६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यवसायबाट विस्थापित हुन बचाऔं

भविश्वर शर्मा, उपाध्यक्ष–ठमेल पर्यटन विकास परिषद्

कोभिड–१९ को महामारीले पर्यटन व्यवसायमा कस्तो असर पुगेको छ ?
कोरोनाले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । अहिले विदेशी पर्यटकको आगमन जिरो छ । लकडाउन खुकुलो भएपछि चलायमान हुन्छ भन्ने अपेक्षा थियो फेरि निषेधाज्ञाले ठप्प भयो । पर्यटन क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको छ । लगानीको हिसाबले हेर्ने हो भने भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर करिब तीन खर्ब लगानी भएको थियो । त्यो सबै फ्रिज भएर बसेको छ । कोभिडको असर कहिलेसम्म जान्छ यकिन गर्न कठिन छ । करिब एक वर्ष यसको असर पर्ने देखिन्छ ।  

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको अवस्था कस्तो छ ?
नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल आउँथे । ठमेल क्षेत्र सबैभन्दा बढी प्रभावित छ । चौविसै घन्टा खुल्ने ठमेल अहिले चौविसै घन्टा बन्द छ । कोभिडका कारण सबैभन्दा क्षति व्यहोरेको ठाउँ ठमेल हो । सानो एरिया भए पनि ठमेलमा सबैभन्दा ठूलो लगानी छ । ठमेलमा सानोदेखि फाइभ स्टारसम्मका गरी करिब दुई सय होटल र दुई सय ५० रेस्टुरेन्ट छन् । फरक प्रकृतिका व्यवसाय करिब १० हजारको हाराहारीमा छन् । ठमेलमा बनेका संरचनादेखि व्यवसायीले गरेको लगानी हेर्दा करिब पाँच खर्ब रुपैयाँ लगानी छ ।  

पर्यटन क्षेत्रबाट ठूलो संख्यामा रोजगारी गुमाएको अवस्था छ । यसको व्यवस्थापन कसरी भइरहेको छ ?
पर्यटन क्षेत्र आफैंमा स्वरोजगार उद्योग हो । ८० प्रतिशत मान्छे फेमिली बिजनेस गरिरहेका हुन्छन् । सहयोगका लागि दुई–चारजना कर्मचारी राखेका हुन्छन् । कर्मचारी व्यवस्थापन गर्न ठूलो चुनौती छ । स्वरोजगार व्यवसाय भएकाले साना व्यवसायीले कर्मचारीलाई तलब दिएर राख्न सक्ने अवस्था छैन । ठूलो व्यवसायीले भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर ठूलो लगानी थपेका थिए । उनीहरु आफैं थला परेकाले कर्मचारीलाई व्यवस्थित रुपमा तलब दिन कठिन छ । केही ठूला व्यवसायीले ५० देखि ३० प्रतिशत कटौती गरेर सहमति गरेको अवस्था पनि छ । पर्यटन क्षेत्रका मजदुर पर्यटन व्यवसायी, पर्यटन उद्योग, राज्यका सम्पत्ति हुन् । यी लामो अनुभव प्राप्त मजदुरलाई टिकाउन सकेनौं भने फेरि एक–दुई वर्षपछि पर्यटन क्षेत्र चलायमान हुँदा हामीले सेवा दिन सक्ने वातावरण हुँदैन ।

सरकारले बजेटमा मजदुरको व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको कोष आएको छ । व्यवसायीले मजदुरलाई दिने ग्यारेन्टी गरेर लिने, अन्यत्र लगानी गर्न नपाउने गरी दिने भन्ने गरी आयो । भोलि मजदुर अर्को ठाउँमा जाला, त्यही उद्योगमा काम नगर्ला । व्यवसायीलाई बोझमाथि बोझ थपिने काम हुन्छ भन्ने हिसाबले हामीले पर्यटन व्यवसायी ग्यारेन्टी बसेर होइन उसको सीप र क्षमताका आधारमा सरकारले नै उसैबाट उठाउने गरी दिनुपर्छ भनेर अनुरोध गरेका छौं ।

विशेष गरी ठमेलमा घर भाडाको विषयमा विवाद थियो । व्यवसायी र घरधनीको विवाद सुल्झियो ?
हो, यहाँको सबैभन्दा ठूलो समस्या भाडा हो । ठमेलमा देशभरिमै सबैभन्दा महँगो भाडा छ । हिजो व्यापार भएको अवस्थामा प्रतिस्पर्धाको बजारमा व्यवसायीले राम्रो भाडा तिरिरहेका थिए । कोभिडका कारण सरकारले लकडाउन घोषणा गरेपछि एक महिनासम्म चुपचाप बस्यौं । ठमेल पर्यटन विकास परिषद् यहाँका व्यवसायी र घरधनीको छाता संस्था हो । भाडा तिर्न नसकेको कारण व्यवसायी विस्थापित हुने र व्यवसायी गुनासो लिएर आउने काम भयो । भाडाको कारण कुनै व्यवसायी विस्थापित नहुने वातावरण सिर्जना गर्न मेरो नेतृत्वमा भाडा समायोजन समिति गठन भयो । समितिले टान, हानलगायत पर्यटन क्षेत्रका सबैले यसलाई साझा अजेन्डाको रुपमा लिएर कोभिड–१९ टुरिजम विजनेस डिजास्टर कोर्डिनेसन कमिटी गठन ग¥यौं । त्यसको नेतृन्व गर्ने जिम्मा पनि साथीहरुले मलाई दिनुभयो । त्यसपछि हामीले घरधनी, व्यवसायीबीचको छलफलपछि ५० प्रतिशत भाडा मिनाहा गर्न घरधनीलाई सार्वजनिक आह्वान ग-यौं ।  

ठमेलमा अहिले हामीसँग सम्पर्कमा आएका मध्ये करिब ७० प्रतिशत समस्या समाधान भएको छ । अहिले ५० प्रतिशत भाडा तिर्दा पनि यही अवस्था लम्बिए कहाँबाट ल्याएर तिर्ने भन्ने चुनौती छ । व्यवसायीले एक रुपैयाँ पनि आर्जन गर्न सकेका छैनन् । आज व्यवसायीहरु तीन हिसाबले मर्कामा छन् । परिस्थिति फरक भएर यस्तै अवस्था रहे २० प्रतिशत पनि भाडा लिन घरधनी तयार हुनुपर्छ । प्राधिकरणले लिएको डिमान्ड शुल्कलाई जिरो गनुपर्छ । व्यवसाय बन्द भएका अवस्थामा इन्टनरनेटको छुट दिनुपर्छ ।

कोभिडको प्रकोप लम्बिने निश्चित देखिन्छ । असहजताबीच पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउने सम्भावना के छ ?
लकडाउन खुकुलो गरेपछि पर्यटन क्षेत्रलाई चलायमान गराउनुपर्छ भनेर सरकारका सम्बन्धित निकाय, पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाहरुसँग छलफल अघि बढाएका छौं । कसरी प्याकेज ल्याउने, आन्तरिक पर्यटकलाई कसरी आकर्षित गर्ने, विदेशी पर्यटक आउँदासम्म कसरी टिकाएर राख्ने भन्ने छ । तर बढ्दो संक्रमणले राज्यले फेरि कडाई गर्न थालेको अवस्था छ । खोलेका व्यवसाय फेरि बन्द भएका छन् । बाहिर निस्केका मान्छे फेरि घरमै बस्न थाले ।  

अहिले तुरुन्त विदेशी पर्यटक ल्याउन सक्ने र आउने सम्भावना छैन । आन्तरिक पर्यटकलाई पनि घुम्न निकाल्नुपर्छ । सरकारले आफ्नो देश आफैं घुमौं भन्ने नीति तथा कार्यक्रममा ल्याएको छ । कर्मचारीलाई १५ देखि ५० हजार करमा छुट दिने कार्यक्रम ल्याएको छ । स्वदेशी पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गरेका छौं । स्वदेशी पर्यटकका प्याकेज आउनेवाला थिए । तर फेरि संक्रमण बढ्यो । विश्व स्वाथ्य संगठन र नेपाल सरकारले तय गरेको सुरक्षाका मापदण्ड अनुशरण गरेर सुरक्षित रुपमा घुम्ने, खाने, सपिङ गर्ने वातावरण बताउनुपर्छ । अहिले फेरि संक्रमण बढेकाले यो अवस्था कहिलेसम्म जाने हो अनिश्चित देखिएकाले जटिलता सिर्जना भएको छ ।

कठिन परिस्थितिमा सरकारले पर्यटन क्षेत्रको मागलाई कति सम्बोधन ग-यो ?
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट ब्याज, किस्ता २०७८ असार मसान्तसम्म तिर्ने गरी समय लम्बाएको छ । अहिले केही समयलाई राहत मिलेको छ । तिर्ने समय सारिएको हो । मिनाहा भएको होइन । तिर्नुपर्ने ब्याज र किस्ता जोडिएर जान्छ । अहिलेकै अवस्था लम्बिए त्यो बेला कहाँबाट ल्याएर तिर्ने ? पुनर्कर्जा, सहुलियत ऋण, पुनर्मूल्यांकनका विषयले केही राहत त भयो, तर यो अबको परिस्थितिमा पर्याप्त छैन । व्यवसाय चलायमान भए आयआर्जन सुरु हुन्छ, तब मात्र तिर्न सकिन्छ । अहिलको परिस्थिति त्यस्तो नदेखिएकाले थप जटिल बन्दै गएको छ ।  

सरोकारवालाबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
कोरोना महामारीको असर जहिलेसम्म जान्छ त्यो बेलासम्म कम भाडा लिएर आफ्नो घरमा बसेको व्यवसायीलाई घरभाडाका कारण विस्थापित नगर्ने वातावरण सिर्जना गर्नुपर्छ । घरधनी र व्यवसायीले भ्रमण वर्ष २०२०लाई लक्षित गरेर जुन संरचना बएका थिए । घरधनीले भाडामा लगाउने हिसाबले, व्यवसायीले व्यवसाय विस्तार गर्ने हिसाबले लगानी गरे । आज ती घरधनीले भाडा नउठेका कारणले किस्ता तिर्न सक्ने अवस्था छैन । व्यवसायीले आयस्रोत नभएका कारण बैंकको ब्याज र घर भाडा तिर्न सक्ने अवस्था छैन । यो अवस्थामा बैंकले व्यवसाय चलेपछि तिर्ने गरी व्यवस्थापन मिलाउनु पर्छ ।  

ठमेल पर्यटन विकास परिषद्ले के काम गर्दै आएको छ ?
कोभिडले पारेको प्रभावको विषयमा घरभाडा, विद्युत् महसुल, इन्टरनेट छुटमा लबिङ गरिरहेका छौं । यहाँको शान्ति सुरक्षा, व्यावसायिक वातावरण तयार गर्न, पर्यटनलाई विदेशमा प्रचार गरेर विदेशी पर्यटक आकर्षित गर्न सघाउँदै आएको छ । यहाँका घरधनी, व्यवसायीका समस्यालाई सम्बन्धित निकायमा लबिङ गर्ने, व्यावसायिक हकहित, सामाजिक उत्तरदायित्वका काम गर्दै आएका छौं । ठमेलमा बाहिर झुन्डिएका तार काटेर ठमेल क्लिन भएको छ । यहाँका होर्डिङ व्यवस्थापन गर्ने तयारी गरेका छौं ।  

पर्यटन व्यवसायीलाई यहाँको आग्रह ?
अहिले धैर्य गर्नुको विकल्प छैन । घरधनीले व्यवसायीलाई र व्यवसायीले घरधनीलाई सहयोग गर्ने हो । नोभेम्बर, डिसेम्बरमा पर्यटन क्षेत्रको सिजन आउँछ । हिजो भिजिट २०२० लाई लक्ष्य गरेर गरेका ३० प्रतिशत बुकिङ अहिले पनि रद्द भएका छैनन् । कोरोना महामारीको रुपलाई हेरेर पर्यटन क्षेत्रलाई रिभाइभ गर्ने प्याकेज ल्याउनु पर्छ ।  

केही समयपछि कोभिडको प्रकोप जाला । नेपालमा पर्यटन क्षेत्रको सम्भावना कस्तो छ ?
कोभिडको प्रकोप हटेपछि नेपालमा पर्यटन क्षेत्रको सम्भावना प्रचूर छ । आयस्रोत, उद्योग र रोजगारका हिसाबले पर्यटन, ऊर्जा, जडीबुटी र कृषि हो । त्यसमा पनि सबैभन्दा बढी पर्यटनमा अवसर छ । निर्यात गर्ने गरी औद्योगिकीकरण हुन सक्ने सम्भावना छैन । विश्वलाई आकर्षित गर्न सक्ने सजिलो व्यवसाय पर्यटन हो । नेपालमा पर्यटनको भविश्य राम्रो छ । समृद्ध नेपाल, सुखी नेपालीका लागि पर्यटनले सघाउन सक्छ ।

प्रकाशित: १० भाद्र २०७७ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App