१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कमलामाईका उद्यमीलाई राष्ट्रिय वाणिज्य सहुलियत ब्याजमा कर्जा दिने

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै । तस्बिर: नागरिक

सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रमबीच कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । अब कमलामाई नगरवासीले उद्यम गर्न ५ लाखदेखि ५ करोड रूपैयाँसम्म कर्जा लिन सक्नेछन् । सहुलियत ब्याजदर भने महिला उद्यमीका लागि वार्षिक १.८ र पुरुषका लागि २.८ प्रतिशत रहेको जनाइएको छ ।  

अर्थ मन्त्रालयबाट युवालाई नेपालभित्रै व्यवसाय गर्न प्रोत्साहित गरी नेपालको मौलिक पहिचान, कृषि, पशुपालन, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत र विज्ञान प्रविधि क्षेत्रमा गरिने उद्यामहरूमा परियोजना धितो राखी सरकारका तर्फबाट ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जा योजना जारी भएको र त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग पु-याउने उद्देश्यका साथ उक्त सहकार्य गरिएको हो ।  

नगरपालिका युवालाई सहुलियतपूर्ण कर्जा लिन सक्षम बनाउने, उद्यमशीलताका माध्यमले व्यक्तिलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने, उद्यमशीलता तथा स्वरोजगारका लागि नेपालमै सम्भावना छ भन्ने समकारात्मक सोचको प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु-याउने उद्देश्यले सहकार्य अगाडि बढाइएको सम्झौतापत्रमा उल्लेख छ । त्यसैगरी वैदेशिक रोजगारीबाट विभिन्न सीप, अनुभव र पुँजी संकलन गरी फर्किएका युवालाई फेरि बिदेसिनुपर्ने बाध्यताबाट रोकेर उनीहरूलाई उद्यमशीलतासँग जोड्ने, वित्तीय पहुँच एवं वित्तीय समावेशिता अभिविृद्धि गर्ने उद्देश्य पनि सम्झौतापत्रमा समेटिएको छ ।

नगरवासीलाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सम्भावना खोजी गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँग जोडिन पुगेको कमलामाई प्रमुख खत्रीले बताए ।  

उनले सम्झौताको सही कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै कर्जाको सदुपयोग गर्न सक्नेलाई मात्र सिफारिस गर्ने बताए ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमशीलताको विकासका लागि बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने लागेको बताए । कतिपयले सहुलियत कर्जा  भनेको तिर्नुनपर्ने हुन सक्छ भनेर बुझ्ने गरे पनि त्यो पूर्णतः गलत रहेको स्पष्ट पारे । निकै थोरै ब्याज तिर्नुपर्ने हुँदा व्यवसायीलाई ठूलो सहायता पुग्ने भएकाले सहुलियत भनिएको उनको भनाइ थियो । सहुलियत कर्जा लिएर त्यसको सही उपयोग गरी आफू आत्मनिर्भर हुन र बिस्तारै कर्जा फिर्ता गरेर ठूलो लाभ लिन सकिने श्रेष्ठले बताए ।

प्रकाशित: २९ भाद्र २०७७ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App