२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बबईको ३१ वर्षमा ४४ प्रतिशत

निर्धारित समयमै काम भएको भए बबई सिँचाइ आयोजना ०६९–७० सालतिरै निर्माण सम्पन्न भएर बर्दियाको ३६ हजार हेक्टरमा सिँचाइ पुगिसकेको हुन्थ्यो । तर तोकिएको समयभित्र निर्माण सम्पन्न नहुँदा आयोजनाको लागत अस्वाभाविक रूपमा बढेको मात्रै छैन, राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाकै बदनाम भइरहेको छ ।

३१ वर्षको अवधिमा यो आयोजनामा ४४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यसले ढिलासुस्तीमा नेपालकै पहिलो आयोजनामा कीर्तिमान कायम गरेको छ । सरकारले ०४५÷४६ मा हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखेर यो सुरु गरेको थियो । तीन दशक बित्दा पनि आयोजना निर्माण सम्पन्न भएको छैन । निर्माण सुरु गर्दा आयोजनाको लागत दुई अर्ब ८७ करोड रूपैयाँ अनुमान गरिएकोमा अहिले बढेर बढेर १८ अर्ब ९९ करोड रूपैयाँ पुगिसकेको छ । बबई सिँचाइ आयोजनाका निर्देशक मधुकर राना सरकारको उच्च प्राथमिकतामा नपरेर नै आयोजना समयमै सम्पन्न हुन नसकेको बताउँछन् ।

‘यो आयोजना एउटा कारणले भन्दा पनि धेरै कारणले समयमा निर्माण सम्पन्न हुन नसकेको हो,’ उनले भने, ‘एकातर्फ पर्याप्त बजेट विनियोजन नहुनु र अर्काेतर्फ मूल्य अभिवृद्धिको कारणले यसको लागत बढेको बढ्यै छ ।’ गत आर्थिक वर्षसम्म यो आयोजनामा आठ अर्ब ४८ करोड ९२ लाख रूपैयाँ खर्च भएको छ । समष्टिगत प्रगति वित्तीय प्रगति ४५.४६ प्रतिशत छ । निर्देशक रानाले आयोजनाको समष्टिगत भौतिक प्रगति ४४.७७ प्रतिशत भएको जानकारी दिए ।

आयोजनाको पूर्वतर्फको ३४ किलोमिटर मूल नहरको निर्माण कार्य सम्पन्न भइसकेको छ । पश्चिमतर्फको ४२ किलोमिटरमध्ये गत आवसम्म २८ किलोमिटर तयार भएको छ । मूल नहरको पश्चिमतर्फको १४ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहण लगायत काम बाँकी छ । ३६ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म २२ हजार ६ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगिसकेको निर्देशक थापाले बताए । ‘यो आयोजनाका लागि अर्बाैं रूपैयाँ आवश्यक पर्नेमा सरकारले करोड मात्रै विनियोजन गर्दा काम तीव्र रूपमा अघि बढाउन सकिएन,’ उनले भने, ‘पहिला–पहिला अति नै कम बजेट विनियोजन भएकाले आयोजना समयमा निर्माण हुन नसकेको हो ।’

निर्देशक रानाले अहिले पनि आयोजनामा बजेट अभाव कायमै भएको जानकारी दिए । ‘पहिला मात्रै होइन अहिले पनि यो आयोजनाका लागि बजेट अभाव कायमै छ,’ उनले भने, ‘अहिले वार्षिक तीन अर्बभन्दा धेरै बजेट आवश्यक पर्छ तर एक अर्ब मात्रै विनियोजन भएको छ ।’  

सरकारले गत आर्थिक वर्ष ०७६÷७७ मा सो आयोजनाका लागि एक अर्ब ४९ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर बहुवर्षे आयोजना अन्तर्गतको ठेक्का भए पनि सरकारले पर्याप्त बजेट खर्च गर्न सकेन । जसले गर्दा आयोजनाको प्रगति अपेक्षित गतिमा हुन सकेन । लकडाउनले गत आवमा अपेक्षित गतिमा काम गर्न नसकेको प्रमुख रानाले बताए ।

उनका अनुसार गत आवमा विनियोजित बजेटमध्ये वित्तीय प्रगति ६०.११ प्रतिशत र भौतिक प्रगति ६१ प्रतिशत भएको छ । सरकारले आयोजनाको लागि चालु आवमा एक अर्ब ४९ करोड ९१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सरकारी लक्ष्य अनुसार आयोजना निर्माण सम्पन्न गर्न आगामी दुई आवमा साढे चार अर्बको दरले बजेट विनियोजन गर्नुपर्छ ।

प्रकाशित: ८ भाद्र २०७७ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App