१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लकडाउनमा अनुपस्थित कामदारलाई आधा तलब

लकडाउनमा अवधिमा काममा उपस्थित हुन नसकेका कामदारले पनि कार्यरत उद्योग–प्रतिष्ठानबाट आधा तलब पाउने भएका छन्।  

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आवद्ध ट्रेड युनियनहरुबीच मंगलबार महासंघमा यस्तो सहमति भएको छ।  

रोजगारदाता र ट्रेड युनियनबीच श्रमिकलाई लकडाउन अवधिको पारिश्रमिक भुक्तानी लगायत विषयमा भएको सहमति नेपाल सरकारसमक्ष सिफारिस गर्ने सहमति भएको एफएनसिसिआईले जनाएको छ। महासंघको समन्वयमा लामो समयदेखि जारी औपचारिक एवं अनौपचारिक छलफलबाट रोजगारदाता र ट्रेड युनियन महासंघहरूबीच मंगलबार सहमति भएको हो।  

एफएनसिसिआई अनुसार कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण उद्योग–व्यवसाय बन्द रहेको बेलाको पारिश्रमिक दिन कठिनाइ भएकोले भन्दै रोजगारदाताले सो अवधिमा आधा मात्र पारिश्रमिक दिने प्रस्ताव सरकारसमक्ष पेस गरेका थिए।  

एफएनसिसिआईको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाका तर्फबाट यसमा निरन्तर पहल भएको थियो। गत वैशाख २ गते सम्पन्न रोजगारदाताहरूको छाता संस्थाको उच्चस्तरीय भेलाले लकडाउन अवधिको पारिश्रमिक लगायत विषयमा सुझाव पेस गर्न ढकाललाई जिम्मेवारी दिएको थियो। पारिश्रमिक लगायत कोभिड १९ को संक्रमणबाट उत्पन्न समस्या समाधानका लागि सुझाव शिफारिस गर्न श्रम मन्त्रालयको पहलमा गएको वैशाख २८ गते त्रिपक्षीय कार्यदल समेत गठन भएको थियो।  

सोही पृष्ठभूमिमा रोजगारदाता र ट्रेड युनियन महासंघबीचको निरन्तर गृहकार्यपछि यो सहमति भएको एफएनसिसिआईले जनाएको छ।  

सहमति अनुसार उद्योग प्रतिष्ठानहरुले २०७६ चैत महिनाको पारिश्रमिक पूरै दिने, श्रमिकको पारिश्रमिकबारे नेपाल सरकारले निर्णय गरिसकेकोले २०७७ वैशाखको लागि ५० प्रतिशत भुक्तानी गरी फरफारक गर्ने र जेठको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमति भएको छ।  

प्रकाशित: १४ श्रावण २०७७ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App