१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

शिक्षण पेशा छाडेर टि–टुरिजम अभियानमा रमेशचन्द्र

रमेशचन्द्र राईले बुईपाका लगाएको चियाको नर्सरी । तस्बिर सौजन्य : मिलन राई

एकेडेमिक सर्टिफिकेटलाई हेर्ने हो भने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका रमेशचन्द्र राई कुनै शैक्षिक संस्थामा विद्यार्थीलाई पढाइरहेको हुनुपर्ने हो । तर समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर उत्तिर्ण रमेशचन्द्र हाल टि–टुरिजम (चिया पर्यटन) अभियानमा जुटेका छन् । करिब १५ वर्षे शिक्षण पेशालाई छाडेर राई गाउँकै खाली जग्गा र नांगो पाखामा चिया खेती विस्तारमा लागेका हुन् ।

बुईपाको मैचुङ र स्वास्थ्यचौकी बुईपाभन्दा माथिका खाली जमिनमा चिया बगान बनाउने र कन्यामलाई झैं पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ चिया खेती विस्तारको योजना अघि बढाएको राईले बताए । चिया खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर राईले ईलामबाट बेर्ना ल्याएर २०७६ साल भदौ–असोजदेखि चियाको नर्सरी लगाएका छन् । बाँसको टाँटीले बारेर राखिएको नर्सरीमा एक लाखभन्दा बढि चियाको बोट रोप्नका लागि तयार हुँदैछ । यस वर्षपनि कम्तीमा एक लाख बोट नर्सरी लगाउने तयारी गरिएको राईले बताए ।  

सामान्यतः दुई वर्ष पुगेपछि चियाको बिरुवा खाली जग्गामा सारेर रोप्नका लागि योग्य हुन्छ । ईलामको भुगोल र हावापानीसँग मिल्दोजुल्दो खोटाङमा चिया खेतीको प्रचुर सम्भावना छ । तर हालसम्म व्यवसायीक रुपमा चियाको खेती हुन सकेको छैन । यसै विषयलाई ध्यान दिएर राईले लामो अध्ययन पछि व्यक्तीगत लगानीमा चिया खेती सुरु गरेका हुन् । उनले एक हजार रोपनी जग्गामा चिया खेती लगाउने तयारी गरेका छन् ।  

‘हाम्रो ठाउँमा टि–टुरिजमको राम्रो सम्भावना छ । लामो अध्ययन र अनुसन्धानपछि नै यसमा हात हालेको हुँ,’ राईले भने, ‘चिया खेतीका लागि आफ्नै जग्गा छ । अपुग जग्गा जुटाएर चिया खेती लगाउने तयारी गरिरहेको छु । गाईवस्तु चरणका रुपमा प्रयोग हुँदै आएको नांगो पाखालाई चिया बगान बनाएर राम्रो आयआर्जनको माध्यम बनाउने योजनाका साथ काम थालिएको हो ।’ 

टि–टुरिजमका अभियान्ता बुईपाका रमेशचन्द्र राई ।

कृषिमै सम्भावना खोज गरिरहेका रमेशचन्द्रले २०५६ सालदेखि २०६१ सालसम्म जालपा मावि नुनथलामा शिक्षण गरे । चिया खेती गर्ने सोच पालेका राई जागीर छाडेर २०६१ सालमा चिया खेती बारे अध्ययन गर्न साथीभाईसँग साईकलमै ईलाम पुगे । उनको ईलाम पुग्नुको लक्ष्य थियो, चिया खेती बारे अध्ययन गर्ने र फर्केर आएपछि गाउँमा आफैं चिया खेती सुरु गर्ने, अरुलाई पनि चिया खेतीमा प्रोत्साहित गर्ने । केही समय ईलाम बसेपछि घर फर्किएका राईले पुन २०६५ सालदेखि २०७१ सालसम्म जालपा माविमै शिक्षण गरे । 

जालपा मावि छाडेर २०७५ सालदेखि महुरेगढी प्राविधिक शिक्षालयमा एक वर्ष काम गरेपछि उनले चियाको नर्सरी लगाएका हुन् । जग्गा खनजोत गर्न र बाँसको टाँटीले बार लगाएर नर्सरी लगाउनेक्रममै साँढे चार लाख खर्च भएको राईले बताए । हालसम्म राईले ११ लाख चिया खेतीमा खर्चिएका छन् । सुहाउदो हावापानी भएकाले बुईपाकै माथिल्लो क्षेत्रमा बिशिष्ट गुणस्तरको चिया उत्पादन गरेर निर्यात गर्न सकिने सम्भावना रहेको राईको दाबी छ ।  

गाउँमा चिया खेती लगाउने र डाँडाकाँडा हराभरा बनाउने सपना रमेशचन्द्रको २०५४/०५५ सालदेखिकै हो । चिया खेतीका विषयमा अध्ययन गर्न २०५७/२०५८ सालदेखि नै ईलाम पुग्न थालेका राईले २०६३ सालमा काजीमान कागते (हाल प्रदेशसभा सांसद)लाई भेटेपछि चिया खेतीबारे जान्न/बुझ्न सहज भयो । काजीमानसँग चिनजान भएपछि चिया खेतीबारे अध्ययन गर्न सहयोग मिलेको राईले बताए ।

प्रकाशित: १४ श्रावण २०७७ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App