१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट यस वर्ष भेंडाच्यांग्रा आयात नहुने

रसुवागढी नाका तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट यस वर्ष भेंडाच्यांग्रा आयात नहुने भएको छ। कोभिड–१९ का कारण नेपाली व्यापारी केरुङसम्म जान नपाउने भएपछि भेंडाच्यांग्रा आयात नहुने भएको हो। खरिद गर्ने स्थानसम्म व्यापारी जान नपाउने, रकम अगाडी नै भुक्तानी गर्नुपर्ने र चाहेको जस्तो ल्याउन नपाउने भएकाले आयात गर्न नसकिएको हो।  

चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रत्येक वर्ष भेंडाच्यांग्रा आयात हुँदै आएको थियो। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले यो वर्ष नाकाबाट भेंडाच्यांग्रा आयात नहुने बताए। ‘अहिले नेपाली व्यापारी त्यहाँसम्म जान पाउँदैनन्’, उनले भने, ‘चिनियाँ व्यापारीले नै ल्याइदिने बताएपछि नेपाली व्यापारीले आयात गर्न नचाहेका हुन्।’

विगत २० वर्षदेखि रसुवागढी नाका हुँदै भेंडाच्यांग्राको आयात हुँदै आएको छ। सुरुमा प्रतिभेंडा तथा च्यांग्रा ७ सय रुपयाँमा आउथ्यो। पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि ह्रास आएको भन्सार छुटाउँदै आएका वाङछिरिङ तामाङले बताए।  

गत वर्षसम्म नेपाली व्यापारीले केरुङसम्म पुगेर आयात गर्ने गरेका थिए। केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका उनले बताए। नेपाली व्यापारी भेंडाच्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए। पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएको कारण आयातमा कमि आइरहेको थियो।  

२०७० सालमा २ सय २, २०७१ मा १ सय ८० र २०७३ मा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा ४ सय ७० वटा र २०७६ मा २ सय ९० वटा भेंडाच्यांग्रा आयात भएको थियो। २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेंडाच्यांग्रा आयात हुने गरेको थियो।

प्रकाशित: ३० आश्विन २०७७ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App