र शुक्रबार यी प्रोडक्टमा रमाउन पुग्दा थप ५ प्रतिशत (सबैगरी २० प्रतिशत) छुट पाइने उनले बताए। फोटो र भिडियोमा पनि छुट रहेको उनले बताए। बञ्जी र जिपफ्लायरमा रमाउँदा पहिला भिडियो र फोटोको थप १८ सय रुपैयाँ पर्नेमा अब ४० प्रतिशत छुट रहेको उनले बताए। दुवै प्रोडक्टमा रमाउँनेले पहिला २८ सय तिर्नेमा अहिले १५ सय रुपैयाँ मात्र तिरे पुग्ने महर्जनले बताए।  

‘यो छुटमा जोसुकै आन्तरिक पाहुना रमाउन पाउँछन्। तर, अहिले त पोखरा क्षेत्रका युवायुवती रमाउन पुगेका छन्,’ उनले भने, ‘अरुबेला भन्दा सस्तो भएकाले पनि रमाउने पाहुना छन्। बाहिर घुमफिर बन्द भएकाले पनि पोखरा आसपासका क्षेत्रमै रमाउने पाहुना पाइएको छ।’ पोखरा बाहिर हिँँडडुल सहज नभएकाले पनि यो बेला स्थानीय प्रोडक्टमा आकर्षण बढेको उनले बताए। ‘जिपफ्लायर र बञ्जी गर्ने पाहुना दैनिक १५ जनाको हाराहारीमा छन्। कम्तीमा यो बेला व्यवसाय चलायमान भएको छ,’ उनले भने, ‘नाफा कमाउनका लागि विदेशीको विकल्प छैन। यो बेला पूरै शुल्क पनि लिन सकिन्न।’ छुटको यो अफर कोरोना अवधिसम्म रहने उनले बताए।

राजधानी काठमाडौंमा संक्रमण बढ्दा आन्तरिक पाहुना आउन नपाएको महर्जनको भनाइ छ। लामो समयको लकडाउनले काठमाडौंका पाहुना उकुसमुकुस भएकामा यो बेला घुम्न निस्कने तयारी थियो। तर, संक्रमण झनै बढिरहँदा उनीहरुले राजधानी छाड्ने आँट नगरेको उनले बताए। ‘संक्रमण नफैलिएको भए यो बेला राजधानीबाट धेरै आन्तरिक पाहुना घुम्न पोखरा आउँथे। तर, पछिल्लो समय राजधानीमा संक्रमण डरलाग्दो भयो,’ उनले भने, ‘त्यसको मार हामीलाई पनि परेको छ। राजधानी सुरक्षित बन्न नसक्दा घुम्न चाहने नागरिक घरभित्रै थुनिए।’ पोखरासँगै स्याङ्जा, चितवन, बागलुङ, पर्वतका युवायुवती पनि अहिले साहसिक पर्यटकीय प्रोडक्टमा रमाउन पोखरा आएको व्यवसायीले बताए।  

पोखराको आकासमा हुने प्याराग्लाइडिङमा पनि उत्तिकै आकर्षण छ। यो बेला यहाँको आकासमा प्याराग्लाइडिङमार्फत उड्न स्थानीय पाहुना पुग्ने गरेको नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारीले बताए। उनका अनुसार अहिले पोखरामा प्याराग्लाइडिङ उडान गर्ने ६० कम्पनी छन्। ती कम्पनीले यो बेला स्थानीय पाहुनालाई उडाइरहेका छन्। यो बेला पोखरामा पराग्लाइडिङ उडान गर्दा ३ हजारदेखि ३५ सय तिर्नुपर्छ। यो आधा घण्टाको शुल्क हो। अरुबेला यो मूल्य ७ हजार रुपैयाँ थियो।  

‘कम्तीमा ५० प्रतिशत छुट पर्यटकले पाएका छन्। त्यही भएर प्याराग्लाइडिङ उड्न स्थानीय युवायुवती आएका छन्,’ अध्यक्ष भण्डारीले भने, ‘सस्तो मूल्यले पाहुनालाई तानेको छ।’ उनका अनुसार अहिले दैनिक १ सय ५० हाराहारीमा उडान भइरहेका छन्। शनिबार त उडान बढेर झन्डै दुईसय पुग्ने गरेको उनले बताए। ‘पोखराभित्रकै पाहुना उड्न आएका हुन्। सीमित संख्यामा पोखरा बाहिरबा युवायुवती पनि आएका छन,’ उनले भने, ‘सस्तोमा उड्न पाइने र फुर्सदिला भएका युवयुवती अहिले प्याराग्लाइडिङमा तानिएका छन्।’  

सस्तो मूल्यले पोखरामा बस्ने विद्यार्थी वर्गसमेत प्याराग्लाइडिङ उडानमा तानिएको उनले बताए। ‘कम शुल्कमा पाइने भएपछि विद्यार्थीसमेत उड्न सक्ने अवस्था छ। यो बेला सबैतिर पठनपाठन बन्द छ,’ उनले भने, ‘स्थानीय पाहुनालाई अवसर बनेको छ। महंगो शुल्क परेका कारण अरुबेला स्थानीय युवायुवती कमै मात्र उड्न आउँथे। अरुबेलाका पाहुना काठमाडौंबाट आएका पाहुना मात्र हुन्थे।’  

यो बेला पर्यटकीय सिजन हो। पर्यटकीय सिजन भएपनि कोरोनाका कारण विदेशीको आगमन शून्य छ। फाट्टफुट्ट काठमाडौंसहित पोखरा आसपासका जिल्लाका पाहुना भएपनि अधिकांश पोखराभित्रकै युवायुवती रहेको अध्यक्ष भण्डारीले बताए। ‘कोरोनाको डरलाग्दो संक्रमणले गर्दा काठमाडौंबाट पाहुना आउन पाएनन्, नत्र प्याराग्लाइडिङमा पाहुना राम्रै हुन्थे,’ उनले भने, ‘सीमित अवधिका लागि स्थानीय पाहुनाले साथ दिएका छन्।’

 

 

प्रकाशित: ५ कार्तिक २०७७ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App