१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बजारीकरण नहुँदा महिला उद्यमी मारमा

लामो लकडाउनका कारण महिला उद्यमीका उत्पादनको बजारीकरणमा समस्या भएको छ। कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण महिला उद्यमीले उत्पादन गरेको समान खेर गइरहेको छ। यसले गर्दा उनीहरूलाई बैंकको ऋण, घरभाडा र कर्मचारी तलब दिन समस्या भएको महिला उद्यमी महासंघ नेपालले जनाएको छ।

महासंघले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार अन्तक्र्रियामा संस्थाका अध्यक्ष रीता सिंहले सरकारले सहुलियत ऋण र बजारीकरणमा सहजीकरण गरी महिला उद्यमीको उत्थान  गर्नुपर्ने बताइन्।

कोभिड १९ को महामारीपछि महिला उद्यमीमा परेको प्रभावबारे गरिएको सर्वेक्षणले उत्पादित सामानसमेत बजारमा जान नसकी भण्डारमा थुप्रिएको, सूचना प्रविधिमा सीमित पहुँचका कारण पर्याप्त सञ्चार आदानप्रदान हुन नसकेको जस्ता कारणले महिला उद्यमीहरू मानसिक तनावमा परेको देखाएको छ।

अध्यक्ष सिंहले सरकारले तथ्यमा आधारित लैंगिक उत्तरदायी बजेट कार्यान्वयन गरी महिला उद्यमीलाई सहयोग गर्न ध्यानाकर्षण गराइएको बताइन्। २०६० मा स्थापित महासंघमा एक सय २४ सदस्य र ५० जिल्ला समिति क्रियाशील छन्।

महासंघले डिजिटल र आर्थिक साक्षरताका साथै महिला उद्यमीको सकारात्मक सोच विकास तथा क्षमता अभिवृद्धिका लागि सञ्जालीकरण र पैरवी गर्दै आएको महासंघका कार्यकारी निर्देशक अनामिका सिंहले जनाइन्।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले महिला उद्यमी महासंघले महिला उद्यमीको समस्या पहिचान गरी समाधान गर्दै संकटको समयमा पनि अगाडि बढ्न बाटो देखाउँदै आएको बताइन्। उनले कार्यक्रममा बोल्दै डिजिटल र प्रिन्ट मिडियामार्फत उद्यमी महिलाको सफलताको कथा प्रस्तुत गरी संक्रमणमा कसरी बाँच्ने भनेर सिकाउँदै आएको जनाइन्। महिलालाई आत्मनिर्भर र बाँच्न सिकाउने विषयवस्तुमा आधारित रहेर महासंघले प्रोजेक्ट पार्टनरहरूको सहकार्यमा अनलाइन तालिम दिएर सहभागी गराएको उनले बताइन्। आधा आकाश ढाकेका महिला त्यसमा पनि महिला उद्यमीहरू देशको आर्थिक अवस्था सुधारमा लागेका उनीहरूका मागलाई राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

सञ्चारिका समूह अध्यक्ष नितु पण्डितले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको र महिला उद्यमी तथा विभिन्न पेसाका महिला थप मारमा परेकाले उनीहरूले नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने बताइन्।

प्रकाशित: २ आश्विन २०७७ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App