२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेटमा कोरोना प्रभाव खासै देखिएन

दुई साउनको राजस्व र खर्चको तस्बिर

कोभिड–१९ को महामारी खेपेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको बजेटरी तस्बिर गत वर्षको साउनको तुलनामा खासै नराम्रो देखिएको छैन ।

सरकारले मुलुकमा गत चैत ११ देखि ३ महिना लामो बन्दाबन्दी र त्यसपछि आंशिक खुला गरे पनि अर्थतन्त्र राम्रोसँग चलायमान हुन सकेको छैन । तर यही बीचको चालु आवको साउनमा देखिएको राजस्व र खर्चको अवस्था भने अघिल्लो साउनको तुलनामा खासै भिन्न छैन । अघिल्लो आर्थिक वर्षको साउनमा मुलुकमा कुनै समस्या देखिएको थिएन ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले कोभिड महामारीबीच पनि राजस्व असुली राम्रो गरेको छ । यस्तै चालु खर्चमा पनि मितव्ययिता अपनाएको देखिएको छ ।  

सरकारले यो साउनमा कुल राजस्व ६६ अर्ब ६२ करोड रूपैयाँ असुली गरेको छ । यो लक्ष्यको ६.२१ प्रतिशत हो । सामान्य अवस्था रहेको आर्थिक वर्ष ०७६/७७ को साउनमा कुल राजस्व ७३ अर्ब ८१ करोड रूपैयाँ मात्र संकलन भएको थियो । यो चालु वर्षको साउनको तुलनामा सात अर्ब १९ करोड रूपैयाँ मात्र बढी हो ।  

सरकारले असार ७ पछि मुलुकका अधिकांश भाग आशिंक रूपमा मात्र खुलाएको छ । आन्तरिक बजार खुलेका छन् । तर पूर्ण रूपमा सबै क्षेत्र खुलेका छैनन् । उद्योग व्यवसाय पनि पूर्ण क्षमतामा चल्ने वातावरण बनिसकेको छैन । अर्थतन्त्रका कतिपय क्षेत्र अझै बन्द अवस्थामा छन् । यस्तोमा पनि सरकारले अघिल्लो वर्षकै हाराहारीमा राजस्व असुली गर्न सकेको छ ।  

सरकारले चालु वर्ष १० खर्ब ११ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । साउनमा भएको असुली लक्ष्यको ५.८१ प्रतिशत मात्र हो । साउनमा उठेको राजस्व सरकारी लक्ष्यको नजिक नभए पनि अहिलेको अवस्थामा सन्तोषजनक हो ।

यो साउनमा उठेको ६६ अर्ब ६२ करोड रूपैयाँ कुल राजस्वमध्ये कर राजस्व ५८ अर्ब ८१ करोड ४८ लाख रूपैयाँ हो भने बाँकी अरू गैरकर र अन्य कर राजस्व हो ।

महालेखाका अनुसार साउनमा सरकारको चालु खर्च खासै बढेको छैन । यो वर्ष सरकारले चालु खर्च नौ अर्ब ४८ अर्ब रूपैयाँ पुग्ने अनुमान गरेको छ । तर साउनमा खर्च एक अर्ब ९७ करोड रूपैयाँ मात्र भएको छ । गत साउनमा यस्तो खर्च चार अर्ब २९ करोड रूपैयाँ थियो । मुलुकमा कोभिडको समस्या आएपछि सरकारको चालु खर्च केही बढेको छ । त्यसअनुसार साउनमा पनि खर्च बढनुपर्ने हो । तर महालेखाको तथ्यांकले गत वर्षको तुलनामा आधा मात्रै खर्च देखाएको छ । यो हिसाबले सरकार अहिलेसम्म चालु खर्चमा मितव्ययी देखिएको छ ।  

गत वर्षका तुलनामा पुँजीगत खर्च बढाउन भने सकेको छैन । चालु आवको साउनमा पुँजीगत खर्च १३ करोड रूपैयाँ मात्र भएको छ । यो लक्ष्यको ०.०४ प्रतिशत मात्र हो । सरकारले चालु वर्षमा पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब रूपैयाँ गर्ने लक्ष्य राखेको छ ।  

सरकारले गत वर्ष साउनमा ५९ करोड रूपैयाँ पुँजीगत बजेट खर्च गसरेको थियो । गत वर्ष चार खर्ब आठ अर्ब रूपैयाँ खर्च गर्ने सरकारको लक्ष्य अनुसार यो रकम ज्यादै न्यून हो । तर यो वर्षको भन्दा भने धेरै हो ।  

कोभिड–१९ को समस्या चैतपछि आए पनि सरकारले गत वर्ष लक्ष्यको आधा मात्र पुँजीगत खर्च गरेको थियो । केपी ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेका बेला पुँजीगत बजेट खर्च गर्न भने सधै सरकार चुकेको छ ।

प्रकाशित: १० भाद्र २०७७ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App