कोभिड १९ का कारण विश्वका अधिकांश मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) वृद्धिदर ऋणात्मक हुने भनिएका बेला सन् २०२१ मा नेपालको वृद्धिदर १.५ प्रतिशत हुने देखिएको छ ।
एसियाली विकास बैंक (एडिबी) ले मंगलबार सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक अपडेटमा यस्तो प्रक्षेपण गरेको हो । यसअघि एडिबीले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने अनुमान गरेको थियो ।
एडिबीका अनुसार गत वर्ष भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत नै रहने छ । एडिबीले पहिले गत वर्ष वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको थियो । एडिबीका अनुसार गत आवको पछिल्लो तीन महिनामात्र कोभिडले असर पारेकाले त्यसवर्ष वृद्धिदर केही राम्रो देखिएको हो । चालु वर्ष भने कोभिडको असर उच्च रहने भन्दै एडिबीले वृद्धिदर १.५ मात्र हुने अनुमान गरेको छ ।
एडिबीको अनुमानमा चालु आवमा घट्दो निर्यात, पर्यटन क्षेत्रमा आएको समस्या, रेमिटेन्स आय घट्न जानेलगायत कारण आर्थिक वृद्धिमा असर पर्नेछ । अर्थतन्त्रमा माग न्यून हुँदा सरकारी राजस्व घट्न जाने र खर्च पनि घट्दा वृद्धिदर प्रभावित हुने एडिबीको अनुमान छ ।
एडिबीले सार्वजनिक गरेको नेपालको म्याक्रोइकोनोमिक्स अपडेटमा यस वर्ष मनसून राम्रो भएकाले धानबालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । सरकारले समयमा मल खरिद गर्न सकेको भए उत्पादन अपेक्षा गरिए अनुसार अझै बढ्ने सम्भावना थियो ।
यसअघि एडिबीले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने अनुमान गरेको थियो ।
अर्कोतिर औद्योगिक उत्पादनको वृद्धिदर पनि उत्पादन तथा निर्माण क्षेत्रमा आएको सुस्तताका कारण राम्रो नहुने अनुमान गरिएको छ । सेवा क्षेत्रको वृद्धिदरमा पनि समस्या आउने अनुमान छ ।
पुँजी परिचालन तथा लगानीका हिसाबले गएको वर्ष नै कमजोर देखिएको थियो । नेपालको अर्थतन्त्र यो वर्ष झनै प्रभावित हुन सक्ने उसले जानकारी दिएको छ । पर्यटन उद्योग अझै पुनरुत्थान हुने सम्भावना न्यून रहेकाले यसको मार पनि अर्थतन्त्रमा पर्ने एडिबीको अनुमान छ । न्यून माग तथ पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारणले सन् २०२१ मा मुद्रास्फीति भने ५.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
यस्तै, एडिबीको अनुमानमा कोरोना महामारीका कारण विकासशील एसिया क्षेत्रको आर्थिक वृद्धिदर ६ दशकयता खराब अवस्थामा पुगेको छ । यो क्षेत्र सन् १९६० को दशकपछि अहिले सबैभन्दा न्यून वृद्धिदरमा खुम्चिएको जनाएको छ ।
एडिबीले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा यो क्षेत्रको आर्थिक वृद्धिदर ०.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको छ । यो वृद्धिदर सन् १९६२ पछिकै न्यून हुन सक्ने बैंकका प्रमुख अर्थशास्त्री यसुयुकी स्वाडाले बताएका छन् । सन् २०२१ मा भने यो क्षेत्रको वृद्धिदर ६.८ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।
यो क्षेत्रमा यो वर्ष चीनको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । महामारी नियन्त्रण गर्दै अर्थतन्त्रले लय लिएकाले गएको जुनमा गरिएको प्रक्षेपणलाई यथावत राखिएको छ । यस्तै, सन् २०२१ मा चीनको अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
एडिबीको प्रतिवेदन अनुसार भारतमा लामो समय भएको लकडाउनका कारण निजी खर्च तथा लगानीमा संकुचन आएकाले जिडिपी वृद्धिदर ऋणात्मक हुने अनुमान छ । भारतीय अर्थतन्त्र यो वर्ष ९ प्रतिशतले घट्ने अनुमान एडिबीले गरेको छ । पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले ऋणात्मक भएको थियो । यस्तै, थाइल्यान्ड र फिलिपिन्सको अर्थतन्त्र पनि ७.३ र ८ प्रतिशतले खुम्चिने प्रक्षेपण छ ।
प्रकाशित: ३१ भाद्र २०७७ ०४:५३ बुधबार