८ वैशाख २०८१ शनिबार
अर्थ

कोरोना महामारीमा यात्रु : जहाजमा प्रयाप्त, बस रित्तै

पोखरा विमानस्थलमा सोमबार यात्रु। तस्बिरः उमेश पुन

कोरोना भाईरस संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत विहीबारदेखि संचालनमा आए। पाँचदिनदेखि नियमित गुडिरहेको भएपनि ती सवारीले अहिले पनि सिमित संख्यामा मात्र यात्रु पाएका छन्। सरकारले आधासंख्यामा मात्र यात्रु बोक्न ती सवारीलाई छुट दिएपनि सवारीले त्यही संख्यामा पनि यात्रु भेटाएका छैनन्। ४० सिट क्षमतासम्मका लामो दुरीका ती सवारीले ४/५ जना यात्रु बोकेर सयौं किलोमिटर दुरी तय गरिरहेका छन्। पर्यटकबाहक बसलाई पनि यात्रु पाउन उस्तै सकस छ।

तर, सोमबारदेखि सुरु भएको हवाई उडानमा भने उत्साहजनक रुपमा यात्रु ओहोरदोहोर गरेका छन्। ६ महिनादेखि रोकिएको हवाई उडान सोमबार सुरु हुँदा जहाज चढेर पोखरा आउने र राजधानी फर्किने यात्रु उल्लेख्य थिए। सोमबार बुद्ध एयरले पोखराका लागि दुई र यती एयरले एउटा मात्र उडान गरेका थिए। काठमाडौं–पोखरा–काठमडौं रुटका तीनवटै उडानमा यात्रुसंख्या प्रयाप्त थिए। बुद्धले पहिलो उडानमा काठमाडौंबाट पोखरा आउँदा ७२ सिटको जहाजमा ५९ जना यात्रु ल्याएको थियो। पोखराबाट फर्किदा त्यो जहाजले ५८ जना यात्रु लिएर उडयो। त्यस्तै यतीले पनि २९ सिटे जहाजमा पूर्ण क्षमतामा यात्रु लिएर आउजाउ गरेको थियो। बुद्धको दोश्रो उडानमा पनि काठमाडौंबाट ५१ जना यात्रु आएका थिए भने ३५ जना काठमाडौं गएका थिए।  

कोरोना महामारी चलिरहँदा सार्वजनिक सवारी संचालन भएका छन्। तर, स्थलमार्गमा गुड्ने सवारीले भने अझै प्रयाप्त यात्रु भेटाउन सकेका छैनन। सरकारले सिट क्षमता अनुसार आधासंख्यामा मात्र यात्रु बोक्न अनुमति दिँदा पनि ती सवारीले बढीमा १० प्रतिशत मात्र यात्रु पाएको व्यवसायीले बताएका छन्। पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसी भन्छन, ‘पाँचदिनदेखि गाडी गुडिरहेका छन्। तर, बढिमा १० प्रतिशत मात्र यात्रु पाएका छौ। इन्धन खर्च पनि धान्न सकस छ। यात्रु नपाएरै गाडी गुडाउनु रोक्नुपर्ने हो की भन्ने चिन्ता छ।’

उनका अनुसार पोखराबाट सबैजसो लामो दुरीका गन्तव्यमा सवारी छुटेका छन्। तर, ती सवारीले न्यून संख्यामा यात्रु भेटेका छन्। ‘यात्रु मानसिक तनावमा पनि छन्। सबैतिर संक्रमणले गति लिँदा सकेसम्म हिडडुल गर्न नचाहेका पनि हुन्,’ उनले भने, ‘६ महिनापछि गाडी गुड्न थाल्दा हामी उत्साही थियौ। तर, हाम्रो उत्साह मरिसकेको छ।’ यात्रु अभाव भएपछि अघिल्लो दिन गुडेको गाडी भोलिपल्ट गुडाउन नमान्ने अवस्था आएको उनले बताए। उनका अनुसार सार्वजनिक बसमा ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने प्रावधान सरकारले राक्दा कमजोर आय भएका यात्रुलाई हिडडुलमा कठिनाई भएको छ।  

‘जहाजमा जस्तै शतप्रतिशत यात्रु चढाउन दिने हो भने हामीले बढी भाडा लिएको आरोप खेप्नुपर्दैनथ्यो,’ केसीले भने, ‘अहिले यात्रुले ठगेको आरोप हामीलाई लगाएका छन्। सरकारले सडकमा गुड्ने र आकाशमा उड्ने यात्रुलाई फरक तरिकारले हेर्दा बसका यात्रुलाई भार थपिएको छ।’ सरकारले सतप्रतिशत सिटमा यात्रु चढाउन अनुमति दिने हो भने व्यवसायीले भाडा बढाउन नपाउने र त्यसको फाइदा यात्रुलाई हुने उनले बताए। पूर्ण क्षमतामा यात्रु बोक्न दिने हो भने यात्रु पाएनौ भनेर गुनासो गर्ने ठाउँ नरहने अध्यक्ष केसीले बताए।  

पोखरा–काठमाडौं रुटमा संचालित पर्यटक बसले पनि यात्रु पाएका छैनन्। पर्यटक बस पनि असोजको पहिलोदिनदेखि संचालनमा आएका थिए। पोखरा–काठमाडौं रुटमा अहिले दैनिक तीनवटासम्म पर्यटक बस पठाएको भएपनि यात्रुसंख्या भने न्यून रहेको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा)गण्डकीका उपाध्यक्ष हरिराम अधिकारीले बताए। ‘पोखराबाट केही बढी संख्यामा यात्रु छन्। तर, काठमाडौंबाट आउने यात्रु भने न्यून छन,’ अधिकारीले भने, ‘रित्तै बस कुदाउनुपरेको छ। इन्धन र कर्मचारीको खर्च धान्ने अवस्था पनि छैन।’ दसैं नजिकिएकोले पनि अबका केहीदिनपछि यात्रुको आकार बढ्ने अपेक्षा रहेको उनले बताए।

‘हामीसँग ४० सिट क्षमताका बस छन्। ती बसले आधा यात्रु चढाउन पाउँदा २० जना बोक्न पाउँछन्,’ उनले भने, ‘तर, त्यो संख्या कहिल्यै पुग्दैन।’ आधा संख्यामा दुईतर्फी यात्रु बोक्न पाउँदा इन्धन र कर्मचारी खर्च धान्न सकिने भएपनि अहिले त्यो अवस्था अहिलेसम्म नभएको उनले बताए।  

सोमबारदेखि सुरु भएको हवाई उडान भने उत्साहजनक भएको एयरलाइन्सले बताएका छन्। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले अपेक्षा गरेभन्दा बढी यात्रु पहिलो दिनको उडानमा आउजाउ गरेको बताए। ‘झन्डै ६ महिनापछि जहाज उड्दा पनि पहिलेकै आकारको हाराहारीमा यात्रु थिए। उडान संख्या केही कमी भएपनि यात्रुको संख्यालाई राम्रो मान्नुपर्छ,’ बरालले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढी यात्रु आउजाउ गरेका छन्। अवस्था सामान्य हुँदै गएमा यात्रु बढ्नेछन्। यात्रु बढ्दा हामीले उडान पनि थप्नेछौ।’ बुद्धले सोमबार बिहान र दिउँसो गरि दुई उडान राखेको थियो। अर्काे यती एयरलाइन्सले पनि सोमबार पोखरामा एउटा उडान गरेको थियो। २९ सिट क्षमताको यतीले झन्डै पुर्ण क्षमतामा यात्रु बोकेका यतीका अधिकारीले बताएका छन्। ‘सोचेभन्दा बढी नै यात्रु पहिलो दिनको उडानमा आउजाउ गरेका छन। यतीले अब दैनिक दुईवटा उडान तालिका राखेको छ,’ यतीका अधिकारीले भने।  

सोमबार पोखराको पहिलो उडानमा वायुसेवा संचालक संघका पदाधिकारी पनि आएका थिए। संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले लकडाउनको ६ महिने अवधिमा वायुसेवा कम्पनिले १० अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक नोक्सानी बेहोरेको बताए। नेपालका वायुसेवा कम्पनिहरु विदेशी पर्यटकमा आश्रित भएको र अहिले विदेशी पर्यटक आउने सम्भावना नरहेपनि आन्तरिक यात्रुमार्फत गति लिने प्रयास गरेको अध्यक्ष थापाले बताए। उनले आन्तरिक उडान संचालन गर्दा सुरक्षाको मापदण्ड पालना गर्नेगरि कडाई गरिएको बताए।  

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाँइले ६ महिनापछि उडान हुँदा पनि यात्रु उल्लेख्य भएको बताए। ‘पहिलो दिन तीनवटा उडान भए, ती उडानले प्रयाप्त यात्रु पाएका छन्,’ गुरागाँइले भने, ‘स्वास्थ्यको मापदण्ड पालनामा निकै नै कडाई गरिएको छ। यात्रुले असहज महसुस गरेका पनि छैनन्। यात्रु पनि सचेत देखिएका छन्।’ लामो समयको सचेतनाले पनि स्वास्थ्य मापदण्ड पालना गर्नमा यात्रुलाई बानि परिसकेको उनले बताए।  

 

 

प्रकाशित: ५ आश्विन २०७७ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App