८ वैशाख २०८१ शनिबार
अर्थ

जहाजका यात्रुलाई ‘फेस सिल्ड’

स्थलमार्ग अवरुद्ध भएपछि जहाज चार्टर

पोखरा विमानस्थलबाट बुधबार गरिएको यती एयरलाइन्सको उडान । कोरोना संक्रमणपछिको नयाँ प्रोटोकल अनुसार गरिएको यो पहिलो उडान हो । तस्बिरः नागरिक

सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन हटाउँदै भदौ एकदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने तयारी गर्दैछ । त्यही अनुसार जहाजमा यात्रु चढ्नेदेखि ओर्लनेसम्मको ‘प्रोटोकल’ लागू गरिएको छ । त्यही प्रोटोकल अनुसार मंगलबार पोखरा विमानस्थलमा जहाजमा यात्रु चढाउने र ओराल्नेसम्मको अभ्यास पनि गरिएको थियो ।

तर, बुधबार भने साच्चै नै प्रोटोकल पालना गराएर यहाँबाट आन्तरिक उडान गरिएको छ । पोखरा विमानस्थलबाट ‘अपरेशन गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ प्रोटोकल अनुसार गरिएको यो पहिलो उडान थियो । विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइका अनुसार सिंगापुर पुलिसका जागिरे नेपाली युवालाई लिन काठमाडौंबाट यती एयरलाइन्सको एटिआर–७२ विमान बुधबार बिहान पोखरा विमानस्थलमा अवतरण गरेको थियो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ती युवा सिंगापुर फर्किने गरि पोखरामा भेला भएका थिए ।

त्यही विमानमा नयाँ हेल्थ प्रोटोकल अनुसार युवाहरुलाई चढाएर काठमाडौं पठाइएको विमानस्थलप्रमुख गुरागाँइले बताए । ‘मंगलबार मात्र हामीले हवाई प्रोटोकलबारे प्रहरीलाई बोलाएर अभ्यास गराएका थियौ । तर, बुधबार साँच्चै प्रोटोकल पालना गरेरै उडान गर्‍यौ,’ उनले भने, ‘यो हाम्रा लागि पहिलो अवसर थियो ।’ नयाँ तरिकाबाट यात्रुलाई जहाजमा चढाउने अभ्यासले आफूहरुलाई अबका उडानमा सहज हुने उनले बताए ।

बुधबार ५२ जना युवालाई लिएर जहाज पोखराबाट काठमाडौंका लागि उडेको थियो । गुरागाँइका अनुसार जहाजमा ती युवाहरु चढ्नुअघि ज्वरो नाप्ने, सेनिटाइज गर्ने, फेस सिल्ड लगाउने, दूरी कायम गरेर जहाजमा चढाउने र सिटमा बस्न लगाइएको थियो । ‘हिजोको अभ्यास र आजको वास्तविक कामले हामीलाइ सहज भयो,’ उनले भने । संक्रमणका त्रासले गरिएको लकडाउनपछि पोखरा क्षेत्रमा रोकिएका विदेशीलाई उद्धार गर्न यसअघि केही चार्टर उडान गरिएको भएपनि नयाँ प्रोटोकल अनुसार उडान भएको यो नै पहिलो रहेको उनले बताए ।

यती एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार सिंगापुर फर्किन थालेका ती युवाहरु पहिरोका कारण स्थलमार्ग अवरुद्ध भएपछि जहाजमा फर्किएका थिए । ‘स्थलमार्ग अवरुद्ध हुँदा युवाहरु गाडीमा  जान पाएनन । गाडी खुल्ने दिन पर्खिदा ढिलाई हुने भएपछि उनीहरुलाई लिन काठमाडौंबाट जहाज आएको हो,’ यतीका ती अधिकारीले भने । उनले पनि हवाईजहाज उडानको नयाँ प्रोटोकल अनुसार युवाहरुलाई पठाउन पाएको बताए । ‘नयाँ प्रोटोकल पालना गरेर हामीले युवालाई जहाजमा पठाएका हौ,’ उनले भने, ‘आगामि दिनमा नियमित उडान हुँदा हामीलाई सहज हुनेछ ।’

युवाहरुले पनि स्थलमार्गबाट जान पहिरोले अवरोध गरेपछि जहाज चार्टर गरेर फर्केको बताएका छन् । ‘बिदामा घर फर्केका थियौ । तर, कोरोनाले गर्दा यतै रोकियौं । योपटक जाने अवसर मिल्यो,’ एकजना युवाले भने, ‘गाडीमा जाने भनेपनि पहिरोले बाटो अवरुद्ध गर्‍यो । त्यसपछि जहाज बोलाएर गएका हौ ।’

प्रकाशित: ७ श्रावण २०७७ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App