१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामी परियोजनामा राजनीतिक विवाद, परियोजना अलपत्र

गुल्मीमा सुरक्षित आप्रवसान (सामी) परियोजना राजनीतिक खिचातानीका कारण विवादमा परेको छ । गतवर्षदेखि सुरु हुनुपर्ने परियोजना विवादकै कारण १ वर्षसम्म सुरु हुन सकेको छैन । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालित परियोजना गुल्मीमा २ नगरपालिका र २ गाउँपालिका गरि ४ वटा स्थानीय तहमा सञ्चालन गर्न लागिएको हो । विवादकै बिच एक वर्ष ढिलोगरी आइतबार कर्मचारी छनौट गर्न थालेपछि नेपाली कांग्रेसले परियोजनालाई राजनीतिक भर्तिकेन्द्र बनाइएको आरोप लगाउँदै आइतबार दिनभर परियोजनाको सचिवालय रहेको रेसुङ्गा नगरपालिकामा बिरोध प्रदर्शन गरेको थियो ।  

कांग्रेस गुल्मीका उपसभापति विष्णु बलालको नेतृत्वमा कांग्रेस कार्यकर्ताले केहीबेर नगरकार्यपालिका कार्यालयमा तालाबन्दी गर्दै दिनभर कार्यालय घेराउ गरेका थिए । सुरक्षाकर्मीले ताला खोल्न जाने क्रममा आन्दोनकारी र सुरक्षाकर्मी बिच सामान्य झडप समेत भएको थियो । प्रदर्शनका कारण परीक्षा दिनका लागि नगरपालिकामा प्रवेश गरेका कतिपय परीक्षार्थीहरु दिनभर परीक्षाको पर्खाइमा बस्न बाध्य भएका थिए भने केही परीक्षार्थी, स्थानीय तहका प्रतिनिधि र कर्मचारीहरु परीक्षा हल भित्र प्रवेश गर्न पाएनन् ।

आईतबार दिनभरको प्रदर्शनका कारण परीक्षा सञ्चालन गर्न असहज वातावरण बनेपछि अन्त्यमा नगरपालिकाले असहज परिस्थितीको कारण आईतबार बिहान ११ बजेदेखि सञ्चालन गर्न लागेको लिखित परीक्षा अर्को सूचना नहुँदासम्मका लागि सूचना टाँसेर स्थगित गरेको जनाएको छ ।

परियोजनाका लागि संस्था छनौट तथा कर्मचारी आवेदन आह्वान लगायतका विषयमा कार्यक्रम सञ्चालन हुने स्थानीय तहका कांग्रेस समर्थक जनप्रतिनिधिलाई समेत जानकारी नदिएको नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णु बलालले बताए । ‘विदेश जाने र आउनेलाई काउन्सिलिङ्ग गर्ने भनिएको परियोजनाको कार्यकर्ता भर्ति गर्ने बाहेक अरु उपलब्धि देखिएन,’ उनले भने,‘परियोजनालाई नीतिगत भ्रष्टाचार गर्ने अखडाको रुपमा खडा गर्न थालिएपछि यो परियोजना नै खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

तर रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले भने परियोजना विधिसम्मत तरिकाले नै सञ्चालन गर्न लागिएको बताए । ‘हामीले विधिसम्मत ढंगले कर्मचारी छनौट प्रकृया अगाडि बढाएका छाै‌, यसमा कुनै राजनीतिक पूर्वाग्रह छैन’ उनले भने, ‘कुनै कमजोरी छ भने कि प्रशासन या अदालतबाट आउनुपर्‍योे, नत्र कुनै पार्टीले गेटमा आएर नारावाजी र आन्दोलन गर्दैमा परियोजना रोकिँदैन ।’ कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा मात्र आरोप लगाएको उनको भनाई छ ।

गतवर्ष परियोजनाका लागि संस्था छनौट प्रकृयामा विवाद देखिएपछि स्थानीय तह आफैले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । उक्त परियोजना रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, इश्मा गाउँपालिका र छत्रकोट गाउँपालिकामा सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित: ११ श्रावण २०७७ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App