धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको छ । ढुंगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय उक्त कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘जथाभावी नदी उत्खननले त्रिशुली नदीलाई नै कुरूप बनाएको छ, वर्षायाममा नदीमा बाढी आएर धेरै मजदुरको मृत्यु समेत भएको छ,’ उनले भने, ‘त्यसैले त्रिशुली नदीलगायत जिल्लामा रहेका सबै खोलाबाट नदी र खोलाजन्य वस्तुको उत्खननमा रोक लगाएका छौं ।’
पछिल्लो समय त्रिशुुली नदीमा रातारात अवैध उत्खनन बढेको छ । प्रशासनको आँखा छलेर त्रिशुली नदीको बेल्खु, जिन्टे, घाटवेशी, दारेगौडा, पन्युघट्ट, मलेखु, थोपललगायतका ठाउँमा रातारात उत्खनन र स्रोतहरूको ओसारपसार भइरहेको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी हुने गरेको स्थानीयको भनाइ छ । नदिजन्य बस्तुको उत्खनन र निकासी स्थानीय प्रशासनले रोक लगाएको भनेपनि अवैध रूपमा अहिले पनि उत्खननको काम भइरहेको स्थानीय बताउँछन् ।
लकडाउनका समयमा समेत नदिबाट दर्जनौं मेशिनले लाखौं मुल्य बराबरको बालुवा, ढुंगा र गिट्टी दैनिक सयौं टिप्पमा उत्खनन तथा ओसारपसार गर्ने गरेका थिए । बर्खाको समयमा त्रिशुली नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसको भिड लाग्ने गर्छ । बाढीका कारण वर्षेनी नदीले बगाएर मजदुरको ज्यान समेत जाने गरेको छ । मजदुरको सुरक्षाका साथै नदीजन्य वस्तुको अवैध उत्खनन रोक्नका लागि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को निर्णय नभएसम्म बन्द गरेको प्रजिअ तामाङले बताए ।
गतवर्षसम्म त्रिशुली नदीमा मेशिन प्रयोग गर्न नपाइने भए पनि यो वर्षदेखि भने मान्छेले समेत नदीजन्य वस्तुको उत्खनन गर्न नपाइने प्रशासनले बताएको छ । कसैले स्थानीय प्रशासनको आदेश उलंघन गरेर नदी तथा खोलाबाट नदीजन्य सामग्रीको निकासी गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ तामाङले बताए ।
प्रकाशित: २१ श्रावण २०७७ ०२:२८ बुधबार