२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

होटल र रेस्टुरेन्ट फेरि बन्द

लकडाउन खुलेपछि काममा फर्केका कामदारलाई पुनः घर पठाएको व्यवसायीको भनाइ

कोरोना भाइरस महामारी घट्न थालेको भन्दै सरकारले साउन १५ देखि होटल र रेस्टुरेन्ट खोल्न अनुमति दियो। सरकारी अनुमतिसँगै पोखराका केही होटल र रेस्टुरेन्ट सञ्चालनमा पनि आए। चैत ११ को लकडाउनसँगै बन्द होटल र रेस्टुरेन्ट चार महिनापछि खुल्दा त्यहाँ कार्यरत सीमित कर्मचारीलाई काममा बोलाइयो। सरकारले पुनः होटल र रेस्टुरेन्ट बन्द गर्न भनेपछि व्यवसायीले काममा आएका कर्मचारीलाई फेरि घर फिर्ता पठाउन थालेका छन्।  

लेकसाइडको माउन्ट कैलाश रिसोर्ट साउन १५ देखि सञ्चालनमा आएको थियो। रिसोर्ट र रेस्टुरेन्टमा पाहुना आउन सक्ने भन्दै सञ्चालक नरेश भट्टराईले बिदामा बसेका १० जना कर्मचारीलाई काममा बोलाए। तिनलाई बुधबार फेरि घर फिर्ता पठाएका छन्। ‘सरकारको अदूरदर्शी निर्णयले हामी व्यवसायी मारमा प-यौं,’ भट्टराईले भने, ‘सरकारको स्वीकृतिपछि होटल खोलियो, अहिले फेरि खोल्न पाइँदैन भन्यो। काममा बोलाएका कर्मचारीलाई पुनः घर फिर्ता गर्दा अप्ठेरो लाग्यो। तर म बाध्य भएँ।’

पोखराको चल्तीको रिसोर्ट माउन्ट कैलाश साउन १५ मा खुलेपछि यो अवधिमा २० वटा कोठामा पाहुना आएका थिए। ती पाहुना राजधानीस्थित कर्पाेरेट हाउसका व्यक्तिगत वा अफिसियल कामले पोखरा आएका व्यक्ति थिए।  

सरकारले गतिलो गृहकार्य नगर्दाको मारमा आफूहरु परेको उनको भनाइ छ। ‘त्यो बेला नै होटल र रेस्टुरेन्ट खोल्न नदिएको भए केही हुने थिएन। सरकारले दीर्घकालीन अवस्था नसोच्दा हामीलाई असहज भयो,’ उनले भने।  

पोखरामा ल्यान्डमार्क र चितवन सौराहामा ल्यान्डमार्क फरेस्ट पार्क होटल सञ्चालन गरेका ओम पाण्डेले पनि साउन १५ पछि होटल खोलेका थिए। दुवै ठाउँका होटल खोल्न बिदा बसेका केही कर्मचारीलाई बोलाएका थिए। अब कर्मचारीलाई फेरि घर पठाउने कि राख्ने भन्ने दोधार पाण्डेमा छ। ‘सौराहामा र पोखरामा गरेर १०–१० जना कर्मचारी फिर्ता बोलाएका थियौं,’ उनले भने, ‘उनीहरुले यो अवधिमा पनि काम त पाएका थिएनन्। अब त झनै काम पाउने अवस्था रहेन।’ 

सरकारले भीडभाड बढ्दा संक्रमणको जोखिम थपिएको भन्दै होटल र रेस्टुरेन्टमा बसेर खान नपाउने निर्णय मंगलबार गरेको छ। त्यसबाहेक रेस्टुरेन्टबाट ‘टेक अवे’ सेवा मात्र दिने भने पनि लेकसाइडका रेस्टुरेन्टले यो सेवा पनि रोक्ने तयारी गरेका छन्। 

‘आएका कर्मचारीलाई तलब र खाना दिनुपर्छ। यसै पनि पाहुना थिएनन, अब त झनै पाहुना आउने अवस्था रहेन,’ उनले भने। फिर्ता बोलाए पनि नियमित सरसफाइमा जुट्ने बाहेक कर्मचारीको काम नभएको उनले बताए।  

उनका अनुसार होटल सञ्चालनको करिब दुई साता अवधिमा दुवै होटलमा सानो समूहगत छलफलका गतिविधि बाहेक पाहुना आएका थिएनन्। बास बस्ने पाहुना आएका थिएनन्। केही सोधपुछ आउने क्रम चलिरहेकोमा सरकारले पुनः बन्द गर्न भनेपछि दोधारमा परेको उनले सुनाए।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन सरकारको यो निर्णयले होटल क्षेत्र चलायमान हुन झनै बढी समय लाग्ने बताउँछन्। सरकारले साउन १५ देखि होटल खोल्न दिनु हतार भएको उनको तर्क छ। ‘साउन १५ मा खुलेका होटलले पनि भदौ १ पछिका दिन पर्खेका थिए। किनभने भदौ १ मा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने तयारी थियो,’ तुलाचन भन्छन्, ‘तर भदौ १ का सबै कार्यक्रम पछाडि सरेपछि झनै अन्योल थपियो।’ उनले अबको सिजन पनि उत्ति सहज हुने संकेत नपाएको बताए। ‘यो बेला संक्रमण कम होला भनेका थियौं। तर अहिले त झनै अप्ठेरो बन्दै गएको छ,’ तुलाचनले भने, ‘सरकारले यो निर्णय नगरेको भए थप केही होटल खोल्ने तरखर हुँदै थियो, ती पनि अब रोकिए।’

सरकारले भीडभाड बढ्दा संक्रमणको जोखिम थपिएको भन्दै होटल र रेस्टुरेन्टमा बसेर खान नपाउने निर्णय मंगलबार गरेको छ। त्यसबाहेक रेस्टुरेन्टबाट ‘टेक अवे’ सेवा मात्र दिने भने पनि लेकसाइडका रेस्टुरेन्टले यो सेवा पनि रोक्ने तयारी गरेका छन्। पोखराका रेस्टुरेन्टमा टेकअवे उत्तिसारो प्रभावकारी नभएको र त्यसले व्यवसाय धान्न सकिने अवस्था नहुँदा सेवा नै रोक्ने तयारी भएको व्यावसायीको भनाइ छ।  

लेकसाईडको प्याराडिजो स्पोर्टस बारका सञ्चालक समेत रहेका पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष गोपि भट्टराई भन्छन, ‘टेकअवेले व्यापार धान्दैन। त्यसैले धेरैजसो रेस्टुरेन्टले सबै सेवा बन्द गर्ने तयारी गरेका छन्।’  

उनले भदौ १५ देखि उडान र स्थालमार्ग सहज भएर पाहुना आउन थालेमात्रै व्यवसाय सञ्चालन गर्ने, अन्यथा त्यो समय अझै पछाडि धकेल्ने तयारी गरेको बताए। ‘हवाई उडान र लामो दुरीको यातायात सुचारु भएपछि पनि संक्रमणको त्रास रह्यो भने हामीले पर्यटन क्षेत्र खोल्न सक्दैनौं,’ उनले भने, ‘अहिलेभन्दा फरक अवस्था नआएसम्म सरकारले अनुरोध गर्दैमा व्यावसाय सुचारु गरेर अर्थ राख्दैन।’ उनले आगामी सेप्टेम्बर मध्यबाट पर्यटकीय सिजन सुरु हुने भएकोले व्यवसाय सुचारुको तयारी गरे पनि अब पुनः व्यवसायमा फर्कने दिन यकिन भन्न नसकिने बताए।

प्रकाशित: २९ श्रावण २०७७ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App