coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरलता बढेपछि राष्ट्र बैंकले खिच्यो २० अर्ब

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रूपैयाँ खिचेको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले खुला बजार कारोबार सञ्चालनका लागि रिपो रिभर्सअन्तर्गत २० अर्ब रूपैयाँ खिचिएको जानकारी दिए। राष्ट्र बैंकले एक साताका लागि त्यो रकम खिचेको हो।  

कोरोना महामारीको विस्तारसँगै सुरु गरिएको लकडाउनपछि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह हुन नसके पनि बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन हुने क्रम भने जारी छ।  

भट्टका अनुसार यतिखेर बैंक तथा वित्तीय संस्थाहरूमा एक खर्ब ९१ अर्ब रूपैयाँ तरलता छ। केन्द्रीय बैंकले सोही तरलताबाट २० अर्ब रूपैयाँ खिचेको हो। २० अर्ब रूपैयाँ रिपो रिभर्स गर्दा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ६८ अर्ब २० करोड रूपैयाँको प्रस्ताव गरेका थिए।  

बैैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि कर्जा प्रवाह गर्न खोजे पनि कर्जा लिनेहरू न्यून देखिएका छन्। यतिबेला कर्जा लिनेहरूले कोरोना भाइरसका कारण काम गर्न कठिन भएको गुनासो गर्दै आइरहेका छन्। त्यस्तै विगतमा कर्जा लिएका उद्यमी, व्यवसायीलले कर्जाको ब्याजदर घटाउनुपर्ने माग गरिरहेका छन्।  

राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिमा समेत पर्याप्त मात्रामा पुँजीको जोहो हुने गरी कार्यक्रम ल्याएको छ। ४२ अर्ब पुनर्कर्जा कोषको पाँच गुणासम्म पुनर्कर्जा सुविधा दिने मौद्रिक नीतिमा घोषणा गरिसकिएको छ। एकातिर बैंक तथा वित्तीय संस्थामा अधिक तरलता र अर्कोतर्फ केन्द्रीय बैंकको नीतिले गर्दा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउन थालिसकेका छन्।  

कतिपय बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज दर एकल बिन्दुमा झारिसकेका छन्। कर्जाको ब्याज दर घटाउँदै लिएका बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याज दर पनि घटाउँदै लगेका छन्।  

प्रवक्ता भट्ट कोरोना भाइरसको महामारी नियन्त्रणमा आउँदै गरेपछि कर्जाको माग पनि बढ्दै जाने अपेक्षा गर्छन्। ‘चालु आर्थिक वर्ष सरकारले नै दुई खर्ब २५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ,’ उनले भने, ‘त्यसले पनि तरलता घटाउन सहयोग गर्ला।’  

बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर घटाउँदै लिएकाले जलविद्युत् लगायत ठूला आयोजनाले विस्तारै कर्जा माग गर्ने बैंकरहरूको अपेक्षा छ। यतिखेर अधिकांश उद्यमी, व्यवसायीलाई चालु पुँजीको जरूरी भए पनि अप्ठेरो परिस्थितिका कारण कर्जा लिन डराइरहेको पाइन्छ।  

एकातिर मौद्रिक नीतिले उद्यमी, व्यवसायीलाई साथ दिइरहेको र अर्कोतर्फ कोरोना महामारीको त्रास पनि घट्दो क्रममा रहेकाले अबका केही दिनमै कर्जाको माग बढ्ने बैंकरहरूको अपेक्षा छ। अधिक तरलता भएपछि एक महिनाअघि पनि राष्ट्र बैंकले रिपो रिभर्समार्फत बजारबाट २० अर्ब रूपैयाँ खिचेको थियो। बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले बेलाबेला तरलता व्यवस्थापनका लागि पैसा खिच्ने गर्छ।

त्यस्तै बजारमा तरलता अभाव हुँदा पनि केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई रकम निकासा गर्ने गर्छ। आर्थिक वर्ष ०७६÷७७ मा बैंक तथा वित्तीय संस्थाहरूले ६ खर्ब नौ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए। जसमध्ये सोही वर्ष चार अर्ब पाँच खर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो।  

आर्थिक वर्ष ०७६÷७७ को अन्तिम महिना असार २६–३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए। यतिखेर बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको ३४ खर्ब ८७ अर्ब रूपैयाँ निक्षेपमध्ये २९ खर्ब तीन अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सिसिडी रेसियो परिवर्तन गरेकाले लगानीयोग्य पुँजी थप वृद्धि हुनेछ। यसअघिको ८०ः२० को सिसिडी रेसियोलाई परिवर्तन गरी केन्द्रीय बैंकले ८५ः१५ बनाएको छ। अबदेखि बैंकहरूले संकलन गरेको निक्षेपको ८५ प्रतिशतसम्म रकम लगानी गर्न सक्छन्। पाँच प्रतिशत सिसिडी रेसियो परिवर्तन हुँदा बैंकहरूले थप एक खर्ब ७० अर्ब रूपैयाँ हाराहारी लगानी गर्न पाउने बाटो खुलेको छ। 

प्रकाशित: ९ श्रावण २०७७ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App