१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

यो दसैंलाई हिमाली च्यांग्रा कम

मुस्ताङबाट हिँडाएर पोखरा ल्याइँदै गरेका च्यांग्रा। फाइल तस्बिर: नागरिक

कोरोना भाइरस संक्रमणले नाका बन्द भएपछि यसपटक छिमेकी चीनको तिब्बतबाट च्यांग्रा नभित्रिने भएका छन् । तिब्बती भित्रिन नपाउँदा पोहोरभन्दा निकै कम संख्यामा च्यांग्रा पोखरा झर्नेछन् । पर्याप्त च्यांग्रा नआउँदा मूल्य पनि महँगो हुने व्यवसायीले बताएका छन् । मूल्य बढी भएपछि खाद्य व्यवस्था तथा व्यापार कमपनीले पनि च्यांग्रा नकिन्ने भएको छ ।  

खाद्यका मुस्ताङ प्रमुख विनोद चन्दले मूल्य बढी पर्ने भएपछि खाद्यले च्यांग्रा किन्ने निर्णय अहिलेसम्म नगरेको बताए । पोहोर जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ५ सय ६० रूपैयाँमा किनेर खाद्यले काठमाडौं पठाएको थियो । अहिले जिउँदोकै प्रतिकिलो ७ सय ५० रूपैयाँ पर्ने भएपछि किन्ने निर्णय नभइसकेको चन्दले बताए । ‘च्यांग्रा खोज्नकै लागि हामी उपल्लो मुस्ताङ घुमेर आइसक्यौं । पर्याप्त च्यांग्रा छैन,’ उनले भने, ‘किसानले मूल्य बढाएका छन् । पोहोरभन्दा अहिले किलोमा झन्डै दुई सय रूपैयाँ महँगो भनेका छन् ।’

उनका अनुसार खरिद नियमावलीले पोहोरको भाउमा १० प्रतिशतमात्र मूल्य बढाउन अधिकार दिएको छ । त्यसले गर्दा यसपटक खाद्यले बढीमा ६ सय १५ रूपैयाँसम्म मूल्य हाल्न पाउँछ । तर किसानले ७ सय ५० रूपैयाँभन्दा कम्तीमा नदिने उनले बताए । जिउँदो च्यांग्रालाई प्रतिकिलो मूल्य ७ सय ५० रूपैयाँ हालेर ढुवानी गर्दै काठमाडौं पु¥याउँदा निकै महँगो पर्ने उनले बताए । ‘हामीसँग च्यांग्रा किन्ने समय नै कम भइसक्यो । अब २० दिनभित्र च्यांग्रा किनेर काठमाडौं पु¥याएर बिक्री गरिसक्नुपर्छ । तर त्यो समय छैन,’ उनले भने ।  

खाद्यले किसानले ल्याएका च्यांग्रा सिधै नगदमा किन्थ्यो । जोमसोममा संकलित च्यांग्रा बेनीसम्म हिँडाएर ल्याउँदा लागत थपिन्छ । बेनीसम्म हिँडाएर ल्याउँदा प्रतिगोटा झन्डै २ सय ५० रूपैयाँका दरले लागत थपिन्छ । त्यसपछि ट्रकमा काठमाडौं पु¥याउँदा प्रतिगोटा झन्डै ८ सय रूपैयाँभन्दा बढी भाडा लाग्छ । सबै खर्च जोडेर न्यूनतम मुनाफा राखेर प्रतिकिलोका दरले संस्थानले राजधानीमा मूल्य निर्धारण गर्दै आएको थियो । पोहोर खाद्यले साढे ३ करोड रूपैयाँ खर्चेर १९ सय २० वटा च्यांग्रा राजधानी लगेर बेचेको थियो ।  

खाद्यले किन्ने च्यांग्राको स्थानीय स्तरमा भाउ निर्धारणका लागि प्राथमिक खरिद सीमित बनेको हुन्छ । त्यसमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पशु प्राविधिक, खाद्यका शाखा प्रमुख र खाद्यकै प्रदेश प्रमुख सदस्य हुन्छन् । ‘अहिलेसम्म दररेट पनि निर्धारण भएको छैन,’ चन्दले भने, ‘अब निकै ढिला भइसक्यो । बाटोमा हिँडेका च्यांग्रा व्यापारीले किने झैं गरेर किन्न सकिन्न । प्रक्रिया पु¥याउन समय छैन ।’ अहिले किनेको मूल्य आगामी वर्ष घटाउन नपाइने भएकाले पनि किसानले मागे जति दिन नसक्ने उनले बताए । भूकम्पपछि संस्थानले बर्सेनि दसैंमा च्यांग्रा बेच्न थालेको हो ।

जिल्लामा यसपटक स्थानीय च्यांग्रा पनि कम छन् । कोरोना त्रासले नाका सिल हुँदा छिमेकी मुलुक चीनको तिब्बतबाट पनि च्यांग्रा भित्रिन पाएका छैनन् । ‘तिब्बतबाट पर्याप्त च्यांग्रा भित्रिन्थे र स्थानीय व्यवसायीले पोखरासम्म झार्थे । अहिले तिब्बतबाट ल्याउन पाइएको छैन । स्थानीय उत्पादनले पनि बजारको माग पर्याप्त हुँदैन,’ उनले भने । च्यांग्रा अभाव तर व्यवसायीबीच प्रतिस्पर्धा हुँदा मुस्ताङमा मूल्य बढाबढ भएको उनले बताए । च्यांग्रा किन्न उक्लेका व्यवसायी १४ दिन क्वारेन्टिन बसेर पनि गाउँगाउँमा च्यांग्राको खोजीमा रहेको उनले जानकारी दिए ।

प्रकाशित: २१ आश्विन २०७७ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App