२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बिचौलिया हटाउन पहल

तरकारी किनबेचमा धेरै तहमा बिचौलियाले कब्जा जमाएको कारण उपभोक्ताले महंगोमा खरिद गर्न बाध्य भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले बिचौलिया अन्त्य गर्ने संयन्त्र बनाउने भएको छ ।

धरान–१३ स्थित कृषि बजारमा आइतबार बसेको सुरक्षा निकायसहितको अनुगमन समितिको बैठकले बिचौलियाका कारण किसानले उत्पादनको उचित मूल्य नपाएको र उपभोक्ताले महंगोमा तरकारी किन्नु परिरहेको निष्कर्ष निकालेको हो ।  

केही दिनदेखि टमाटरको भाउ अहिलेसम्मकै महंगो भएपछि शनिबार उत्पादन क्षेत्रमा वस्तुस्थिति बुझ्न उपमहानगरपालिकाले एक टोली अनुगमनमा पठाएको थियो । धनकुटाको तरकारी पकेट क्षेत्रमा गएको टोलीले आइतबार प्रतिवेदन बुझाएपछि छलफल भएको थियो । धरानमा टमाटरको थोक बजारमा मूल्य एक सय १० रूपैयाँमा कारोबार हुँदा धनकुटाका किसानले भने प्रतिकिलो ४०–४५ रूपैयाँ मात्र पाइरहेको खुलेको थियो ।

बैठकले बिचौलिया हटाउन तरकारी उत्पादन हुने क्षेत्रमा स्थानीय तहसँग सिधै समन्वय गर्ने जिम्मेवारी उपमेयर एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीलाई दिएको छ । उपमेयर भण्डारीले स्थानीय तहसँग समन्वय गरेर किसानको पहुँच सिधै कृषि बजारसम्म बढाउन पहल गरिने बताइन् । ‘तरकारी उत्पादन हुने ठाउँमा स्थानीय तहसँग समन्वय गर्दैछु । किसानलाई पनि बजारको अभाव छैन, उत्पादन गर्नुस् भन्ने सन्देश दिनुपर्नेछ,’ उनले भनिन्, ‘बिचौलियाले तरकारीको बजार कब्जा गरेको रहेछ । हामी किसानले सही मूल्य पाउन् र उपभोक्ता पनि मारमा नपरुन् भन्ने चाहन्छौं ।’

कृषि सहकारीमार्फत गाउँमा उत्पादन भएको हरियो तरकारी ल्याउन सके बिचौलियाको अन्त्य हुने उपमेयर भण्डारीको भनाइ छ । कृषि सहकारी नभए स्थापना गर्न पहल गर्ने र किसानलाई धरानको कृषि बजारमार्फत बिउ, मल पठाउन समन्वय पनि गरिने उनले बताइन् । ‘कृषि सहकारीसँग अनुदानको ढुवानी गाडी हुन्छ, त्यसको सही सदुपयोग गर्ने हो भने समस्या हुन्न,’ उनले भनिन्, ‘किसान र बजारको संयन्त्र बनाउनुपर्छ ।’

सोही बैठकले धरान प्रवेश गर्ने हरियो तरकारी कृषि बजारमा अनिवार्य इन्ट्री गर्नुपर्ने निर्णय पनि गरेको छ । यसको लागि सुरक्षा निकायले सहयोग गर्ने भएको छ । बजार भाउ नियन्त्रण गर्नका लागि धरान आउने सबै तरकारी कृषि बजारमा इन्ट्री गर्नैपर्ने निर्णय गरिएको हो । धरानदेखि बाहिर जाने तरकारीका गाडी पनि शिवधारा र तीनकुने दुवै नाकामा इन्ट्री गर्ने र गए नगएको अनुगमन गरिने पनि निर्णय भएको छ । ‘माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि यो निर्णय गरिएको हो, यसले पहाडी जिल्लामा कति तरकारी उत्पादन हुन्छ भन्ने पनि थाह पाइन्छ,’ उपमेयर भण्डारीले भनिन् ।

कृषि बजारका अनुसार धरानका लागि आएको तरकारी कृषि बजारमा इन्ट्री गर्दा खुद्रा मूल्य तोक्न सजिलो भई बजार भाउमा एकरूपता आउनेछ ।  

कृषि बजारले हरेक दिन बिहानै त्यस दिनको हरियो तरकारीको प्रतिकिलो मूल्य तोक्ने गरेको छ । तर, सबै तरकारीरु कृषि थोक बजारबाट कारोबार नभएकाले अन्य खुद्रा व्यापारीले आफूखुसी भाउ तोकेर बिक्री गरिरहेका हुन्छन् ।  

‘सबै तरकारी कृषि बजारमा इन्ट्री भएर मात्र खुद्रा बजारमा पुग्ने प्रणाली विकास हुँदा बजार भाउमा एकरूपता आउछ,’ बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले भने । हाल व्यापारीले जथाभावी तरकारी ल्याउँदै अत्यधिक मूल्य लिएर बेच्ने गरेका छन् । यसले लकडाउनमा रोजागारी तथा आम्दानी गुमाएका उपभोक्ता महंगीको मारमा पर्दै आएका छन् ।

प्रकाशित: ८ भाद्र २०७७ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App