coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

६ महिनादेखि बन्द रहेको नियमिततर्फको आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल सरकारले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक उडान खोले पनि आन्तरिकतर्फका व्यावसायिक उडान बन्दै छ ।  

सरकारले यसअघि पटक–पटक आन्तरिकतर्फको उडान खोल्ने आश्वासन दिँदै आए पनि अन्तिम सयममा आएर रोक्दै आएको छ । अब भने सरकार आन्तरिक उडान रोकेर कोरोना रोकथाम हुँदैन भन्ने निष्कर्षमा पुगिसकेको देखिन्छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को बैठकले राजधानीसहित देशभर महामारीको संक्रमण बढ्दै गएको निष्कर्षसहित हवाई उडान खोल्ने तिथि सार्न सरकारलाई सुझाव दिँदै आएको थियो । अब भने आन्तरिकतर्फको उडानसमेत निश्चित मापदण्डको आधारमा खोल्न सरकारलाई दबाब थपिँदै गएको बुझिएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार असअघि पनि सरकारले हवाई उडान भर्न विभिन्न निजी विमान कम्पनीलाई अनुमति दिइसकेको र विमान कम्पनीहरूले टिकटसमेत बेचिसकेकाले उडान र यात्रु संख्या तोकेर सेवा सञ्चालनको तयारीमा सरकार रहेको छ ।

यातायात व्यवसायीसमेत लामो दुरीका सार्वजनिक सवारी सञ्चालनको तयारीमा पुगिसकेको अवस्थामा हवाई उड्डयन निर्देशिका अनुसार उच्च स्वास्थ्य सतर्कता अपनाउँदै सेवा सञ्चालनमा ल्याउनुपर्ने भन्दै वायुसेवा कम्पनी र पर्यटन व्यवसायी दैनिकजसो मन्त्रालय धाइरहेको स्रोतको भनाइ छ ।  

‘आन्तरिकतर्फका उडान खोल्न स्वास्थ्य प्रोटोकलसहित विमानस्थलमा दुरी कायम राख्ने लगायत तयारी छ,’ नाम नछाप्ने सर्तमा स्रोतले भन्यो, ‘लकडाउनअघि हुँदै आएका दैनिक उडान तथा अवतरण संख्यामा भने भारी कटौती हुन सक्छ ।’

स्वास्थ्य मापदण्डसहित देशभरका विमानस्थल उडानका लागि तयार रहेको अवस्थामा आन्तरिक उडान रोक्दा महामारी नियन्त्रण हुन्छ भन्नु तार्किक नभएको भन्दै विमान कम्पनीहरूले मन्त्रालयमा दबाब दिँदै आएका छन् । उनीहरूले निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलिन्छ भन्नु सरकारको गलत सोचाइ भएको तर्क गर्दै आएका छन् ।

व्यवसायी भन्छन्– निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलिन्छ भन्नु सरकारको गलत सोचाइ ।

तोकिएको प्रोटोकल अनुसार उडान अनुमति दिनुपर्ने उनीहरूको भनाइ छ । यसअघि सरकारले उडान खोल्ने आश्वासन दिँदै आए पनि अब भने चाडपर्वसमेत नजिक आइसकेको र अहिले नै उडानको तयारी नगरे न्यूनतम उडानबाट राजधानीबाट बाहिरिने तथा भित्रिने सबैलाई सेवा दिन नसकिने निजी विमान कम्पनीसम्बद्ध अधिकारीको धारणा छ ।

यसअघि देशभर बाढी–पहिरो, असक्त बिरामी, सुत्केरीको उद्धारमासमस्या हुँदा पनि सरकारले अनुमति नदिएको र अब चाडपर्वको समय आइसकेकाले उडान खोलेर निकास दिनुपर्ने व्यवसायीहरूको माग छ ।

‘आन्तरिकतर्फका उडान खोल्दा मात्रै महामारी फैलिने भन्ने सरकारसँग आधार के छ ? विदेशबाट हुने चार्टर्ड तथा नियमित उडान जारी राख्न हुने तर स्वदेशी उडान हुनै नदिने भन्ने हुन्छ ?’ हवाई व्यवसायीको प्रश्न छ । हवाई कम्पनीहरूले टिकटसमेत बुकिङ गरिसकेकाले उडान संख्या कटौती गरेरै भए पनि सेवामा फर्कने वातावरण बन्नु आवश्यक रहेको व्यवसायी बताउँछन् ।

विमान कम्पनी, विमानस्थल र व्यवसायीले आवश्यक मापदण्ड बनाइसकेको र सरकारले समेत तयारी, अध्ययन गरिसकेकोले स्वास्थ्य निर्देशिका अनुसार स्वस्थ मानिसमात्रै विमानसम्म पुुग्ने भएकाले महामारी नियन्त्रणसँगै चहलपहलमा हवाई सेवा उपयुक्त माध्यय हुने व्यवसायीको धारणा छ । यसअघि निजी हवाई कम्पनीहरूले सरकारले धेरैपटक उडान समय लम्ब्याएको भन्दै भदौ १६ देखि उडाउन नपाए आन्दोलनमा उत्रन बाध्य हुनेसम्मको चेतावनी दिएका थिए । उक्त चेतावनीलाई समेत लत्याउँदै सरकारले उडानमा रोक लगाउँदै आएको छ ।  

पर्यटनमन्त्री योगेश भट्टराईले पनि आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी भइरहेको संकेत दिएका छन् । उडानका लागि सिसिएमसी सचिवालयमा प्रस्ताव पठाइसकेको जानकारी दिँदै उनले एक भर्चुअल छलफलमा असोज १५ देखि उडान गर्न सकिने जनाएका थिए । सुरुमा कोभिड संक्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । 

प्रकाशित: २९ भाद्र २०७७ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App