coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरेली पर्यटन व्यवसायी पनि साँचो बुझाउने तयारीमा

पोखराको फेवाताल र लेकसाइडका होटल। तस्बिर : उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन्। लामो समयदेखि नोक्सानी खेपेको र अझै कम्तिमा दुई वर्ष व्यवसाय चल्ने अवस्था नरहेकाले व्यवसाय टिकाउनु चुनौतीपूर्ण भएको उनीहरुले बताए।  

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका व्यवसायीले अहिले किस्ता र ब्याज तिर्नसमेत नसक्ने अवस्था आएकाले कर्जाको भुक्तानी तालिकालाई पुनतालिकीकरण गरिदिन सरकारसँग अनुरोध गरेका छन््। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामी दुईवर्षसम्म तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताए। ऋणको किस्ता र ब्याज तिर्नका लागि बैंक तथा वित्तीय संस्थाले ताकेता गरिरहँदा व्यवसायीमा तनाव सिर्जना भएको उनीहरुले बताए। यस्तै ताकेता जारी रहने हो भने व्यवसाय सधंैका लागि बन्द गर्न सक्ने पनि उनीहरुले बताएका छन्।  

‘बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र ब्याज तिर्न ताकेता गरिरहेका छन्। व्यवसायीलाई वित्तीय संस्थाले अनावश्यक तनाव दिइरहेका छन्,’ पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘व्यवसायीले निकै ‘टर्चर’ खेपेका छन्। यस्तै हो भने व्यवसायको चाँबी नै बुझाउँछौ।’ वित्तीय संस्थाले दिनहुँजसो व्यवसायीलाई फोन गरेर किस्ता तिर्न आउनु भन्दै दवाव दिँदा व्यवसायी आक्रान्त भएको उनले बताए।  

‘हामीले ऋणको किस्ता र ब्याज अहिले तिर्न सक्दैनौं। त्यसैले सरकारले अहिलेको अप्ठेरोलाई पुनर्तालिकीकरणमा थपिदिनुपर्छ,’ उनले भने, ‘अहिलेको अप्ठेरोबाट पार पाउन नदिने हो ने हामी तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउँछौ। तालाचाँबी बुझाउँदा हामी मात्र डुब्दैनौ, समग्र पर्यटन क्षेत्रसँगै बैंक तथा वित्तीय संस्था पनि डुब्नेछन्।’ व्यवसायी खाडलमा पर्नु भनेको वित्तीय संस्था पनि खाडलमा पर्ने भएकाले सकेसम्म त्यो अवस्था आउन नदिन सरकारले विशेष सम्बोधन गर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए।  

परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराईले दुई वर्षसम्म ब्याज र किस्ता तिर्न नसक्ने भएकाले त्यो समय पछिका लागि थपिदिन अनुरोध गरेको बताए। ‘सरकारले व्यवसायीलाई बचाउने योजना नै बनाएको छैन। दोहोरो अंकको ब्याजदर घटाएर एक अंकमा झार्ने भनिए पनि लागू हुन सकेन,’ भट्टराईले भने, ‘कर्जा पुनर्तालिकीकरण गरिदिन पनि सरकारले खासै चाँसो दिएको छैन।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज तिर्न व्यक्ति व्यक्तिलाई फोन गरिरहेका छन्। ‘यो बेला व्यवसायी नै बचाउने बेला हो। व्यवसायी नै बचाउन नसके कोही बाच्दैनन्। त्यसैले अहिले आउने फोनको तनाव बन्द गरिदिनुपर्छ,’ उनले भने, ‘यो बेला दिनहुँ तनाव खेप्नुपरेको छ। यस्तो अवस्था नआओस्।’

व्यवसायीले वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता र ब्याजलाई परिस्थिति सामान्य नहुँदासम्म पुनर्तालिकीकरण, पुँजीकरण तथा पुनर्कर्जाको माध्यमबाट सघाउन आग्रह गर्दै आएका थिए। त्यसबाहेक व्यवसायीले कोरोनाबाट प्रभावित व्यवसायका लागि छुट्याएको एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष र ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन कोषको उपयोग पूर्णरुपमा समानुपातिक र सरलीकृत हुनुपर्ने माग पनि राखेका छन्। पर्यटन क्षेत्रमध्ये पोखरामा ठूलो लगानी रहेकाले सो पुनर्कर्जा कोषमध्ये अधिकतम रकम गण्डकी प्रदेशमा पठाउन नीतिगत व्यवस्था गरिदिन पनि सरकारसँग अनुरोध गरेका छन्।  

पुनर्कर्जा कोषको सदुपयोग गर्ने अवसर विशेषगरी साना तथा मझौलास्तरका व्यवसायीलाई प्राथमिकतामा राख्नेगरी १० करोड रुपैयाँको थ्रेसहोल्ड सीमा राखेर सरल र सहज प्रक्रियामार्फत उपलब्ध गराइदिनुपर्ने व्यवसायीको माग रहेको छ। पर्यटन व्यवसायका लागि यो सुविधा न्यूनतम तीन वर्ष हुनुपर्ने उनले बताए। बैंक तथा वित्तीय संस्थाले मात्र पोखराको पर्यटन क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ लगानी गरेको व्यवसायीको भनाइ छ।  

त्यसैगरी गण्डकी प्रदेशबाट विनियोजित एक अर्ब रुपैयाँको व्यावसायिक जीवन रक्षा कोषको अधिकतम रकम कोरोनाबाट बढी प्रभावित पर्यटन व्यवसायलाई प्राथमिकतामा राख्न पनि व्यवसायीको माग रहेको छ। अध्यक्ष पोखरेलले अहिलेको अवस्थाबाट पार पाउनका लागि सरकारी सहयोगबिना सम्भव नभएको बताए। ‘सरकारले राष्ट्रबैंक हुँदै वित्तीय संस्थामार्फत हाम्रा माग पूरा हुनुपर्छ भन्ने हो। त्यसो हुन सकेन भने सबै व्यवसायी डुब्ने जोखिममा छन्,’ उनले भने, ‘व्यवसायी बचाउने वा नबचाउने भन्ने सरकारको हातमा छ।’

अर्का वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई अझै दुई वर्षसम्म पर्यटक आउने सम्भावना नभएको बताए। ‘हवाई र स्थलमार्ग सहज नहुन्जेल पर्यटक आगमन बढ्दैनन्,’ भट्टराईले भने, ‘त्यसैले सरकारले बेलैमा व्यवसायलाई राहत हुने गरी कार्यक्रम ल्याउनुपर्छ।’ कोरोना संक्रमणका कारण अरु क्षेत्रले चैतदेखि मार खेपे पनि पर्यटन क्षेत्रले माघदेखि नै मार खेप्न थालेको उनले बताए। 

प्रकाशित: २५ असार २०७७ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App