२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात

बारीमा उत्पादन भएको आलु । फाइल तस्बिर: नागरिक

गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात भएको छ । अनुकूल वातावरण, सहज बजार मूल्य र विभिन्न किसिमका अनुदानसँगै अन्य बालीसमेत छाडेर नगदे बाली आलुखेतीतर्फ आकर्षण बढेको हो ।

जिल्लाको कुल खेतीयोग्य ५ सय ९३ हेक्टरमा ३ हजार ८ सय ९५ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । ‘आलुमा म्याग्दी आत्मनिर्भर छ, किसानको संख्या हरेक वर्ष थपिँदै गएको छ,’ पाण्डेले भने । उनले कार्यालयको तथ्यांकमा वार्षिक करिब ६ करोडको हाराहारीमा विभिन्न गाउँबाट मात्रै निर्यात हुने गरेको बताए ।  

कुल उत्पादनको ७० प्रतिशत आलु निर्यात हुने गरेको अधिकृत पाण्डेले बताए । ‘पकेट क्षेत्रमा उत्पादन भएको धेरै आलु जिल्ला बाहिर खपत हुन्छ, अनुदानले कृषकलाई थप सहज भएको छ,’ उनले भने । म्याग्दीलाई आलु जोन बनाउन उपयुक्त रहेको अधिकृत पाण्डेको भनाइ छ । जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन हुने आलुको पोखरा, काठमाडौंसम्म बजार रहेकाले किसानले खेतबारीबाटै बिक्री गर्ने गरेका छन् । म्याग्दीमा प्रतिहेक्टर १२.७ टन आलु उत्पादन हुन्छ । हिमाली र माथिल्लो क्षेत्रमा लगाउने गरिएको बर्खे आलु पछिल्लो समय तल्लो क्षेत्रमा समेत लगाउन थालिएपछि वार्षिक सरदर उत्पादकत्व ११.६३ प्रतिशत रहेको छ ।  

अनुकुल माटो भएको ठाउँमा राष्ट्रिय औसत उत्पादकत्व १३.५ टन प्रतिहेक्टर नै उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । प्रतिकेजी ५० देखि १ सय रुपैयाँसम्म बिक्री हुन्छ । घरायसी र स्थानीय बजारमा बिक्री हुने आलुको तथ्यँक कार्यालयमा उपलब्ध छैन । आलु निर्यातबाट एउटै गाउँमा तीन करोड रुपैयाँसम्म भित्रिएको केन्द्रले जनाएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगा गाउँपालिकाको पाखापानी, मंगला गापाको हिँदी आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लाभित्रको सबै ६ वटै स्थानीय तहमा घरायसीबाहेक निर्यात गर्ने गरी आलु उत्पादन हुने गरेको छ ।  

कृषि ज्ञान केन्द्रमार्फत म्याग्दीमा एउटा मात्रै ब्लक रहेको छ । पकेट क्षेत्रमा १० हेक्टर र ब्लकमा सय हेक्टरमा आलु खेती गर्नुपर्नेभएकाले धेरै उत्पादन हुने अन्नपूर्णको शिख, हिस्तान र राम्चेलाई आलुको ब्लक बनाइएको छ भने स्थानीय तहले समेत पकेट क्षेत्र घोषणा गरेको छ ।  

चालु आवमा म्याग्दी र मुस्ताङमा आलु खेतीका लागि ४५ लाख विनियोजन गरिएको छ । प्रतिहेक्टर जमिनमा ६० हजार अनुदान रहेको केन्द्रले जनाएको छ । यता यस वर्ष आलु उत्पादन बढ्ने अनुमान गरिएको हिँदीका लकबहादुर पुर्जाले बताए ।

‘मागअनुसार खपत गर्न सकिएको छैन्, व्यापारी नै घरदैलोमा आउँछन्,’ पुर्जाले भने । पुर्जा, नँगीका कृष्ण पुन र शिखका तेसबहादुर पुर्जा नमुना कृषकको रुपमा चिनिन्छन् । म्याग्दीमा उत्पादित आलुको आकार ठूलो र स्वादिलोसमेत भएकाले हरेक वर्ष व्यापारी गाउँमै आउने गरेका छन् । धेरै उत्पादन गर्ने किसानसँग आलु भण्डारण निर्माण, -याक तथा बिउमल सहयोग, कृषि औजार रहेको छ । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।

प्रकाशित: २३ आश्विन २०७७ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App