१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पसल दैनिक ४ घण्टा मात्र खुल्ने

रसुवामा अत्यावश्यक सामग्री बिक्री गर्ने बाहेक अन्य पसल दैनिक चार घण्टा मात्र खोल्न पाइने भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि अत्यावश्यक बाहेकका सामग्री बिक्री गर्ने पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइने भएको हो ।

जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेको संख्या न्यून रहेको र कोरोना संक्रमण बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रसुवाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बजारमा भीडभाड हुँदा कोरोना संक्रमणको जोखिम पनि बढी हुने भएकाले निश्चित समयमात्र पसल खोल्न दिन लागिएको हो । बजार क्षेत्रमा अनावश्यक रूपमा हिँडडुल गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई प्रचलित कानुनअनुसार कारबाही हुने छ । यसका लागि जिल्लास्तरीय अनुगमन टोलीले नियमित रूपमा अनुगमन गर्नुका साथै चेकजाँच गर्ने छ । जिल्लाभित्र प्रवेश गर्ने मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्र रहने व्यवस्था सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने छ । जिल्ला प्रवेश गर्दा बेत्रावतीमा चालक तथा सहचालकको नाम, थर, ठेगाना, सम्पर्क नम्बर, खाना खाने तथा बास बस्ने स्थानको विस्तृत विवरण पेस गर्नुपर्ने र मालवाहक सवारीसाधन गन्तव्य स्थानमा पुगेर मात्र रोक्न पाइने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।  

बेत्रावतीमा ट्राभल हिस्ट्री कार्ड जारी हुने र चालक तथा सहचालकले उक्त कार्ड साथमा लिएर हिँड्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ । कोरोना संक्रमणको दरमा भएको वृद्धिलाई मध्यनजर गरी जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी सबै गाउँपालिकालाई कोरोना संक्रमणपछि मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि उपयुक्त स्थानको छनौट गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी पठाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: ८ भाद्र २०७७ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App