८ वैशाख २०८१ शनिबार
अर्थ

जिससले दिएको बजेट स्थानीय तहले लगेनन्

जिल्ला समन्वय समिति गोरखाले दिएको बजेट गोरखाका स्थानीय तहले उपभोग गर्न सकेका छैनन् । गत वर्ष जिल्ला समन्वय समितिले जिससको मौज्दात कोषमा रहेको १८ करोड ८४ लाख रकममध्ये दुईवटा नगरपालिकालाई एक करोड ४० लाख, चुमनुब्री गाउँपालिकालाई एक करोड २० लाख र अन्य गाउँपालिकालाई एक करोड १० लाख दिने निर्णय गरेको थियो । तर अहिलेसम्म पालुङटार नगरपालिकाले ९८ लाख बाहेक अन्य गाउँपालिकाले रकम नलगेको निमित्त जिल्ला समन्वय अधिकारी दिनेश चापागाईंले बताए ।  

गत वर्ष जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई योजना पेस गर्न अनुरोध गरेको थियो । भिमसेन थापा गाउँपालिकाले वडा नं १, २, ६ र ८ कार्यालय भवन निर्माण गर्ने योजना पेस गरेको छ । तर इस्टिमेट पेसा नहुँदा पहिलो किस्ता रकमसमेत जान सकेको छैन । जिल्ला समन्वय समितिले दुई चरणमा गरी रकम निकासा दिने निमित्त समन्वय अधिकारी चापागाईंले बताए । ‘सम्झौता गरेपछि र सम्पन्न गरेपछि भुक्तानी दिन्छौं,’ उनले भने ।  

बारपाक सुलिकोट गाउँपालिकाको भवन निर्माण गर्ने योजना अघि सारेको छ । गण्डकी गाउँपालिकाले वडा नं ६ को भवन र खानेपानी आयोजना निर्माण गर्ने निर्णय गरे पनि बजेट लगेको छैन । ‘यी स्थानीय तहले योजना पेस गरे पनि इस्टिमेट गरेर बजेट निकासको माग गरेका छैनन्,’ उनले भने ।  

पालुङटार नगरपालिकाले कार्यालय भवन निर्माण गर्ने योजना पेस गरेको थियो । गोरखा नगरपालिकाले वडा नम्बर १२ को कार्यालय भवन पेस गर्ने योजना ल्याए पनि बजेट भने लगेको छैन । ८० लाखमा वडा भवन निर्माण गर्ने योजना पेश भएको र बाँकी रकमको योजना पेस हुन बाँकी रहेको उनले बताए । सहिदलखन गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण गर्ने योजना पेस गरेको छ तर बजेट निकासा भएको छैन । भवन निर्माण अघि बढेको छैन ।

अजिरकोट, सिरानचोक, धार्चे, आरुघाट र चमुनुब्री गाउँपालिकाले भने जिल्ला समन्वय मितिको मौज्दात कोषमा रहेको रकम के मा खर्च गर्ने भन्ने यकिन गर्न सकेका छैनन् । यी स्थानीय तहले योजना नै पेस नगरेको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए ।

प्रकाशित: ५ भाद्र २०७७ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App