१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश १ एक नम्बरमै

आर्थिक वर्ष २०७६/७७ को प्रदेश सरकारको बजेट खर्च

आर्थिक वर्ष ०७६/७७ मा प्रदेश १ सरकारले करिब ७१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। प्रदेश सरकारले आव ०७६/७७ मा करिब ७१ प्रतिशत खर्च गर्न सफल भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।  

कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले आव ०७६/७७ मा प्रदेश सरकारले ७०.८३ प्रतिशत खर्च गर्न सफल भएको जानकारी दिए। प्रदेश सरकारले चालुतर्फ ६४.५६ प्रतिशत र पुँजीगततर्फ ७५.७९ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। चालुतर्फ १८ अर्ब ६२ करोड ६४ लाख विनियोजन गरेकामा १२ अर्ब दुुई करोड ४४ लाख रुपैयाँ खर्च भएको हो।  

यस्तै  पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख विनियोजन गरिएकामा १७ अर्ब ८६ करोड ६५ लाख खर्च भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी ८२.९९ प्रतिशत बजेट खर्च गरेको छ। यस्तै प्रदेश योजना आयोगले सबैभन्दा कम ३२.६७ प्रतिशत बजेट खर्च गरेको  छ। यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७८.५, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७६.३४, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४०.६४, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५२.२८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३८.६९ र सामाजिक विकास मन्त्रालयले ६१.७४ प्रतिशत बजेट खर्च गरेका छन्।

यस्तै प्रदेश व्यवस्थापिका सचिवालयले ६५.५९, प्रदेश लोक सेवा आयोगले ५९.६४ र मुख्य न्यायधिवक्ताको कार्यालयले ६३.६० प्रतिशत बजेट खर्च गरेको छ। समग्रमा प्रदेश सरकारको बजेट खर्च राम्रो देखिए पनि असारमा हतार हतार बजेट खर्च गर्ने प्रवृत्तिले  भ्रष्टाचार बढेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनाएको छ।  

काँग्रेस प्रमुख सचेत केदार कार्कीले आवको अन्त्यमा हतार हतार विकास गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको बताए। ‘आवको अन्त्यमा धेरै खर्च हुनु भनेको खर्च बढेको नभई भ्रष्टाचार बढेका हो,’ कार्कीको भने। गत आवको ११ महिनामा ४५ प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश सरकारले असार महिनामा २६ प्रतिशत बजेट खर्च गरेको छ। गत आवमा प्रदेश १ सरकारले ४२ अर्ब २० करोड चार लाख बजेट विनियोजन गरेको थियो।  

जिल्लागत रुपमा गत वर्ष पाँचथर जिल्लामा ९० प्रतिशत बजेट खर्च भएको छ। यस्तै सबैभन्दा कम मोरङ जिल्लाले ४९.९१ प्रतिशत बजेट खर्च गरेको छ। यस्तै ताप्लेजुङमा ७२.९७, इलाममा ७८.२८, शंखुवासभामा ७५.३३, तेह्रथुममा ८५.०६, धनकुटामा ७३.८०, भोजपुरमा ६६.५५, खोटाङमा ८४.२०, सोलुखुम्बुमा ७५.७५ प्रतिशत खर्च भएको छ। यस्तै ओखलढुंगामा ७०.२०, उदयपुरमा ७१.७३, झापामा ७८.६६ र सुनसरीमा ६९ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७७ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App