९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

ब्यवस्थित तरिकाले सीमा खुल्ला गर्न माग

देशै प्रमुख स्थल प्रवेश विन्दुको रुपमा रहेको वीरगन्ज सिमानाका। तस्विरः रितेश त्रिपाठी

पछिल्लो सावा ६ महिनादेखि नेपाल र भारतबीचको सिमानाका औपचारिक रुपमा बन्द रहेको छ।  कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मन्त्रिपरिषदले चैत १० गते नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो।  त्यसपछि पटकपटक सीमानाका बन्द हुने निर्णयले निरन्तरता पाइरहेको छ।  अब भने ब्यवस्थित तरिका अपनाउँदै खास मापदण्ड बनाएर सीमा खोल्नुपर्ने सरोकारवालाहरुको राय छ।  

सिमानाका बन्द रहँदा त्यसको प्रतिकुल असर आम जनजीवन र अर्थतन्त्रमा समेत परेको उनीहरुको भनाई छ।  जनप्रतिनिधिदेखि निजी क्षेत्रका अगुवासम्मले सिमानाकालाई ब्यवस्थित गरेर सुचारु गर्नुपर्ने बिचार जनाएका छन्।  ‘अर्थतन्त्रलाई चलायमान गर्नुछ भने सीमालाई सुचारु गर्नै पर्छ, मानिसहरुको आवागमन अहिले रोकिएको छैन, लुकीछिपी आइरहेका गइरहेका छन्, त्यसलाई ब्यवस्थित गर्नु पर्छ,’ प्रदेश २ का सांसद ओमप्रकाश शर्माले भने, ‘त्यति मात्र होइन उपचारका लागि पढाईका लागि भारततिर जान र उताबाट आउन मानिसहरुको आवश्यकता छ।  ब्यवस्थित र नियमवद्ध किसिमको उपाय अब खुल्ला नगरी गाह्रो हुन्छ। ’  

शर्माले भनेजस्तै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले पनि सीमालाई मापदण्ड बनाएर औपचारिक आवागमन सुचारु गर्नुपर्ने र लुकिछिपी भइरहेको प्रवेश एकदमै कडाईका साथ बन्द गर्नुपर्ने बताउँछन्।  ‘एउटा पोर्टोकल निर्धारण गरेर पिसिआर परीक्षणको रिपोर्ट हेरेर आउन जान दिने जस्तो ब्यवस्था गर्न सकिन्छ, नेपाली अर्थतन्त्रलाई उकास्न यहाँ पर्यटकहरुको आगमन गराउन आवश्यक छ, त्यसको लागि सिमानाका त खोल्नै पर्छ,’ नगरप्रम्ख सरावगीले भने, ‘सबै ठाउँबाट प्रवेश नदिई नेपालमा मुख्य १० वटा प्रवेश नाकालाई आवागमनको लागि सुचारु गर्नपर्छ।’  

नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक बैधले नेपाल सरकारले भारतसँगको सीमालाई सतर्कताका मापदण्ड अपनाएर खोल्नुपर्ने बताए।  ‘हवाई मार्गले दैनिक हजारौं मानिसहरु विभिन्न मुलुकबाट भित्रि रहेकै छन्, चोरबाटो प्रयोग गरेर प्रवेश गर्ने मान्छेहरु त्यतिकै छन्।  स्थल मार्गबाट हुने आवागमन व्यवस्थित किन नबनाउने ?,’ वीरगन्ज उधोग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका वैद्यले भने, ‘स्वास्थ्य सुरक्षाको लागि मापडण्ड बनाई कडाईसाथ लागु गर्ने, आउनेजाने यात्रुहरु तथा सावारीको अभिलेखीकरण राख्नेजस्ता सावधानीहरु लागु गरेमा संक्रमणको जोखिमलाई कम गर्दै सिमानाका सुचारु गर्न सकिन्छ।’

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले सीमा बन्द हुँदा उद्योग ब्यवसायमा नराम्रो प्रभाव परेको बताउँछन्।  पिसिआर जाँच र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको व्यवस्था गरेर सीमामा आवागमनलाई सहज बनाउनु पर्ने उनको भनाई छ।  उद्योगी ब्यपारीका अनुसार कोरोनाको संक्रमणकालमा विथोलिएको आर्थिक क्षेत्रमध्ये सबभन्दा बढी प्रभावित पर्यटन क्षेत्र रहेको र चाँडै तग्रिंने क्षेत्र पनि यही नै देखिएको छ।  ‘हरेक मानिसलाई ‘बहिर घुम्न जानुपर्छ’ भन्ने मनमा भएको बेला यसको लाभ नेपालले लिनको लागि तयार हुनुपर्ने उनीहरु बताउँछन्।  ‘हामीले अहिलेदेखि आवश्यक तयारी गर्नु पर्छ, सीमा खुलीसक्यो भन्ने सन्देश पनि जान जरुरी छ,’ नगरप्रमुख सरावगीले भने, ‘यता उद्योग धन्दा र ब्यपारका लागि पनि प्राबिधिक मानिसहरु, मार्केटिङ्गका मानिसहरुको आवगमन हुन सक्नु पर्छ। ’ सीमानाका ब्यवस्थापन गर्दै खुल्ला गर्नु देशकै लागि आवश्यक रहेको सरोकारवालाहको तर्क छ।  

 

 

प्रकाशित: १९ आश्विन २०७७ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App