९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सीप सिकेर आत्मनिर्भर बनेकाहरू..

सीप सिकेर आत्मनिर्भर बनेकी भद्रा रोकाया। तस्विरः योगेश रावल

ब्राह्मण परिवारमा जन्मिएकी भद्रा रोकाया(उपाध्याय)ले भेषबहादुर रोकाया(क्षेत्री)सँग (अन्तरजातीय) प्रेम विवाह गरिन्। यो विवाह उनका लागि चुनौतीपूर्ण त थियो नै त्यसमाथि उनले सुरु गरेको पेशाले झन चुनौती थपिदियो।  

उनले सिलाइकटाइ पेशा अँगालिन्। जुन कुरा उनका माइती र पोइली दुवै पक्षलाई चित्त बुझेको थिएन। उनले सिलाइकटाइ पेशा अँगालेकै कारण घरपरिवारबाटै दुव्र्यवहार खेप्नु पर्यो। तर उनका श्रीमानले भने साथ दिए।  

२०७१ सालतिर उनले टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट सिलाइकटाइ सम्बन्धी सीप सिकिन्। उनले सिलाइकटाइ सिकेपछि व्यवशाय सुरु गरिन्। त्यतिबेला उनीसँग एउटा मात्रै सिलाइ मेसिन थियो। एकातिर घरपरिवारको असहयोग अर्कातिर साधन स्रोतको अभाव उनका लागि यो व्यवशाय निकै चुनौतीपूर्ण रह्यो। उनले हिम्मत हारिनन्। किनकी उनलाई आफ्नो क्षमतामाथि पूरै विश्वास थियो।  

उनी झण्डै आधा दशकमै सफल व्यवशायीका रुपमा चिनिन थालेकी छन्। उनले टीकापुर नगरपालिका–१ खक्रौला रोडमा भवानी टे«ड सेन्टर सञ्चालन गरेकी छन्। उनीसँग अहिले ८ थान सिलाइ मेसिन छन्। उनले ५ जना महिलालाई रोजगारी दिएकी छन्। यतिमात्रै होइन उनले थान कपडाको व्यवशाय समेत सुरु गरेकी छन्। एउटा सटरमा सिलाइकटाइको काम हुन्छ भने अर्को सटरमा थान कपडाको पसल छ।  

सिलाइकटाइ पेशा अँगालेकै कारण कुनैबेला घरपरिवारबाटै दुव्र्यवहार खेपेकी उनलाई यतिबेला समाजले समेत सम्मानले हेर्न थालेको छ। घरपरिवारमा उनको मानसम्मान बढेको छ। यतिबेला माइतीपोइली दुवैतिरको जिम्मेवारी उनको काँधमा आएको छ।  

आफ्नै कमाइले टीकापुरमा घर बनाएकी छन्। उनले गाउँमा रहेका सासुससुरालाई टीकापुर आफ्नै घरमा सारिन्। बुहारीको प्रगति देखेर सासुससुरा समेत मख्ख छन्। श्रीमानलाई बर्दियाको भुरीगाउँमा उद्योग स्थापना गरिदिएकी छन्। तीनजना भाइहरुलाई व्यवशायमा जोडेकी छन्। उनीहरु दिदीकै सरसल्लाह अनुसार अघि बढ्छन्।

‘सीपले म भित्रको आत्मविश्वासलाई बढाउन मद्दत गर्यो’ उनले भनिन्–‘टीकापुर पोलिटेक्निक नभएको भए आज यो अवस्थामा हुन्थेन।’

टीकापुर नगरपालिका–१ की सीता चौधरीले २०७० सालमा टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट ब्यूटिपार्लर सम्बन्धी तालिम लिइन्। उनले लेभल १ र २ सम्मको तालिम लगेकी छन्।  

भारतमा बस्दा अर्काको पसलमा काम गरेर ब्यूटिपार्लर सम्बन्धी सामान्य ज्ञान लिएकी उनलाई इन्स्टिच्यूटमा तालिम लिएपछि आत्मविश्वास बढ्यो। तालिम लगेपछि उनले व्यवशाय सुरु गर्ने जमर्को गरिन्। उनले हाल टीकापुर नगरपालिका–१ मुनुवा रोडमा इभ्स ब्यूटि पार्लर सञ्चालन गरेकी छन्। उनको व्यवशाय राम्रै चलेको छ। उनी सीप सिकेपछि आत्मनिर्भर बनेकी छन्। उनले २ जना महिलालाई रोजगारी दिएकी छन्।

उनलाई ब्यूटिपार्लर सम्बन्धी थप सिप सिक्ने इच्छा छ। ‘यतिले मात्रै चित्त बुझेको छैन’ उनले भनिन्–‘म अझ धेरै कुरा सिक्न चाहन्छु।’

जानकी गाउँपालिका–७ लट्कनियाका रामकृष्ण चौधरी बेरोजगार थिए। उनी खेतीपाती गरेर जिविकोपार्जन गर्थे। उनले खेतीपाती गर्ने बाहेक अन्य सिप सिकेका थिएनन्। उनी कुनै काम गर्न नपाएकोमा दिक्क थिए।  

यही बेला टीकापुर पोलिटेक्निक इन्स्टिच्यूट खुल्यो। उसले बेरोजगार युवायुवतीका लागि विभिन्न सिपमुलक तालिम सञ्चालन गरिने सूचना जारी गर्यो। यो खबर रामकृष्णको कानसम्म पुग्यो। उनले सीप सिक्ने इच्छा देखाए। उनले इलेक्ट्रिसियन सम्बन्धी सीप सिकेका छन्। उनले २०७० सालमा लेभल १ र २०७१ सालमा लेभल २ तालिम लगे।

यो तालिमले उनलाई दक्ष बनायो। उनी अहिले मासिक २५ हजारसम्म कमाउने भएका छन्। उनको आर्थिक अवस्थामा केही सुधार भएको छ। उनले ८ जनाको परिवारलाई लालनपालन गर्दै आएका छन्। ‘मेरो जीवनमा ठूलो परिवर्तन भएको महशुस भैरहेको छ’ उनले भने–‘अरुलाई पनि सीप सिकेर आत्मनिर्भर बन्न सुझाव दिन्छु।’  

सीप सिकेर आत्मनिर्भर बनेका यी केही उदाहरण मात्रै हुन। टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा सकृय अन्य थुप्रै व्यक्तिहरु पनि छन्। उनीहरु आफू आत्मनिर्भर बनेका मात्रै छैनन् कतिपयलाई रोजगारी समेत दिएका छन्।  

टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट हालसम्म करिव २ हजारले विभिन्न किसिमका सीप सिकेको कार्यालय प्रमुख टेकेन्द्रबहादुर थापा बताउँछन्। उनका अनुसार धेरैजसो व्यक्तिहरु ्िसीपलाई व्यवहारमा उतार्न सकृय छन्। ‘धेरै व्यक्तिले सानोठूलो काम गरिरहेको पाइएको छ’ उनले भने–‘सीपले व्यक्तिलाई सक्षम बनाएको छ।’

२०६८ सालमा स्थापना भएको इन्स्टिच्यूटले सुरुका ४ वर्ष विभिन्न सिपमूलक तालिम सञ्चालन गरेको थियो। ती मध्ये सिलाइकटाइ, ब्यूटिसियन, कृषि सहायक, पशु सहायक, डकर्मी, इलेक्ट्रिसियन, पलम्बर, जनरल कुक, बेमौषमी तरकारी खेती, पशुपालन लगायत प्रमुख हुन।  

इन्स्टिच्यूटले २०७२ सालदेखी पठनपाठन सञ्चालन गर्दै आएको छ। उसले हाल डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन फरेष्ट्री विषय अध्यापन गराउँदै आएको छ। ‘यसका अलावा वर्षेनी ८÷१० वटा सिपमुलक तालिम पनि सञ्चालन गरिन्छ’ कार्यालय प्रमुख थापाले भने–‘यस्तो तालिम वर्सेनि करिव २ सय जनाले लिने गरेका छन्।’

पछिल्लो समय सीप सिक्ने र प्राविधिक विषय पढ्नेतर्फ धेरैको आकर्षण बढेको छ। सरकारले समेत प्राविधिक शिक्षालाई महत्व दिएपछि धेरै अभिभावकहरु छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन थालेका छन्।

प्रकाशित: २५ आश्विन २०७७ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App