४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रानीजमरा कुलरिया सिँचाइको प्रगति न्यून

विकासमा कोरोना असर

फाइल तस्वीर

कोभिड १९ को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत रानीजमरा कुलरिया सिँचाइको भौतिक प्रगति गत आर्थिक वर्षमा न्यून देखिएको छ। लकडाउनकै कारण गत आर्थिक वर्षमा डेढ महिनाभन्दा धेरै समय अवरुद्ध हुँदा प्रगतिमा असर पारेको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी प्रेम लासिवाले गत आवमा कोभिड १९ र विश्व बैंकतर्फको बोलपत्र फेरि आह्वान गर्नुपर्दा लक्ष्य अनुसार भौतिक प्रगति हात पार्न नसकेको बताए। ‘कोभिड १९ को कारण लगभग डेढ महिना आयोजनाको काम ठप्पै भयो,’ उनले भने, ‘त्यसैले गत आवमा लक्ष्य अनुसारको भौतिक तथा वित्तीय प्रगति हात पार्न सकेनौं।’  

आयोजनाको लागि गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड ५९ लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा गत असार मसान्तसम्म ५७ प्रतिशत बजेट मात्रै खर्च भएको छ। आयोजनाले गत आवमा ५९ प्रतिशत मात्रै भौतिक प्रगति हात पारेको  उनले बताए।

आयोजनाको समष्टिगत भौतिक प्रगति ४८ प्रतिशत

आयोजनाको कुल अनुमानित लागत २७ अर्ब ७० करोडमध्ये हालसम्म १३ अर्ब १३ करोड ५९ लाख रूपैयाँ खर्च भएको छ। रानीजमरा कुलरिया सिचाइ आयोजनाको गत आर्थिक वर्षसम्म समष्टिगत भौतिक प्रगति ४८ प्रतिशत भएको छ। यो गत आवसम्म यो आयोजनाको वित्तीय प्रगति ४७ प्रतिशत रहेको इन्जिनियर लासिवाले बताए।

४.७१ मेगावाटको जलविद्युत् आयोजना चालु आवभित्रै सक्ने  रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत पर्ने ४.७१ मेगावाट जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। जलविद्युत् आयोजनाको पावर हाउसको राफ्ट फाउन्डेसन, बाइपास च्यानल तथा टेलरेसको निर्माण कार्य सकिएको छ। आयोजनाका इन्जिनियर अरूणकुमार साह चालु आर्थिक वर्षभित्रै ४.७१ मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने बताउँछन्। ‘तीन वर्षअघि निर्माण सुरु गरिएको जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने गरी काम भइरहेको छ,’ उनले भने, ‘लकडाउनमा पनि जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ।’  

आयोजनाका अनुसार गत आवमसम्म आयोजनाको आठवटा गेटको जडान कार्य सकिएको छ। इन्टेकको घेराबन्दी कार्य पनि सकिएको छ। कफर ड्याम भत्काउने कार्य सम्पन्न भएको छ। आयोजनाका अनुसार गत आवसम्म मूल नहरमा घेराबन्दी कार्य आधा सकिएको छ। नहर आसपासको क्षेत्रमा पहुँचमार्ग निर्माण कार्य सम्पन्न भइसक्यो। आयोजना प्रभावित क्षेत्रबाट २५ हेक्टर जग्गा प्राप्ति गरेको आयोजनाले जनाएको छ। नहर आयोजनाले नहरको लम्की शाखाको ०.५ किलोमिटर माटोको काम सकेको छ। त्यसैगरी, नहरको ०.७ किलोमिटर लाइनिङ सकिएको छ। चोरी, चरेला नदीमा एक्युडक्ट तथा अफटेक निर्माण भइरहेको छ। तीनवटा रोड क्रसिङ र दुईवटा अफटेक निर्माण सम्पन्न भएको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलाली जिल्लामा अवस्थित छ। यो करिब एक सय २० वर्ष पुरानो सिँचाइ आयोजना हो। अहिले पुरानो सिँचाइ आयोजनाको आधुनिकीकरण र विस्तार गर्ने काम भइरहेको छ। पुरानै सिँचाइ प्रणालीबाट हाल कैलाली जिल्लाको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको गरी जम्मा करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।  

यस सिँचाइ प्रणालीमा कमान्ड एरियाको दक्षिणी भागमा सिँचाइ गर्न रानी सिँचाइ प्रणाली, मध्य भागमा जमरा सिँचाइ प्रणाली र उत्तरी भागमा सिँचाइ गर्न कुलरिया सिँचाइ प्रणाली छ। सरकारले आर्थिक वर्ष ०६६÷६७ सालमा आधुनिकीकरणको काम सुरु गरेको हो। अहिले यसलाई राष्ट्रिय गौरवको आयोजनामा समेत सूचीकृत गरिएको छ।

यो आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि करिब १४ हजर ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने लक्ष्य राखिएको छ। त्यसैगरी, पूर्व–पश्चिम राजमार्गको समानान्तर पश्चिमतर्फ जाने लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदीसम्मको थप करिब ६ हजार हेक्टरमा गरी कुल २० हजार ३०० सय हेक्टरमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। 

प्रकाशित: २१ भाद्र २०७७ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App