२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनमा मूल्यवृद्धिको असर: नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित

चैत ११ गतेपछि चार महिना लडकडाउन भयो । लकडाउनकै बीचमा सुनको भाउले आकास छुँदै गयो । तोलाको एक लाख रूपैयाँ नाघ्यो । कोभिड–१९ को महामारी रोकिएको छैन । सुनको मूल्यमा अझै उतारचढाव हुने सम्भावना छ । सुनको मूल्यमा भएको वृद्धिसँगै सर्वसाधारणसँग भएको सुनका गहना भने सोचे अनुरूप बजारमा आइपुगेन ।  

लडकडाउनअघि सुनको मूल्य ७६ हजार पाँच सय रूपैयाँ थियो । कोभिड–१९ कै महामारीबीच मूल्य बढेर एक लाख तीन हजार तीन सयसम्म पुग्यो । ‘मूल्य बढेसँगै एक झमट बेच्न ल्याए । तर हामीले सोचेअनुसार बेच्न भने आएनन्,’ पोखरा मोहरिया टोलस्थित कन्चन आभूषणका निर्देशक बिमलमान गुभाजूले भने, ‘गहना किन्ने नै छैनन् ।’ उनका अनुसार पुरानो गहना साटफेर गरेर लगाउने बढी थिए ।

कारोबारमा मन्दी छ । सर्वसाधारणको क्रय क्षमतामा ह्रास आएको छ । क्रयशक्ति नहुँदा सर्वसाधारणले सुनका गहना किन्नेतर्फ ध्यान दिएका छैनन् । ‘भाउ घट्यो भने कारोबार बढ्छ । तर अहिले तयारी गहना किन्ने ग्राहक छैनन् ।’ अहिले लगानी अनुसारको फाइदा नहुने उनको भनाइ छ । ‘हिजो मूल्य घटेको अवस्थामा जुन ज्याला थियो अहिले सुनको मूल्यमा भएको वृद्धिमा पनि ज्याला उही छ,’ उनले भने, ‘व्यवसायीलाई फाइदा छैन । तर मूल्य घट्यो भने कारोबार बढ्ने छ ।’ उनका अनुसार सुनको मूल्य विश्व बजारले प्रभाव पार्ने हुँदा उतार चढाव भइरहन्छ । उनको बुझाइमा सुनको मूल्य वृद्धि भएसँगै केहीले सुनमा लगानी गरेर बचत गर्नेतर्फ ध्यान दिएका छन् । उनले केहीले ढिक्का सुन खरिद गरेर राखेको सुन्नमा आएको छ । ‘ढिक्का सुन नेपाल राष्ट्र बैंकले मात्रै बिक्री गर्छ,’ उनले भने, ‘व्यवसायीले केवल गहना मात्रै बेच्न पाउँछ । ढिक्का बेच्न पाउने अधिकार व्यवसायीलाई भने छैन ।’

कोभिड–१९ को केही देशले भ्याक्सिन बनाएको खबरले सुनको भाउ घट्दै गएको छ । भाउ बढ्दा पुरानो गहना साटफेर मात्रै गर्ने र थोरै थपथाप गरेर लैजाने ग्राहक मात्रै आएका छन् । ‘तीजमा कारोबार हुन्थ्यो । लकडाउन भयो । मूल्य बढेपछि पुरानो साटफेर गरेर लगाउने बढी आए ।’ सुनचाँदी व्यवसायी संघ कास्कीका उपाध्यक्ष राजेश बुद्धाचार्यले भने, ‘केहीले पुरानो बढी दिएर नयाँ थोरै लिएर गए । केहीले थपथाप गरेर लैजाने काम गरे ।’ नयाँ गहना नगदमा किनेर लगाउने शून्य नै रहेको उनको भनाइ छ ।  

कोभिड–१९ को संक्रमणअघि पोखरामा हप्तामा तीन केजी खपत हुन्थ्यो । विदेशबाट आउनेले गहना नै ल्याउँथे । त्यसले पोखरामा सुनको अभाव हुँदैन्थ्यो । तर अहिले हप्तामा आधा केजी पनि कारोबार हुँदैन । ‘कारोबार शून्य नै छ ।’ उपाध्यक्ष बुद्धचार्यले भने, ‘कारोबार निल हुँदा कालीगढलाई तलब दिन पनि सकस भएको छ ।’ पोखरामा तीन सय सुनचाँदी व्यवसायी छन् । एक हजार नेपाली कालीगढ छन् । पाँच सय बंगाली कालीगढले गहना बनाउँछन् । बंगालीमध्ये पोखरामा अहिले ५० जना जतिमात्रै रहेको भन्दै उपाध्यक्ष बुद्धचार्यले थपे, ‘बाँकी सबै आआफ्नो घर फर्किसकेका छन् ।’  

उनका अनुसार पोखरामा सुन आयात भएको छैन । सुनको कारोबार शून्य भएपछि नेपाल सुन चाँदी व्यवसायी महासंघले व्यवसायीले सुनमा लगानी गर्न नै नसक्ने अवस्थाले सरकारलाई सुन आयात नगर्न पत्रचारसमेत गरिएको उनले सुनाए । ‘कारोबार नहुँदा व्यवसायीले सुन किन्ने अवस्था नै छैन । त्यसैले महासंघले सरकारलाई सुन नल्याउन पत्राचार गरिसकेको छ,’ उनले भने । सुनको मूल्य घट्ने क्रम रहेको अवस्थामा आगामी दशैंमा सुनको कारोबार बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । 

प्रकाशित: १६ भाद्र २०७७ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App