२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंकबाट दैनिक दुई अर्ब कर्जा

कोरोना महामारीबीच वाणिज्य बैंकहरूको कर्जा बढ्न थालेको छ। यसले लामो समयदेखि कर्जा लगानी हुन नसक्दा समस्यामा परेका बैंकलाई सहज हुन थालेको छ।  

बैंकरहरूले चाडपर्वसँगै अझै कर्जाको माग बढ्दै जाने अपेक्षा गरेका छन्। नेपाल बैंकर्स संघले प्रकाशित गरेको असोज २ देखि १६ सम्मको विवरण अनुसार नयाँ ३३ अर्ब रूपैयाँ कर्जा लगानी भएको छ। यसलाई आधार मान्दा बैंकहरूले औसत दैनिक दुई अर्ब रूपैयाँ लगानी गरिरहेको देखिन्छ।  

केही अघिसम्म कर्जाको माग ज्यादै न्यून थियो। ‘हरेक १५ दिनको तुलना गर्दा सबै बैंकहरूले सोही अवधिमा ४–५ अर्ब रूपैयाँ मात्र लगानी गर्न सक्थे,’ एक बैंकका कार्यकारी अधिकृतले भने, ‘असोज लागेपछि बिजनेस बढ्न थालेको छ।’  

बैंकहरूले कर्जाको लगानी बढाएसँगै तरलता पनि घट्न थालेको छ। अघिल्लो महिनासम्म दुई खर्ब रूपैयाँ पुगेको तरलता यतिखेर एक खर्ब ६० अर्ब रूपैयाँ हाराहारीमा पुगेको छ। बैंकरहरूले केही दिनयता बढेको कर्जाको माग हेर्दा मंसिरपछि तरलता अभाव हुनसक्ने अनुमान गरेका छन्।  

संघका अनुसार असोज २ सम्म सबै वाणिज्य बैंकले २९ खर्ब १३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए। असोज १६ मा कर्जा लगानी वृद्धि भएर २९ खर्ब ४६ अर्ब रूपैयाँ पुगेको छ।

पछिल्लो दुई सातामा निक्षेप संकलन पनि उत्साहजनक देखिएको छ। संघले पछिल्लो दुई सातामा  बैंकहरूले ४३ अर्ब रुपैयाँ निक्षेप बढाएको जनाएको छ।  संघले दिएको जानकारी अनुसार असोज २ सम्म बैंकहरूमा ३५ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असोज १६ मा पुग्दा निक्षेप बढेर ३५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। 

बैंकर्स संघका अनुसार असोज २ सम्म सबै वाणिज्य बैंकले २९ खर्ब १३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए। असोज १६ मा कर्जा लगानी वृद्धि भएर २९ खर्ब ४६ अर्ब रूपैयाँ पुगेको छ। 

यस अवधिमा निक्षेप वृद्धि हुनुमा  रेमिटेन्स आप्रवाह नघट्नुलाई पनि लिइएको छ। त्यस्तै यतिखेर सरकारी खर्च पनि केही बढेको छ। गत आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको साउन महिनामा ९२ अर्ब रूपैयाँ भन्दा बढी रेमिटेन्स भित्रिएको थियो।  

कोरोना महामारीका कारण धेरैले रेमिटेन्स घट्ने अनुमान गरे पनि अहिलेसम्म रेमिटेन्स घट्न सकेको छैन। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट रेमिटेन्स नघट्नुमा हुन्डिको कारोबार बन्द हुनु, खाडी मुलुक र मलेसियामा कोरोनाको खासै असर नपर्नु तथा वैदेशिक रोजगारीमा रहेकाहरू घर फर्कन खोज्दा एकैचोटी रकम पठाउनुलाई कारण ठान्छन्।

कोरोना महामारीका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्दा बैंकिङ क्षेत्र लगायत समग्र अर्थतन्त्रमा संकुचन आएको थियो। केही क्षेत्रको अवस्था अझै सुधार हुन सकेको छैन। खासगरी पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भइरहेको छ।  

राष्ट्र बैंकले कोरोना महामारीका कारण अप्ठेरामा परेका क्षेत्रलाई लक्षित गरी ब्याज र सावाँ भुक्तानीमा सहुलियत तथा पुनर्कर्जाको व्यवस्था गरेको छ। गत चैतसम्म तिरिसक्नु पर्ने कर्जाको किस्ता तिर्ने समय असोज मसान्तसम्म तोकिएको छ। त्यस्तै राष्ट्र बैंकले करिब ४२ अर्बको पुनर्कर्जा कोषलाई पाँच गुनासम्म वृद्धि गरी ऋण लगानी गर्ने व्यवस्था मिलाएको छ। पछिल्लो अवधिमा मुद्दति निक्षेपको ब्याज वृद्धि गरेर ९ प्रतिशत पु¥याएको नबिल बैंकले एक सातामै एक अर्ब ८८ करोड रूपैयाँले निक्षेप बढाएको छ।  

ऋण खोसाखोस कायमै  
राष्ट्र बैंकले ५० लाख रूपैयाँसम्मको ऋण पूर्वभुक्तानी गर्दा शुल्क नलाग्ने व्यवस्था गरेपछि बैंकबीच ऋण खोसाखोस बढेको छ। ५० लाख रूपैयाँभन्दा  बढीकोमा भने ०.१५ प्रतिशत मात्र शुल्क व्यवस्था छ। असार मसान्तको तुलनामा पछिल्लो समयमा कुमारी, एसबीआइ, हिमालयनलगायतका बैंकको कर्जा घटेको छ।  

आन्तरिक ऋण उठाउन सुरु  
आर्थिक गतिविधिलाई चलायमान बनाउन राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन सुरु गरेको छ। केही समयअघि २० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले पुनः १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउन सूचना जारी  गरेको छ।  

राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार यही कात्तिकसम्म ५८ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाइसक्ने योजना छ। ‘त्यसपछि एकपटक ५६ अर्ब र अन्तिम चौमासमा एक खर्ब १२ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँछौं,’ उनले भने, ‘जसले गर्दा तरलताको व्यवस्थापन लगायत समग्र अर्थतन्त्र चलायनमान हुनेछ।’

प्रकाशित: २३ आश्विन २०७७ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App