२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

कमाइ थाल्ने बेला थन्किए

पोखरा र आसपासका पर्यटकीय पूर्वाधार

पोखरामा निर्माणाधीन अन्नपूर्ण केबुलकार। तस्बिर: उमेश पुन/नागरिक

–अन्नपूर्ण केबुलकार कम्पनीले सेदी–सराङकोट २.५ किलोमिटर लामो केबलकार निर्माण गरिरहेको छ। लकडाउन नभएको भए आगामी दसैंमा यो सञ्चालन हुन्थ्यो। अब कहिलेदेखि चल्छ भनेर लगानीकर्ता बताउन सक्दैनन्।

–पर्वतको कुश्मा बजारनजिकै कालीगण्डकी नदीमाथि पाँच सय २० मिटर लामो पुलमा दुई सय २८ मिटर अग्लो बन्जी बनाइएको छ। द क्लिफ नेपाल प्रालिले कालीगण्डकीमाथि आकर्षक सिंगल स्पान झोलुगे पुलसहित बन्जी, स्विङ, स्काई साइक्लिङका पूर्वाधार तयार पारेको छ। साहसिक गतिविधि गर्न मिल्ने यी पूर्वाधार बनाउँदा कम्पनीले करिब २५ करोड रुपैयाँ खर्च गरेको छ।

निर्माण सकेर गत वैशाख १ देखि नै व्यावसायिक सञ्चालनको तयारी हुँदै गर्दा यो लकडाउनको चपेटामा प¥यो। अब कहिले सञ्चालन हुन्छ, यकिन छैन।  

–साहसिक पर्यटकलाई लक्ष्य गर्दै पोखराको रातोपहिरोमा पनि बन्जी जम्पको पूर्वाधार तयार पारियो। यो पनि गत वैशाख १ देखि सञ्चालन गर्ने लगानीकर्ताको लक्ष्य थियो। त्यही अनुसार निर्माण पनि पूरा भएको थियो। तर लकडाउनले दिएन।  

पोखरा र आसपास क्षेत्रमा ठूलो लगानीमा बनेका यी केही पर्यटकीय पूर्वाधार हुन्, जो कोरोनाको चपेटामा पर्दा अन्योलग्रस्त अवस्थामा छन्। लामो समय लगाएर पूर्वाधार बनाएका लगानीकर्ता व्यावसायिक सञ्चालनको तयारीमा जुट्दै गर्दा कोरोनाको मारमा परे। काम सकिएका पूर्वाधारले व्यावसाय सुरु गर्न सकेका छैनन् भने सकिने तरखरमा रहेका त्यत्तिकै रोकिए।  

केबुलकार कम्पनीका निर्देशक तीर्थ त्रिपाठी लकडाउनका कारण लठ्ठा तान्ने, डिब्बा जडान गर्ने, मेसिन चलाउने लगायत काम रोकिएको बताउँछन्। ‘लकडाउन नभएको भए आगामी दसैंसम्म केबुलकार सञ्चालन गर्ने तयारी थियो। अब त्यो सम्भावना छैन,’ त्रिपाठीले भने, ‘कहिलेदेखि हुन्छ भन्न पनि सकिन्न, किनभने रोकिएको काम सक्न जापानी प्राविधिक आउनुपर्छ। उनीहरु तत्काल आउने अवस्था छैन।’  

त्रिपाठीका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान खुलेपछि मात्र जापानी कम्पनी निप्पोन केबुलका प्राविधिक नेपाल आउन सक्छन्। नेपालले उडान खोले पनि जापानले आफ्ना नागरिकलाई बाहिर निस्कन अनुमति नदिए प्राविधिक ल्याउन अर्को समस्या थपिन्छ। उनीहरु नआएसम्म काम अघि बढ्न नसक्ने उनले बताए।

प्राविधिकलाई सबै काम सक्न दुई महिना लाग्छ। ‘काम सकिएपछि दुई महिनासम्म परीक्षण गर्र्नुपर्छ,’ उनले भने, ‘९२ प्रतिशत काम सकिएको परियोजना कहिले पूरा हुन्छ र व्यावसायिक रुप लिन्छ भन्न सकिन्न। लकडाउन नभएको भए अहिलेसम्म काम सकिन्थ्यो। दसैंमा त हामीले व्यावसायिक रुप दिइसक्थ्यौं।

कोरोनाका कारण ठूलो लगानीको भविष्य नै अन्योलग्रस्त हुँदै गएको उनले बताए। ‘अब त झनै अनिश्चित हुँदै गएको छ। यो नेपालको मात्र नभई विश्वभरकै समस्या हो,’ उनले भने, ‘वर्षाैं लगाएर ठूलो लगानी गरेका लगानीकर्ता व्यवसाय सुरु गर्ने बेला मारमा परेका छन्। यो अप्ठेरोबाट उठ्न समय लाग्नेछ।’  

अन्नपूर्ण केबुलकारको परामर्शदाता रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल कोरोनाले केबुलकार अन्योलग्रस्त गएको बताउँछन्। ‘लामो समय र ठूलो लगानी गरेको व्यवसाय सुरु हुने बेला कोरोनाको मारमा परेको छ,’ उनले भने। ढकालका अनुसार केबुलकारको तल्लो र माथिल्लो स्टेसन र दुवै ठाउँमा रेस्टुरेन्ट, पोल गाड्नेदेखिका पूर्वाधार बनिसकेका छन्। २१ वटा डिब्बाबाट यसले दैनिक १० हजार यात्रु ओसार्न सक्छ।  

पर्वतको कुश्मास्थित कालीगण्डकीमा पुलसहित बन्जी, स्विङ र स्काई साइक्लिङका पूर्वाधार बनाएको द क्लिफ नेपालका राजु कार्की पनि गत वैशाख १ गतेदेखि व्यावसायिक सञ्चालनको तयारीमा जुट्दै गर्दा कोरोनाको मारमा परेको बताउँछन्। ‘वैशाख १ देखि व्यावसायिक सञ्चालन गर्ने भनेर परीक्षण पनि गरिसकेका थियौं,’ कार्कीले भने, ‘महँगो रकम खर्चने विदेशी र पर्याप्त आन्तरिक पाहुना नआएसम्म सञ्चालन गरे पनि अर्थ छैन।’  

निकै चुनौतीका साथ निर्माण गरेको पूर्वाधारबाट कमाइ खाने बेला थन्किनुपर्दा आर्थिक रुपमा भार थपिएको उनले बताए। ‘व्यावसायिक रुपमा आम्दानी नभए पनि पोखरा क्षेत्रका पाहुना घुमघाममा आउन सक्छन् भनेर हामीले पुल सञ्चालनमा ल्यायौं। बन्जीलगायत साहसिक गतिविधिका पूर्वाधार तत्काल चल्ने अवस्था रहेन।’ नमुना पूर्वाधार बनाए पनि आम्दानीको मुखैमा मारमा परेको उनले सुनाए।  

वैशाख १ देखि सञ्चालन तयारी भएको पोखराको बन्जीको पनि हालत उस्तै छ। भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खुलेपछि तेस्रो साताबाट सञ्चालन गर्न सकिने अवस्था रहे पनि अन्योल कायमै रहेको बन्जी नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले बताए।  

‘हामीले वैशाख १ गतेदेखि नै सञ्चालन तयारी गरेका थियौं, लकडाउनले धकेलियो,’ उनले भने, ‘अब अन्तर्राष्ट्रिय उडान खुल्ने दिनको प्रतीक्षामा छौं। भदौ १ गते अन्तर्राष्ट्रिय उडान खुल्ने भएकाले तेस्रो साता सञ्चालनको लक्ष्य राखेको उनले बताए। त्यो बेलासम्म केही विदेशी आउन सक्छन्। हाम्रो बन्जीले तिनै साहसिक पर्यटक पर्खिरहेको छ।’

डेढ वर्षअघि बन्जी बनाउन थालिएको थियो। सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेकाले साहसिक पर्यटक भित्रिने आसमा बन्जी निर्माण गरेको भट्टराईले बताए।

प्रकाशित: २६ श्रावण २०७७ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App