१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यवसायीद्वारा पर्यटन मन्त्रीको ध्यानाकर्षण

नेपाल पर्वतारोहण संघले संयोजन गरेको अनलाइन बैठक।

कोरोना भाइरस महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिने विषयमा पर्यटनकर्मीहरूले अनलाइन बैठकमार्फत शुक्रबार पर्यटन मन्त्री योगेशकुमार भट्टराईको ध्यानाकर्षण गराएका छन्।  

बैठकमा पर्यटन क्षेत्र सञ्चालन, सहुलियत ऋण, आन्तरिक र बाह्य हवाई उडानको नियमित तालिका, पर्यटन अनुगमन, कम्पनी नविकरण, घर भाडा, बिजुली र इन्टरनेट शुल्कमा छुट, हिमाल सफाई अभियान लगायतका विषयमा छलफल भएको थियो। 

अनलाइन बैठकमा मन्त्री भट्टराईसँग तुरुन्तै सहुलियत ऋण उपलब्ध गराउन माग गरिएको टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए।   

छलफलमा मन्त्री भट्टराईले सकारात्मक पहल गर्ने आश्वासन दिएका थिए।  

सरकारले आर्थिक वर्ष २०७७/२०७८ को बजेटमा पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा सहुलियत ऋण दिन ५० अर्ब रुपैयाँ छुट्टयाएको छ। उक्त रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई तुरुन्तै निकासा गर्न व्यवसायीले मन्त्री भट्टराईसँग माग गरेका थिए।  

‘त्यो रकम राष्ट्र बैंकमा तुरुन्तै पठाएर सम्पूर्ण पर्यटन व्यवसायीको हितमा ऋण प्रवाह गरिहाल्नुपर्छ भनेर हामीले माग ग¥यौं’, बैठकमा सहभागी टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने।  

त्यस्तै गरी नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा निजि क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरूका बिषयमा पनि मन्त्री भट्टराईसँग कुराकानी भएको थियो। उनीहरूले पर्यटन संघसंस्थाबाटै बोर्डमा प्रतिनिधित्व हुने व्यवस्था मिलाउन माग गरेका थिए।  

बैठकको संयोजन नेपाल पर्वतारोहण संघले गरेको थियो। यसमा पर्यटन सम्बद्ध ३२ वटा संघसंस्थाका पदाधिकारी सहभागि भएका थिए। उनीहरूले ‘कोरोना भाइरसको प्रभाव र पुनरुत्थानका लागि अबका दिनमा अपनाउनु पर्ने रणनीति’ का सन्दर्भमा मन्त्री भट्टराईसँग छलफल गरेका हुन्।

प्रकाशित: २० भाद्र २०७७ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App