coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सलह किरा मार्नेलाई गाउँपालिकाको दुई सय पुरस्कार

जुम्लाको पातारासी गाउँपालिकाले सलह किरा मारेर ल्याउनेलाई पुरस्कृत गर्ने भएको छ । सलह मारेर गाउँपालिकाको कृषि शाखामा ल्याउने किसानलाई प्रतिकेजी दुई सय रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराउने निर्णय गरिएको हो । गाउँ कार्यपालिका बैठकले सलह नियन्त्रणका लागि किसानलाई सक्रिय हुन आग्रह गरिरहेको कृषि विकास शाखा संयोजक रुपक बुढा बताउँछन् ।

पछिल्लो दुई दिनमा करोडौँको क्षति गरेको उनी बताउँछन् । अहिले प्रत्येक वस्तीमा माइकिङ गरिरहेका छौँ,थाल बजाउने देखि धुलो, धुवाले सलह भगाउने काय गर्न भनिरहेका छौँ, कृषि शाखा प्रमुख बुढा भन्छन्,‘किसान सबै प्रकारका विधि अपनाइरहेका छन् । सलह भागिरहेका छैनन् । ’ सलह गुठिचौर गाउँपालिकाको ४ र ५, चन्दननाथको तलिउम र तलिचौमा देखिएको छ । सलह आएपछि किसान निकै चिन्तित छन् । यो अर्गानिक जिल्ला भएकोले रासायनिक विषादीको प्रयोग हुदैन् । छिमेकी जिल्ला डोल्पा,रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ देखि ७ का बस्तीहरूमा सलह किराको झुण्डहरू प्रवेश गरेको स्थानीयहरूले बताएका छन् । सलहले मकै, गहँु र आलु बारीमा क्षति पुर्याएको छ ।

जताततै सलह किराको बथान देखिन्छ । बालीनालीमा पनि धेरै क्षति पुगेको छ । घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् । सुरुसुरुमा छिट्फुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावत बताउँछन् । उनले भने, ‘लामो समय कोराना भाइरसको पिरोलीरह्यो । अहिले सलहले चिन्ता बढाइरहेकोछ । आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको छ ।’

सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन् । तैपनि सलह भाग्दैनन, अहिले किसान सलह धपाउँनै व्यस्त छन्। सलह किराको झुण्डहरू प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बुढथापा बताउँछन् ।

सलह भगाउने खास उपाय छैन् । थाल बजाउन र त्यति गर्दा पनि भाग्न नमानेको खण्डमा समातेर मार्न सुझाइएको छ । ठूलो आवाज निकाल्ने, धुलो धुँवा जस्ता विधिबाट सलहलाई तितरवितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, एसडि प्रयोग गर्ने, लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलह किराको नियन्त्रण गर्न सकिने भन्दै किसानलाई त्यो विधि अपनाउनको लागि निर्देशन गरिएको छ ।

बिहान साँझ सलह उड्न सकिरहेको छैन । छोप्ने र मार्ने भन्दा अरु कुनै विकल्प छैन । सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान आत्तिन थालेका छन् । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउन सक्ने विज्ञहरू बताउँछन् ।

प्रकाशित: २९ असार २०७७ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App