८ वैशाख २०८१ शनिबार
अर्थ

बाढीपहिरोले २० ठाउँमा राजमार्ग अवरुद्ध

बाढी–पहिरोले क्षतिग्रस्त देशभरका २० वटा सडक खण्ड अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । कतिपय ठाउँमा सवारी आवागमन ठप्प छ । सडक विभागका अनुसार गत असारदेखि भदौ ३ गतेसम्म विभिन्न राजमार्ग अन्तर्गतका दुई सय एक सडक बाढी–पहिरोले अवरुद्ध भएका छन् । तीमध्ये ९९ वटा मर्मतसम्भार गरेर सञ्चालनमा आइसकेका छन् । आंशिक मर्मतसम्भार गरेर ८२ वटा सडक सञ्चालनमा ल्याइएको विभागले जनायो । विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बाढी–पहिरोले भत्किएका २० वटा खण्ड मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । ‘अरनिको राजमार्ग र बेनी–जोमसोम–कोरोला, साँफेबगर–मार्तडी लगायत खण्ड अझै अवरुद्ध छन्,’ उनले भने, ‘विभागले खुलाउने प्रयास गरिरहेको छ ।’  

सापकोटाले भत्किएका पूर्वाधार निर्माण गर्न दुई अर्ब ६५ करोड रूपैयाँ लाग्ने बताए । गत साउन २६ गतेको पहिरोले अरनिको राजमार्ग अन्तर्गतको दक्लाङ खण्ड क्षतिग्रस्त हुँदा अहिलेसम्म सवारी साधन चल्न सकेका छैनन् ।  

बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध
बेनी–जोमसोम–कोरोला सडक योजना कार्यालयका अनुसार गत साउन २८ गते आएको बाढी–पहिरोले दाना, रुप्पे काभ्रेभिर खहरेखोला लगायतमा सडक क्षतिग्रस्त हुँदा आवातजावतमा समस्या छ । बेनी–जोमसोम–कोरोला सडक योजनाका इन्जिनियर आश्विनीकुमार यादवले बाढी–पहिरोले अधिकांश स्थान क्षतिग्रस्त हुँदा सो सडक अवरुद्ध भएको बताए । ‘लेतेदेखि गलेश्वरसम्मको सडक क्षतिग्रस्त छ,’ उनले भने, ‘उक्त खण्ड अबको १० दिनभित्र सञ्चालन गर्ने गरी मर्मतसम्भार भइरहेको छ ।’ उनले अप्ठेरो भू–भाग भएकाले मर्मत गर्न समस्या भएको बताए । बाढी–पहिरोले सो खण्डमा ४० करोड रूपैयाँभन्दा धेरैको क्षति पु-याएको प्रारम्भिक अनुमान उनले गरे । गत साउन २२ गते घोप्टेखोलामा आएको बाढीले बेसीसहरमा ह्युम पाइप बगाउँदा बेसीसहर–चामे सडक अवरुद्ध छ । उक्त खण्ड भदौ २५ गतेभित्र खुलाउने सकिने विभागले जनाएको छ ।

धेरै प्रभाव साँफेबगर–मार्तडी खण्डमा
गत असार २५ को बाढी–पहिरोले साँफेबगर–मार्तडी अन्तर्गत अम्कोटद्वारी खण्डको बाजुरामा सडक भत्काएको छ । बूढीगंगा नदीले सो खण्डको करिब पाँच सय मिटर सडक भत्काएकोले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । विभागले उक्त सडक भदौ २५ गतेसम्म सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जनाएको छ । साँफेबगर मार्तडीको बल्दे खण्डको सडक पनि क्षतिग्रस्त छ । विभागले सो खण्ड भदौ २५ गतेभित्र सञ्चालन गर्ने तयारी गरेको छ । त्यसैगरी, साउन ६ गतेको बाढीपहिरा महाकाली राजमार्गको सतबाँझ–दार्चुला खण्ड भत्काएको थियो । सो सडक मर्मत गर्न भदौ १० गतेसम्म लाग्नेछ ।  त्यसैगरी, गत साउन १ को पहिरो र डेब्रिजले कक्रहवा–रुद्रपुर, सालझण्डी–सन्धिखक–ढोरपाटन सडकको निगाली–देउराली खण्ड क्षतिग्रस्त भएको थियो । विभागले सो खण्ड मर्मत गरेर भदौ ६ गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखेको छ । साउन १० गतेको पहिरोले विमलनगर–ठाँटीपोखरी–दूधपोखरी खण्ड क्षतिग्रस्त हुँदा गाडी गुड्न पाएका छैनन् । सो खण्ड खुलाउन भदौ १० गतेसम्म लाग्ने सडक विभागको अनुमान छ ।

साउन २६ गते सेती नदीले खोड्पे–बझाङ खण्डको जालिबगरमा भत्काएको सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पहिरो आउने क्रम अझै जारी छ ।  

सोही दिनको पहिरोले बार्जुगाड–बम्का बजार खण्डमा भत्काएको सडक अहिलेसम्म मर्मत हुन सकेको छैन । सोही दिन अरनिको राजमार्ग अन्तर्गतको दक्लाङ खण्डमा पहिरोले क्षति पु-याएको छ । सो खण्ड पनि अहिलेसम्म चलेको छैन । त्यसैगरी, सुर्खेत–जुम्ला सडकको चिसाखोल–दैलेख खण्ड अवरुद्ध छ ।

प्रकाशित: ४ भाद्र २०७७ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App