२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार आयोजना अन्तिम चरणमा

रिडी हाइड्रोपावर कम्पनीले रुपन्देहीको तिलोत्तमा–६, मणिग्राममा निर्माणाधीन ८.५ मेगावाटको ग्रिड कनेक्टेड सोलार आयोजना। तस्बिर: नागरिक

निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। लकडाउन र कोरोना कहरबीच रुपन्देहीको मणिग्राममा रहेको ८.५ मेगावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम अन्तिम चरणमा पुगेको हो।  

सौर्य ऊर्जाबाट विद्युत् निकाली राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो सोलार आयोजना हो। ७० करोड लगानीमा रिडी हाइड्रोपावर कम्पनीले तिलोत्तमा नगरपालिका–६ मा २६ बिघा क्षेत्रफलमा यो आयोजना निर्माण गरेको छ।

आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए। गत मंसिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य थियो। तर लकडाउनका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले समयमै सम्पन्न गर्न नसकिएको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए। आयोजनामा काम गरिरहेका केही भारतीय प्राविधिक पछिल्लो लकडाउनले सीमामै रोकिएपछि काम अवरुद्ध भएको उनले बताए। ‘प्राविधिक व्यवस्थापन भए सात दिनमा सम्पूर्ण काम सकेर विद्युत् उत्पादन थाल्ने छौं,’ कार्यकारी निर्देशक नेपालले भने।

आयोजनाअन्तर्गत तीन सय ३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरिएको छ। जसबाट ८.५ मेगावाट विद्युत् उत्पादन हुनेछ। सोलार पाताबाट उत्पादन हुने डिसी ऊर्जालाई एसीमा बदल्न आठ सय ५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ। इन्भर्टरबाट आएको विद्युत्लाई ८.५ एमबिएको ट्रान्सफर्मरले ३३ केभीमा परिणत गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका इन्जिनियर कुशल न्यौपानेले बताए। त्यसका लागि इक्विपमेन्टहरुको ड्राई टेस्ट समेत भइसकेको उनले बताए। सिंगो प्लान्टको अन्तिम टेस्टको काम मात्र बाँकी रहेको इन्जिनियर न्यौपानले जानकारी दिए।

यो प्लान्टले दैनिक करिब नौ घन्टा विद्युत् उत्पादन गर्नेछ। ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। 

सोलारबाट उत्पादित विद्युत् अमुवा सबस्टेसनमा जोडिनेछ। सुरुमा योगीकुटी सबस्टेसनमा विद्युत् पठाउने गरी सम्झौता भए पनि ट्रान्समिसन लाइन विस्तारमा स्थानीयको अवरोधका कारण अमुवा सबस्टेसनमा जडान गर्न लागिएको हो। त्यसका लागि आयोजानाले ३३ केभिए लाइन विस्तारको काम गरिरहेको छ। उनका अनुसार करिब आठ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा सात किलोमिटरको काम पूरा भइसकेको छ।  

यो प्लान्टले दैनिक करिब नौ घन्टा विद्युत् उत्पादन गर्नेछ। ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिद सम्झौता (पिपिए) गरिएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताए। वार्षिक एक करोड ४५ लाख युनिट विद्युत् आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो।

सोलार पातामुनि बेसार र फलफूल खेती
ग्रिड कनेक्टेड सोलार आयोजनाले मणिग्रामको शान्ति नमुना माविको २६ बिघा जमिन ३० वर्षका लागि लिजमा लिएको हो। जुन जमिनको भरपूर उपयोग गर्न एग्रिभोल्टाइक्स अर्थात ऊर्जासँगै कृषि परियोजनाको अवधारणालाई अगाडि बढाएको छ।

आयोजना सञ्चालन भएको जमिन उर्वर भएकाले त्यसको पूर्ण सदुपयोग गर्दै कृषिको व्यवसायीकरणमा योगदान दिने उद्देश्यले एग्रिभोल्टाइज परियोजना अगाडि बढाइएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताए। जसअन्तर्गत सोलार प्यानलबीचको खालि स्थानमा अहिले साढे दुई टन बेसारको बीउ रोपिएको छ। अर्को वर्ष २५ टन बेसार लगाइने छ, जसबाट दुई सय ५० टन उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।  

सोलार प्लान्टको छेउको जग्गामा तरुल रोपिएको छ। ताइवानबाट ल्याइएको उच्च कोटीको पपयाँ जातका फलफूल र एभोकाडो लगाइएको छ। त्यससँगै व्यावसायिक बाख्रापालन गर्ने योजना पनि रहेको नेपालले बताए। ऊर्जा उत्पादनसँगै थालिएको व्यावसायिक कृषिले स्थानीयलाई रोजगारी दिनुका साथै एग्रोभोल्टिज टुरिजमको पनि विकास गर्नु मुख्य लक्ष्य रहेको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए।

प्रकाशित: २५ भाद्र २०७७ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App