१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराका होटललाई उत्कृष्टताको अवार्ड

पोखराका विभिन्न होटलले ‘ट्राभलर्स च्वाईस अवार्ड’ हात पारेका छन्।  पर्यटकीयदेखि तारेस्तरसम्मका होटलले सन् २०२० को यो अवार्ड हात पारेका हुन्।  प्रशिद्ध ट्राभल वेबसाइट कम्पनि ट्रिप एडभाइजरले यी होटललाई यो अवार्ड दिलाएको हो।  

अवार्ड पाउनेमा यहाँको चारतारे सरहको सांग्रिला भिलेज रिसोर्ट, टेम्पल ट्रि रिसोर्ट, ग्लेसियर होटल एण्ड स्पा, अतिथि रिसोर्ट एण्ड स्पा, वरदान रिसोर्ट एण्ड अपार्टमेन्ट लगायतका रहेका छन्।  ट्रिप एडभाईजरले हरेकवर्ष उत्कृष्ट १० को सूचीमा होटललाई अवार्ड दिँदै आएपनि यो पटक भने उत्कृष्टको सूची प्रकाशित गरेको छैन।  तर, उत्कृष्टमा परेका होटललाई भने इमेलमार्फत अवार्ड पाएको जानकारी दिएको हो।  

यो पटक फरक ढंगले विश्वभरका उत्कृष्ट १० प्रतिशतभित्र परेको भन्दै ट्रिप एडभाईजरले होटललाई जानकारी दिएको छ।  उत्कृष्टताको अवार्ड पाउने यी होटलमध्ये कतिपयले यसअघि पनि यस्तै अवार्ड पाएका थिए।  पोखराको चर्चित सांग्रिला भिलेज रिसोर्टले यसअघि सन् २०१९ मा पनि ट्राभलर्स च्वाईस अवार्ड पाएको थियो।  यो पटक भने अगोडा र ट्रिप एडभाईजरको अवार्ड एकैपटक हात पारेको सांग्रिलाका आवासीय म्यानेजर गुप्त गिरीले जानकारी दिए।  

उत्कृष्टमा परेको अर्को ग्लेसियरले २०१३ मा पनि यो अवार्ड पाएको थियो।  २०१५ पछि नयाँ स्वरुपमा संचालन भएको ग्लेसियरले पनि यस्तै अवार्ड पाएको थियो।  ‘नेपालका होटलका लागि लागि यो अवार्ड ठुलो सफलता हो।  नेपालका चल्तीका होटलले मात्र यस्तो अवार्ड पाउने गरेका छन,’ ग्लेसियरका संचालक राजेन्द्र ढकालले भने, ‘यसले बजारीकरणमा सघाउँछ। ’

उत्कृष्टमा छनिएको पोखराको अर्को अतिथि रिसोर्टले संचालनको सात वर्ष अवधिमा ६ पटक यो अवार्ड हात पारेको छ।  होटल संचालन भएको सातवर्ष अवधिमा ६ पटक अवार्ड हात पारेको संचालक भरतराज शर्माले बताए।  

हरेक वर्ष जनवरी महिनामा ट्रिप एडभाईजरले उत्कृष्टा १० भित्र परेका होटलको सुची सार्वजनिक गर्दै आएकोमा यो पटक कोरोनाका कारण ढिला भएको जानकारी दिएको थियो।  

उत्कृष्टताको अवार्ड हात पारेको वरदान रिसोर्ट एण्ड अपार्टमेन्टका संचालक मदन शर्मा पनि यो अवार्डलाई होटलको उत्कृष्ट सेवासँग जोड्छन्।  ‘पहिला पहिला लोन्ली प्लानेटको बुकमा लेखेको आधारमा पाहुना हिडडुल गर्दथे, अहिले भने ट्रिप एडभाईजरको रिभ्यू पढेर पाहुना त्यो होटलमा बास बस्न पुग्छन,’ शर्माले भने, ‘होटलमा बसेका पाहुनालाई उत्कृष्ट सेवा दिन सकिएन भने पाहुनाले कमजोर प्रतिक्रिया दिन्छन, त्यो कमजोर प्रतिक्रिया नै होटलका लागि टाउको दुखाई बन्छ।’ पाहुनाले राम्रो प्रतिक्रिया दिलाउन उनीहरुलाइ दिइने सेवा सुविधा पनि उत्कृष्ट हुनुपर्ने उनले बताए।  

पोखराको अर्को टेम्पल ट्रि रिसोर्टले पनि यो पटक उत्कृष्टताको अवार्ड पाएको छ।  टेम्पल ट्रि यसअघि नेपालको उत्कृष्ट १० मा तीनपटक परिसकेको छ।  टेम्पल ट्रिका म्यानेजर कृष्ण आचार्यले होटलले यो अवार्डलाई गौरबको सम्पत्ति ठान्ने बताउँछन।  ‘पाहुनाले पत्याएको अवार्ड हो।  विदेशी पाहुनाले यो अवार्ड हात पारेको होटललाई बढी विश्वास गर्छन,’ उनले भने, ‘यसले बजारीकरणमा पनि सघाउँछ। ’ उनका अनुसार पोखरामा उत्कृष्ट सेवा पाएका होटलले यो अवार्ड पाउने गरेका छन्।  

 

 

 

 

प्रकाशित: ५ भाद्र २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App