२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

चार महिनापछि अन्तुका होमस्टे खुल्दै

इलामको अन्तुमा होमस्टे सञ्चालन गरिएको घर। तस्बिर: भीम/नागरिक

जिल्लाका होमस्टे चार महिनाको लकडाउनपछि खुल्ने भएका छन्। इलाम घुम्न आउने पाहुनाले आउँदो १५ गतेदेखि होमस्टेमा पुनः सेवा पाउने भएका हुन्। होमस्टे एसोसिएसन नेपालले सम्पूर्ण सामुदायिक तथा निजीस्तरका होमस्टे सञ्चालनमा ल्याउन आग्रह गरेपछि व्यवसायीले सेवा पाहुनालाई सेवा दिने बाटो खुलेको हो।  

एसोसिएसनले सरकारले तोकेको सुरक्षाका उपाय अपनाएर भीडभाड नहुनेगरी व्यवसाय सञ्चालन गर्न व्यवसायीको ध्यानाकर्षण गरेको छ। स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समेत समन्वय गरी होमस्टे सञ्चालनमा ल्याउन व्यवसायीले तयारी गरिरहेका छन्।  

जिल्लामै सबैभन्दा बढी संख्याका होमस्टे रहेको अन्तु–समालबुङ क्षेत्रका होमस्टे पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अन्तुडाँडा होमस्टेका अध्यक्ष धनकुमार आलेले आउँदो १४ गते वडाध्यक्ष र सरोकारवालाबीचको बैठक बसेर होमस्टे सञ्चालनबारे छलफल गर्न लागिएको बताए।  

‘होमस्टेहरू खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको छ,’ उनले भने, ‘तर, नजिकैका होटलहरू खुल्न थालिसकेका छन्, होमस्टे पनि उच्च सतर्कता अपनाएर सञ्चालनमा आउँछन्।’ उनले कोरोनाको जोखिम नहुनेगरी सुरक्षित रहेरमात्र होमस्टे खुलाउने बताए।  

अन्तु होटल÷कटेज व्यवसायी संघका सचिव रुद्र घिमिरेले स्थानीय होटलमा फाट्टफुट्ट पाहुना आउन थालेको बताए। ‘होमस्टेमा पनि पाहुना आउन थालेका छन्,’ होमस्टे व्यवसायसमेत गरिरहेका उनले भने, ‘होमस्टेको क्षमताभन्दा आधामात्रै पाहुना राखेर र सुरक्षाका उपाय अपनाएरमात्र व्यवसाय सञ्चालन गरिन्छ।’  

सूर्याेदय, सूर्यास्त, चियाबारी र अन्तुपोखरीको सौन्दर्यले चर्चित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल÷कटेज छन्। अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन्। लकडाउन सुरु हुने बेलामात्रै पनि यो क्षेत्रमा २० होमस्टे र दर्जनभन्दा बढी नयाँ होटल थपिएका थिए। ‘एउटै होमस्टेमा तयार गर्न कम्तीमा १० लाख रुपैयाँ लाग्छ,’ अध्यक्ष आलेले भने, ‘४०–४५ लाख रुपैयाँसम्म लगानी गरिएका नयाँ होटल पनि लकडाउनका कारण घाटामा गएका छन्।’

यो क्षेत्रको एउटै होमस्टेमा पर्यटकीय सिजनमा महिनामै ६० देखि साढे तीन हजार जनासम्म पर्यटक आउने गरेका छन्। होमस्टे व्यवसायीले महिनामा ६० हजारदेखि एक लाख रुपैयाँसम्म कमाउने गरेको व्यवसायीको भनाइ छ। ‘अन्तुडाँडाको चर्चाले यहाँ बर्सेनि हजारौं पाहुना घुम्न आउँछन्,’ व्यवसायी घिमिरेले भने, ‘यो पटक मुख्य सिजनमै लकडाउन भएपछि व्यवसायी निरास बनेका थिए।’ असोजदेखि वैशाखसम्म अन्तुडाँडाबाट सूर्याेदय, सूर्यास्त हेर्ने मुख्य सिजन हो। तर, हरियाली चियाबारी, अन्तुपोखरी, विभिन्न हिमशृंखलाको दृश्यावलोकन र लोपोन्मुख लेप्चा जातिको संस्कृति अध्ययन÷अवलोकनका लागि बाह«ैमास यो क्षेत्रमा पर्यटकको घुइँचो लाग्छ।  

अन्तु क्षेत्र कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अन्य बालीनालीले पनि सिँगारिएको छ। यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं देखिन्छन्। विशेषगरी गर्मी मौसममा झापा, मोरङ, सुनसरी, सप्तरीमात्र होइन, भारतको सिलिगुडी, मिरिक, दार्जिलिङलगायत धेरै ठाउँबाट पर्यटक आउँछन्। भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, दुई–चार रात बिताउँछन् र जान्छन्। तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक ‘एयर कन्डिसन’मा रमाउन आउनेको घुइँचो नै लाग्छ। कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउँछन्। इलामकै बालनगाउँ, चोयाटार, सिद्धिथुम्का, माइपोखरी, सन्दकपुरलगायत पर्यटकीय क्षेत्रमा पनि होमस्टे सञ्चालनमा छन्। 

प्रकाशित: १४ श्रावण २०७७ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App