१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पहिलो विदेशी टोलीद्वारा सफल आरोहण

सगरमाथा आरोहण तयारीका लागि नेपाल आएको बहराइनी राजकुमारको टोलीले लुबोचे र मनास्लु हिमालको सफल आरोहण गरेको छ। गत भदौ ३१ गते नेपाल आइपुगेको राजकुमार नासिरबिन हमाद अल खलिफासहित १८ जनाको रोयल गार्ड बहराइनको टोलीले सहयोगीसहित बिहीबार मनास्लु हिमालको शिखर चुमेको हो। यसअघि असोज १७ गते टोलीले लोबुचे हिमाल आरोहण गरेको थियो।  

पर्यटन विभागका अनुसार उक्त टोली सन् २०२० को पहिलो विदेशी आरोहण दल बनेको छ। टोलीको आरोहण व्यवस्थापन जिम्मा सेभेन समिट ट्रेक्सले लिएको थियो। लोबुचे ६ हजार एक सय १९ र मनास्लु आठ हजार एक सय ५६ मिटर अग्लो हिमाल हो। यो टोलीले सन् २०२१ मा सगरमाथाको आरोहण गर्न सक्ने पर्यटन विभागले  जनाएको छ।  

आरोहण दलमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरेका दक्षिण एसियाका पहिलो आरोही मिङ्मा शेर्पा, १४ वटा हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी ल्हाक्पा शेर्पा तथा २४ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी कामिरिता शेर्पा लगायत सहभागी थिए।

विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार आरोहण दल अहिले चुचुरोबाट बेसक्याम्पतर्फ फर्किंदै छ। आरोहण दलमा संलग्न सम्पर्क अधिकृतका अनुसार आरोहण दलका १४ जना र सहयोगी ४३ जनाले मनास्लुको शिखर चुमेका हुन्। आरोहण दलका १८ सहित सहयोगी ७३ जनालाई विभागले आरोहण अनुमति दिएको तामाङको भनाइ छ। आरोहण सफल भएसँगै पर्वतारोहण क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने उनको धारणा छ। सरकारले चाँडै आरोहण र पदयात्राका लागि विदेशीलाई प्रवेश दिने तयारी गरेकाले यसलाई महŒवपूर्ण अभ्यासको रूपमा लिइएको उनले बताए।  

नेपालको पर्यटन क्षेत्रले इतिहासमै ठूलो नोक्सानी बेहोरेको बेला पर्वतारोहण क्षेत्रलाई चलायमान बनाउन पहिलो खुड्किलो पार भएको तामाङले बताए।  

नेपाल पर्वतारोहण संघले राजकुमारको आरोहणसँगै हिमालमा बाटो बनाउने, डोरी राख्ने र सम्बधित क्षेत्रमा आश्रित पक्षको मुहारमा समेत पुनः खुसियाली ल्याएको जनाएको छ।

सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय नियमित उडान खोले पनि भारतमा उडान खुलेको छैन। करिब दुई महिना पहिले भारतले नेपाललाई विशेष व्यवस्था सहित उडानका लागि सिफारिस गरे पनि सरकारले निर्णय लिन  सकेको छैन।  

पर्यटन मन्त्रालयले भारतमा नियमित उडान खोल्न सिसिएमसीलाई सुझाव दिए पनि सरकारले भारत सरकारले गरेको विशेष उडान व्यवस्थाको प्रस्ताव स्वीकृत नगर्नुमा स्वार्थ हाबी रहेको व्यवसायीको धारणा छ। मन्त्रालयले ट्रान्जिट यात्रुलाई अनुमति नदिएर सुरुमा नेपाली र भारतीयले मात्र यात्रा गर्न पाउने गरी उडान खोल्न सुझाव दिएको थियो।  

सरकारले कात्तिक १ देखि आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशीलाई अनअराइभल भिसा दिने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार तयार रहेको मापदण्डको आधारमा नेपाल आउन चाहने पर्यटकलाई अनुमति दिन सरकारलाई सिफारिस गरिएको छ।

मन्त्रालयका प्रवत्ता कमल भट्टराईका अनुसार मन्त्रालयले स्वीकृत गरेकोे पर्वतारोहण तथा पदयात्राको लागि आउने पर्यटकले पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७ मा टेक्दै अनअराइभल भिसा दिने तयारी छ। मापदण्डकै आधारमा सम्बन्धित देशमा रहेको नेपाली नियोगमार्फत अनअराइभल भिसाको प्रक्रियामा जान सकिने मापदण्डमा रहेको उनले बताए।  

सम्बन्धित देशमा नेपाली नियोग नरहेको अवस्थामा भने पर्वतारोहणको लागि नेपालस्थित पर्यटन विभाग र पदयात्राको लागि पर्यटन बोर्डसँग समन्वय गर्नुपर्नेछ। बोर्ड र विभागले स्वीकृति दिएपछि अध्यागमन विभागले भिसा जारी गर्ने जनाइएको छ।

अध्यागमन विभागले भने अनअराइभल भिसा जारी गर्नेबारे सरकारको कुनै निर्देशन आइनसकेको जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७७ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App