१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट ७६ करोड मूल्य बराबरको सामग्री निर्यात

रसुवागढी नाका । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट आयातको तुलनामा निर्यात कम मात्रामा हुने गरेको छ। चिनियाँ बजारमा नेपाली सामग्रीको माग कम हुने भएकाले निर्यात पनि कम हुने गरेको हो। गत आर्थिक वर्ष २०७६/७७ मा ७६ करोड २ लाख २३ हजार मूल्य बराबरको सामग्री मात्र निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामग्री निर्यात भएको थियो। तर गत आर्थिक वर्षमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका बन्द हुनु, चिनियाँ बजारमा नेपाली सामग्रीको माग कम हुनु र खाद्य सामग्री निर्यातमा भाषाको समस्या आएपछि निर्यात घटेको हो।  

कार्यालयको तथ्यांक अनुसार साउनमा १५ करोड २ लाख ७५ हजार, भदौमा ११ करोड ६ लाख १ हजार, असोजमा १० करोड ९९ लाख ६१ हजार, कार्तिकमा ११ करोड ९ लाख ९ हजार, मंसिरमा ९ करोड २५ लाख ७४ हजार रुपयाँ मूल्य बराबरको निर्यात भएको छ।  यस्तै १५ करोड ९१ लाख २८ हजार, माघमा २ करोड ६७ लाख ७५ हजार मूल्य बराबरको सामग्री निर्यात भएको हो। फागुनदेखि असार मसान्तसम्म सामग्री निर्यात नभएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।  

२०७१ सालदेखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोवार बढ्दै गएको थियो। रसुवा भन्सारले २०७१ साल यता दुई वटा आर्थिक वर्षमा आफ्नो लक्ष्य पूरा गर्न नसकेपनि अन्य वर्षमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ।चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २६ श्रावण २०७७ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App