८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन : शून्य आगमनको सिजन पर्खाइ

पोखराको फेवाताल र पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः उमेश पुन

पर्यटन व्यवसायीका अनुसार अबको एकसातापछि नेपालमा पर्यटकीय सिजन सुरु हुन्छ।  व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन।  यो सिजन सेप्टेम्बर मध्यमा पुग्दा बल्ल देखिनेगरि उकालो लाग्थ्यो।  अक्टोवर र नोभेम्बरमा पाहुना आगमन ‘पिक’मा पुग्ने र त्यो आगमन डिसेम्बर मध्यदेखि बल्ल ओरालो लाग्न थाल्दथ्यो।  

तर, कोरोना भाईरस संक्रमणका कारण अहिलेको अवस्था भने पोहोर–परार भन्दा फरक छ।  भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलँदै गर्दा केहीदिनपछि सुरु हुने पर्यटकीय सिजन यो पटकका लागि पनि पाहुना आगमनको हिसाबले शून्य रहने व्यवसायीले बताएका छन्।  भाइरस संक्रमणको सुरुवाती चरणमा हुँदा अघिल्लो सिजनमा पनि मार खेपेका व्यवसायी यो सिजनको सुखद पर्खाईमा थिए।  तर, एकसातापछि सुरु हुने सिजन पनि भाईरस संक्रमणको वृद्धिदरसँगै खेर जाने पक्का भएको व्यसायीको भनाई छ।  विदेशी पाहुना आगमनमा शून्य हुने गरि यो पटकको सिजन भित्रिन थालेको उनीहरुको भनाई छ।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन एकसातापछि सुरु हुने सिजनबाट आश गर्ने कुनै ठाउँ नै बाँकी नरहेको बताउँछन्।  विश्वव्यापी रुपमा संक्रमण बढिरहेको र त्यो संक्रमण नेपालमा पनि तिब्र रहँदा विदेशी पाहुना भित्रिनेमा आशावादी हुनु गलत रहेको तुलाचन बताउँछन्।  ‘केहीदिनपछि पर्यटनको सिजन सुरु त हुँदैछ।  तर, हामी पाहुना आउँछन् भनेर भन्दैनौ,’ तुलाचनले भने, ‘यो बेला पनि पर्यटनबाट आश गर्नु मुर्खता हुनसक्छ।’  

नेपालसँगको अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ।  केहीदिनपछि खुल्ने अन्तर्राष्ट्रिय उडानले पनि नेपालमा पर्यटक ल्याउन पाउने छैनन्।  केहीदिनपछि सुरु हुने हवाई उडानका यात्रु विदेशमा रहेका नेपाली नागरिक मात्र हुनेछन्।  त्यसबाहेक अधिकांश जिल्ला अहिले लकडाउनमा छन्। यसले पनि पाहुना आउने सम्भावना नभएको तुलाचनको बुझाई छ।  

पर्यटन बोर्डका अनुसार सन् २०१८ मा सेप्टेम्बर महिनामा नेपालमा ७६ हजार विदेशी पर्यटक आएका थिए।  त्यो संख्या २०१९ सेप्टेम्बरमा ७४ हजार थियो।  २०१८ को अक्टोबरमा १ लाख १९ हजार र २०१९ को त्यही महिनामा १ लाख १८ हजार विदेशी नेपाल भित्रिएका थिए।  विदेशीको आगमन २०१८ को नोभेम्बरमा १ लाख ३२ हजार रहेकोमा २०१९ को त्यही महिनामा १ लाख १० हजार थियो।  

तुलाचनका अनुसार साउन १५ तिर होटल खुल्दा आक्कल झुक्कल विदेशीले नेपालको अवस्थाबारे सोधपुछ पनि गर्न थालेका थिए।  तर, अहिले त सोधपुछ नै हुन छाडेको उनले सुनाए।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि यो सिजनबाट पर्यटन व्यवसायीले  आशा गर्ने ठाउँ नरहेको बताउँछन्।  ‘विश्वभर संक्रमण बढ्दो छ।  नेपालमा पनि भाइरसको गति तिब्र छ।  त्यसैले यो बेला पर्यटन क्षेत्र सक्रिय हुँनै सक्दैन,’ सापकोटा भन्छन, ‘अन्तर्राष्ट्रिय उडान सुरु भएको पनि छैन।  केहीदिनपछि उडान सुरु हुने भनिएपनि ती उडानमा विदेशी पाहुना आउन पाउँदैनन।  त्यसैले सन् २०२० बाट व्यवसायीले आशा गर्न सकिन्न। ’  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि यो पटकको सिजनबाट व्यवसायी आशावादी हुन नहुने बताउँछन्।  लामिछानेका अनुसार सेप्टेम्बर लाग्दैगर्दा सिजन सुरु हुने र मध्य हुँदा चहलपहल बढ्न थाल्दथ्यो।  अक्टोबर–नोभम्बर पिक सिजन हुने गरेको थियो।  डिसेम्बरमा चिसो बढ्न थालेपछि पाहुनाको आगमन घट्न थाल्दथ्यो।  फेब्रुअरीसम्म चिसोका कारण पर्यटकीय गतिविधिमा कमि आउँथे।  चिसो बढने हुँदा पदयात्रा, र्‍याफ्टिङ लगायतका गतिविधि पनि कम हुने गरेका थिए।  मार्च लागेपछि मात्र विदेशीको आगमन बढ्ने गरेको थियो।  

 

 

 

 

प्रकाशित: १० भाद्र २०७७ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App