१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लकडाउनको मारमा परेका ऋणीलाई ४८ लाख रुपैयाँ ब्याज छुट

संस्थाका शेयर सदस्यलाई दिइएको विभिन्न सेवा सुविधाबारे जानकारी गराउँदै संस्थाका पदाधिकारीहरु । तस्बिर : टंक/नागरिक

सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी स्थित साना किसान कृषि सहकारी संस्थाले लकडाउनको मारमा परेका ऋणीहरुलाई ब्याजमा ४७ लाख ९५ हजार ८३९ रुपैयाँ छुट दिएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर संस्थाले कोरोना भाइरसको संक्रमणविरुद्ध गरिएका कार्य एवं लकडाउनका कारण मारमा परेका शेयर सदस्यलाई दिइएको सेवा सुविधाबारे जानकारी गराएको हो । 

संस्थाका संञ्चालक सदस्य भुपेन्द्र मान श्रेष्ठका अनुसार ऋणीहरुलाई ब्याजको २५ प्रतिशतसम्म छुट गरिएको छ । चैतमा २५ तथा बैशाख, जेठ र असारमा ब्याजको १८ प्रतिशत छुट दिइएको श्रेष्ठले बताए । ‘कोरोना भाइरस संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले गरेको लकडाउनका कारण मारमा परेका ऋणीहरुलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले संस्थाले सकेजति ब्याजमा छुट दिएको छ’, श्रेष्ठले भने, ‘संस्थाले पहिला पनि नियमित ब्याज बुझाउनेलाई ब्याजको ५ प्रतिशत छुट दिँदै आएको थियो, ऋणको ब्याजमा छुट दिइएपनि निक्षेपमा भने ब्याज घटाइएको छैन ।’

संस्थाकी अध्यक्ष कमलकुमारी पोखरेलले लकडाउनको अवधीमा एक हजार ५०० बोरा युरिया सरकारी मूल्यमै किसानलाई उपलब्ध गराइएको जानकारी दिइन् । पोखरेलका अनुसार लकडाउनका कारण बजारमा किन्दा किसानले १ हजार ८ सय रुपैयाँसम्म तिर्न बाध्य भएपनि संस्थाले आफ्ना शेयर सदस्यलाई प्रतिबोरा ९ सय उपलब्ध गराएको थियो ।

त्यस्तै लकडाउनका कारण व्यापारीहरु नआएकाले किसानको बिक्री हुन नसकेको मकै पनि संस्थाले खरिद गरेर गोदाममा राखेको अध्यक्ष पोखरेलले जानकारी दिइन् । ‘व्यापारीहरु कम आएपछि किसानले मकैको उचित भाउ नै पाउने अवस्था रहेन’, अध्यक्ष पोखरेलले भनिन्, ‘त्यसैले गोदाममा अटेजति अर्थात ३२१ मेट्रिक टन मकै खरिद गरेर किसानलाई पैसा दिइसकिएको छ ।’

संस्थाका प्रबन्धक माधवप्रसाद काफ्लेका अनुसार २०६३ सालमा स्थापित संस्थामा हाल २ हजार २२७ महिला तथा ७५५ पुरुष गरी २ हजार ९८२ जना शेयर सदस्य रहेका छन् । गत आर्थिक वर्षमा ४९ करोड ६५ लाख २२ हजार ४१० रुपैयाँको कारोबार गर्दै ९८ लाख ३३ हजार ९४४ रुपैयाँ नाफा कमाएको काफ्लेले बताए ।

प्रकाशित: १३ श्रावण २०७७ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App