१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एक वर्षमा २० हजार पर्यटक भित्रिए

लाङटाङ जान लागेका स्वदेशी पर्यटक । तस्बिर : हिमनाथ

आर्थिक वर्ष २०७६/७७ मा २० हजार भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउनदेखि असार मसान्तसम्ममा २० हजार १ सय ५९ पर्यटक आएका हुन् ।

आएका मध्ये १७ हजार ४ सय ४५ ले निकुञ्ज कार्यालयबाट र २ हजार ७ सय १४ ले भृकुटीमण्डप टिकट काउन्टरमा नै प्रवेश शुल्क बुझाएर आएका कार्यालयले जनाएको छ । जसमा ९ हजार २ सय ३ नेपाली, ८ हजार १ सय ३८ विदेशी र सार्क राष्ट्रका १ सय ४ पर्यटक छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुस महिनादेखि नै पर्यटक आउने क्रम घटेको थियो । कोरोनाको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि पर्यटक आउने क्रम शुन्यमा झर्‍यो ।  

पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक आउने क्रम बढ्दै गएको थियो । यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले खर्च पनि बढी गर्ने गरेका छन् । पर्यटक आउने मुख्य सिजनमा नै लकडाउन भएपछि यहाँका होेटल व्यवसाय मर्कामा परेका हुन् । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष ७ हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन् ।  

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।  

आगामी दिनमा नेपाली पर्यटक बढी संख्यामा भित्र्याउने, धार्मिक मेला (गोसाइँकुण्ड मेला) व्यवस्थित गरेर सञ्चालन गर्ने र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरू ल्याउन आवश्यक रहेको संघका अध्यक्ष निशान गजुरेलले बताए ।  

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन् ।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ ।

प्रकाशित: १६ श्रावण २०७७ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App